भर्खरै :

मौनतामा मरेको प्रेम

मौनतामा मरेको प्रेम

साठी–सत्तरी वर्षपहिले रौतहट जिल्लाको सदरमुकामको गौर भन्सार कार्यालय एक चर्चित बजार अड्डा थियो । त्यहाँको नेपाल बैङ्क आधुनिक, सफा र चटक्क परेको कारण मानिसहरू खूब बखान गर्थे । बैङ्कका मेनेजर र अन्य कर्मचारीहरू नेवार थिए । यसकारण, स्थानीय मानिसहरू नेपाल बैङ्कलाई ‘नेवार बैङ्क’ पनि भन्ने गर्थे । त्यसबेलाका बैङ्कहरू आजको जस्तो बदनाम थिएन । त्यसबेला जिल्ला–जिल्लाका कार्यालयका केही हाकिमहरू काठमाडौँका बाहुनक्षेत्री र नेवारहरू हुन्थे ।
राणाकालमा पहाडी जिल्लाहरूमा अङ्ग्रेजी शिक्षा प्रचारमा थिएन । तराईका धनी–मानी र जमिनदार परिवारका युवा–विद्यार्थीहरू भारतको बनारस, पटना, लखनउ, अल्लाहवाद, कलकत्ता, दिल्ली र बम्बईसम्म गएर पढ्ने गर्थे । अध्ययनपछि पढेलेखेका युवाहरू पनि आ–आफ्नो परिवार, जमिनदारी र कामत हेर्ने गर्थे । विराटनगर, जनकपुर, वीरगञ्ज, भैरहवा र नेपालगञ्जजस्ता सीमा नगरमा सम्पन्न परिवारका पुस्तालाई पढाउन भारतीय सीमाबाट प्रधानअध्यापक र अध्यापकहरू विद्यालय चलाउँथे । हिन्दी भाषा र साहित्यसँगै अङ्ग्रेजी साहित्यमा शिक्षित ती युवाहरू धेरैजसो भारतमै पान चपाउँदै भारतीय झिलीमिलीमा रमाउँथे । एक–दुई प्रतिशत युवाहरू भारतीय तत्कालीन बेलायती उपनिवेशवादविरोधी राजनीतिका विविध विचारका अनुयायी बने ।
पहाड र तराईका बाहुन एवं क्षेत्रीहरू बनारसमा बढी संस्कृत पाठशाला र हिन्दू विश्वविद्यालयसम्म पुग्थे र नेवारहरू भने केही कलकत्ता, दार्जिलिङ र भारतका विहार तथा उत्तर प्रदेशका सहरहरूमा गई भारतकै पाठ्यक्रमबाट स्नातक र केही आचार्य बन्थे ।
त्यस्तो परिवेशमा नेपालका सीमाका कार्यालयका हाकिम र कर्मचारीहरूसमेत देश र विदेशको जानकारीको निम्ति भारतीय दैनिक र साप्ताहिक पत्रिकाहरू नै तिनीहरूका स्रोत थिए । गौरका बजार अड्डाका केही कर्मचारीहरू पनि भारतीय अखबारका पाठक थिए । काठमाडौँका प्रधानाङ्ग परिवारका सुब्बा वा हाकिम शिक्षित र भारतीय र नेपाली शासक राजनीतिका जानकार थिए भने वीरगञ्जको अमात्य परिवारका खरदार साहेब कार्यालयको जानकारीभन्दा देशविदेशको राजनीतिमा बढी चासो राख्थे । रवि श्रेष्ठ पदको हिसाबले बैदार भए पनि जानकारी, पहँुच र अध्ययनको कारण हाकिमदेखि तल्ला कर्मचारीहरूसँग उनको राम्रो सम्बन्ध थियो । उनी अत्यन्त मिलनसार थिए । तल्लै तहमा बसेर उनी आफूभन्दा माथिल्ला तहका हाकिमहरूको आशीर्वाद पाउने गर्थे ।
