भर्खरै :

फोहोरमैला व्यवस्थापनमा भक्तपुर नपाले विद्यालयसँग सहकार्य गर्दै

भक्तपुर, भाद्र ७ गते ।  भक्तपुर नगरपालिका क्षेत्रमा सरसफाइ गतिविधिलाई प्रभावकारी एवं व्यवस्थित गर्ने हेतुले नगरपालिकामा रहेका विभिन्न सरकारी तथा निजी विद्यालय र कलेजका प्रधानाध्यापक र प्राचार्यहरूबीच बुधबार छलफल सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरको फोहरमैला व्यवस्थापनमा विद्यालय र कलेजको तर्फबाट महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नगर इतिहासकालदेखि  नै सफा, सभ्य, सुसंस्कृत रहेको उल्लेख गर्दै सरसफाइको लागि कुनै एनजीओ-आईएनजीओको मुख ताक्न नहुने प्रष्ट पार्नुभयो ।
साउन १ गतेदेखि हरेक १५ दिनमा नगरपालिकाका सबै जनप्रतिनिधिहरू, कर्मचारीहरू र स्थानीय जनताको सहकार्यमा नगरका विभिन्न ऐतिहासिक स्थलहरूमा सरसफाई तथा हरियाली क्षेत्र विस्तार कार्यक्रम गर्दै आएको चर्चा गर्दै प्रमुख प्रजापतिले नयाँ पुस्तालाई स्थानीय कला संस्कृति, इतिहास र राजनीतिबारे सचेत पार्न विद्यालयहरूमा स्थानीय पाठ्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले फोहरमैलालाई हेयको दृष्टिले हेर्नुभन्दा श्रोतको रूपमा हेर्नु जरूरी रहेको बताउनुभयो । उहाँले नगरपालिकाका हरेक गतिविधिमा भक्तपुरबासी जनताले साथ र सहयोग गर्दै आएको उल्लेख गर्दै जनताकै सहयोग र सक्रियतामा नगरको सरसफाइ कार्यलाई प्रभावकारी बनाउन सकिने स्पष्ट पार्नुभयो ।
वातावरण तथा पर्यटन समितिका संयोजक रवीन्द्र ज्याख्वले नगरमा दैनिक करिब ३० टन फोहर उत्पादन हुने र त्यसमध्ये ७० प्रतिशत जति जैविक फोहर भएको चर्चा गर्दै फोहर उत्पादन हुने स्रोतबाट नै कुहिने र नकुहिने फोहर छुट्याएर सड्ढलन गर्नसके प्रभावकारी हुने बताउनुभयो ।
उहाँले समुदायलाई परिचालन गरी सबै वडामा एकीकृत फोहर मैला व्यवस्थापन योजना अघि बढाउने विषयमा गृहकार्य भइरहेको बताउँदै हरेक स्कूल, कलेजले कम्तिमा एउटा ऐतिहासिक एवं सांस्कृतिक स्थलको नियमित सरसफाइ गर्ने अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो ।  कार्यक्रममा विभिन्न स्कूलका प्रअहरूले नगरको सफाइ गतिविधिलाई प्रभावकारी बनाउने विषयमा राय सुझावहरू दिनुभयो । उक्त कार्यक्रममा भनपा ५ वडाका अध्यक्ष प्रेमगोपाल कर्माचार्य र कार्यपालिका सदस्य सुनिता प्रजापति अवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *