भर्खरै :

“नेमकिपाको देशभक्ति र इमानदारिताबारे नेपाली जनता जानकार छन् ।”

काठमाडौँ, २९ असोज । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएका उम्मेदवार तथा कार्यकर्ताहरूको भेला शनिबार ललितपुरमा सम्पन्न भयो ।
भेलामा पार्टीका सचिव प्रेम सुवालले निर्वाचन क्रान्तिको सङ्केत दिने ब्यारोमिटरजस्तै भएको उल्लेख गर्दै निर्वाचनमा नेपाल मजदुर किसान पार्टीलाई धेरै मत प्राप्त भए पूर्ण परिवर्तनको सङ्केत हुने बताउनुभयो ।
पटकपटक सरकारमा गएर देशघाती काम गरेका शासक दलहरूको भिन्दाभिन्दै गठबन्धन भएको उल्लेख गर्दै सचिव सुवालले आचारसंहिता उल्लङ्घन गर्ने र सरकारमा गएर निर्वाचन घोषणापत्र कार्यान्वयन नगर्ने पार्टी र उम्मेदवारहरूको उम्मेदवारी खारेज हुने कानुनी व्यवस्था आवश्यक भएकोमा जोड दिनुभयो ।
“देशघाती एमसीसी सम्झौता र एसपीपी साझेदारी दुवै अमेरिकी साम्राज्यवादको नेतृत्वको सैन्य मोर्चा हो । एमसीसीबारे प्रधानन्त्री देउवाको सित्तैमा अर्बौँ रूपियाँ आउने भनाइ सत्य होइन । भ्रष्टाचार कमिसन रोकिएमा पाँच वर्षको लागि एमसीसीले आउने वर्षको ११ अर्ब रूपियाँ नेपाललाई आवश्यक हुनेछैन । एमसीसी साझेदारअनुसार नेपालको सैन्य ब्यारेक अमेरिकी सेनाको कब्जामा पर्नेछ । नागरिकता विधेयकले देशलाई सिक्किमजस्तै बनाउने खतरा भएको हुँदा नेपाल मजदुर किसान पार्टीले खारेजीको सङ्घर्ष अघि बढाएको हो”, सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “राजनीति सबै नीतिको मूल नीति हो । राज्यको नीतिबारे बोल्ने सांसदहरू जरूरी छ । नेपाल मजदुर किसान पार्टीको देशभक्ति र इमानदारिताबारे नेपाली जनता जानकार छन् । हाम्रो उम्मेदवारी शासक दलहरूको लागि हाँक भएको छ । नेपाली जनताले यस पटकको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीलाई नै रोज्ने अपेक्षा छ ।”
नेमकिपा ललितपुर जिल्ला समितिका अध्यक्ष तथा ललितपुर जिल्ला क्षेत्र नं २ मा नेमकिपाका उम्मेदवार राजवीर डंगोलले शासक दलहरूले नेपाली जनतालाई बारम्बार झुक्याएकोले वाक्कदिक्क भइसकेको र अब नेपाली जनताले विकल्पको रूपमा नेमकिपालाई हेरिरहेको बताउनुभयो ।
उहाँले हिजो टाउकोको मोल टोक्ने र मोल टोकिएको टाउको मिलेर गरिएको गठबन्धन सिद्धान्तहीन र अनैतिक भएको चर्चा गर्दै नेमकिपाले शासक दलको राजनीतिक अनैतिकताबारे चुनावमा जनताबीच उजागर गर्ने बताउनुभयो ।
नेमकिपाको तर्फबाट ललितपुर जिल्ला क्षेत्र नं ३ का उम्मेदवार नीरज लवजूले कम्युनिस्ट पार्टीले पुँजीवादी व्यवस्थाअन्तर्गत गरिने निर्वाचनलाई साध्य नभई साधनको रूपमा मात्र लिने बताउनुभयो ।
उहाँले चुनावबाट समाजवादी व्यवस्था स्थापना नहुने तथापि चुनावलाई राजनीतिकरूपमा जनतालाई सचेत बनाउने विश्वविद्यालयको रूपमा नेमकिपाले चुनाव उपयोग गर्ने धारणा राख्नुभयो ।
नेमकिपाको तर्फबाट ललितपुर जिल्ला क्षेत्र नं १ का उम्मेदवार कविन्द्र महर्जनले नेमकिपाबाट निर्वाचित भएका क्षेत्रमा गरेका उदाहरणीय कामबाट ललितपुरका जनता प्रभावित भएको र आफ्नो ठाउँको विकासको निम्ति नेमकिपालाई स्वागत गरिरहेको बताउनुभयो ।
ललितपुर जिल्ला प्रदेश क्षेत्र नं ३ (क) का उम्मेदवार अशोक महर्जनले नेमकिपाका समर्थकहरूलाई शासक दलका नेता कार्यकर्ताले साम दाम दण्ड भेदको नीति लगाएर पार्टीबाट अलग गर्न खोजे पनि नेमकिपाका कार्यकर्ताहरूले सैद्धान्तिक प्रतिवाद गरिरहेको बताउनुभयो ।
ललितपुर जिल्ला प्रदेश क्षेत्र ३ (ख)का उम्मेदवार नरेश महर्जनले स्वतन्त्र उम्मेदवारहरूले केही समय प्रचारबाजी गरे पनि देशले चाहेजस