वैदार रवि श्रेष्ठकी श्रीमती श्रेष्ठको सम्पर्क पनि हाकिम प्रधानाङ्गको श्रीमती, खरिदार अमात्यकी धर्मपत्नी र अन्य कर्मचारीहरूका परिवारहरूसँग राम्रो मेल थियो । मिठो–चोखो वा काठमाडौँ आउने मन्दिरहरूका प्रसाद र कोसेलीप्रति उनी सबैकहाँ पठाउँथिन् ।
आफ्नो १२–१३ वर्षको छोरो गजेन्द्रलाई बोलाउँदै उनले अ¥हाइन् –“बाबू गजेन्द्र, यो सानो खानदानमा काठमाडौँबाट आएको मुलाको अचार र तरकारी हाकिम साहेबकहाँ पु¥याउनू र सानो खानदान माधुरीकी आमा खरदारनी ठूली आमालाई पु¥याउनू ।’
गजेन्द्रले हाकिम साहेबकहाँ ठूलो खानदान पु¥यायो र खरदारनी ठूली आमा र माधुरीलाई बोलाउन लाज लागेर कोठाको टेबुलमा राखेर आएको बतायो । “गजेन्द्र, तिमी कस्तो लाटा रहेछौ, ७–८ कक्षामा पढ्ने विद्यार्थी पनि ठूली आमा र माधुरीलाई बोलाउन लाज लाग्यो भनी कोसेली त्यसै राखेर आउने हो ?!”
गजेन्द्र केही नबोली चुप लागेर बस्यो । एकै छिनमा माधुरीको स्वर सुनियो, “बैदारनी आमा ! मेरी आमाले ताजा र मिठो तरकारी र मासु पठाउनुभएको भन्दै चुल्हो नजिकै राखिन् । “नमस्ते बैदारनी आमा म जान्छु ।” “पख, छोरी माधुरी ….” भन्न नपाउँदै माधुरी गइहालिन् । गजेन्द्र चुपचाप रह्यो ।
दुई–चार वर्षपछि कर्मचारीहरूको सरूवा र बढुवा भइरहने त्यसबेलाको प्रक्रिया थियो । गौर बजार अड्डाको एकै बाजी एकै दिनमा हाकिम प्रधानाङ्ग, खरिदार अमात्य र बैदार रवि श्रेष्ठको आ–आफ्नो जिल्लामा सरूवाको पत्र पुग्यो । दुई–तीन दिनभित्रै सुब्बा प्रधानाङ्गको परिवार रातारात– वैरगानियाँमा रेलवे स्टेसनसम्म पु¥याउन पुगे र परिवारका दुई–चार जना काम गर्नेहरू पनि रक्सौल हुँदै वीरगञ्जमा नातागोताकहाँ पसी भोलिपल्ट अमलेखगञ्जको रेलबाट सिमरा हवाईजहाजको निम्ति गए । ४–५ बजेको समयमा सिमराबाट काठमाडौँको निम्ति डाकोटा विमान उड्यो ।
गजेन्द्र, माधुरी र अरू केटाकेटी एउटा एउटा टाँगामा गौरबाट वैरगानियाँ स्टेसनसम्म पुगे । खरदार अमात्यकी जहान र बैदारनी, अन्य स–साना नानीहरू र सामान टायर गाडीमा थिए । दुवै परिवार वैरगानियाबाट सँगै रेलबाट रक्सौल पुगे तथा रक्सौलबाट वीरगञ्जको हिमालय होटलनेर ओर्ले र खरिदार अमात्यको घरमा भित्रिए ।
एकैछिनपछि सिमरा जाने रेल आइपुग्नै लाग्यो भन्ने खबर आएपछि दुवै परिवार आपसमा बिदा लिए, बैदार परिवार रेलभित्र पसे र खरिदार परिवारका सदस्यहरूले हात हल्लाउँदै बिदा दिए । रेलको सिटी बज्यो र छकछक गर्दै रेल बिस्तारै सिमरातिर हिँड्यो ।
गजेन्द्र एकतमासले अमात्य परिवारका सदस्यहरूलाई टाढैबाट हेर्दै थियो । उसले मनमनै गुन्दै थियो, “टाङ्गामा पनि माधुरीसँग बोलिन । तिनले पनि बोलिनन्, फेरि रेलमा पनि तिनले बोलिनन्, मैले कसरी बोल्ने ?” माधुरीको घरमा पनि तिनले बोल्नुपर्ने होइन र ? रेलमा बिदा लिँदा पनि खरदार बालाई र ठूली आमाले नमस्कार र ढोग गरे । तर माधुरीले मसँग बोलिनन् ।”
डाकोटा विमानबाट बैदार रवि श्रेष्ठको परिवार गौचर हवाई अड्डामा बिसाइयो । घर पुगेर सबैसँग भलाकुसारी भयो, तर राजेन्द्र माधुरीको डेरामा पठाइएको अचार र तरकारी आदान–प्रदानमा पनि आफूसँग नबोलेकोमा गजेन्द्र माधुरीकै विराम देख्यो । ती घटनाहरूले सिनेमाजस्तै बारम्बार सम्झने उसको दैनिकी बन्यो ।
गजेन्द्र ५–६ वर्षदेखि त्रिचन्द्र कलेजमा रसायनशास्त्रका प्राध्यापक
(लेक्चरर) को रूपमा अध्यापन गराउँदै थिए । उनी आफ्नो विषयका राम्रा प्राध्यापकको रूपमा चिनिए ।
गजेन्द्र कक्षाबाट बाहिर आउँदा बरन्डामा एक विद्यार्थीले नमस्ते गर्दै आफ्नो परिचय दियो, “गजेन्द्र सर, म गङ्गाधर अमात्य हुँ, मेरो घर वीरगञ्ज हो । हामी सानोमा गौरमा थियौँ । बुबा र सरको बुबा बजार अड्डामा काम गर्नुहुन्थ्यो, बिर्सनुभयो ?”
“ए बाबू ! मैले सम्झेँ । भाइ त सानै थियो होइन ? अनि खरदार ठूला बुबा र ठूली आमा सञ्चै हुनुहुन्छ ? घरमा बुबा–आमा र हामी सबैले उहाँहरूलाई सम्झिरहन्छौँ । हामी बरोबर भेटी रहौँ, है त । अब त हामी सँगै छौँ, होइन त ?” गजेन्द्रले गङ्गाधरको हात समात्यो ।
खुसीले गद्गद् भएर गङ्गाधरले भन्यो, “बुबा–मुमाहरू बैदार बुबा र आमाको पनि सधैँ कुरा गरिरहनुहुन्छ । दिदी माधुरीले पनि गजेन्द्र दाइ र आमा–बुबालाई सम्झिरहनुहुन्थ्यो ।”
गजेन्द्रले जिज्ञासा राख्यो, “माधुरीको के हाल छ ? तिनी के काम गर्छिन् …?”
गङ्गाधर – “दुई वर्षअगाडि नै दिदीको जनकपुरको एक नेवार परिवारमै विवाह भयो, अहिले एक वर्षकी सानी भान्जीसँगै वीरगञ्जमा आउनुभएको छ । भिनाजु एक व्यापारी हुनुहुन्छ ।”
“मैले पनि माधुरीलाई सम्झेको छ भनी बताइदिनु है भाइ ?”
“हस्, गजेन्द्र दाइ, बिदा !”
गङ्गाधर पर पुगेको थियो, गजेन्द्रले धेरै बेरसम्म घण्टाघरतिर गङ्गाधरलाई हेर्दै थियो ।
खाना खाएर गजेन्द्र कोठामा गयो, फेरि गौर, वैरगानियाँ, वीरगञ्जको बिदाइलाई सम्झिरह्यो । उसले मनमनै गुन्यो, कस्तो समाज, मैले माधुरीलाई अगुवाइ गरी केही भनेको भए पुरुष अहङ्कार र पुरुष प्राधिकार भन्थे । म मौन बस्दा माधुरीको अगुवाइ खोज्दा म लाछी भएँ । माधुरीकै विषयमा सोच्दै, तर्क–बितर्क गर्दै उसको रात छर्लङ्ग बित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *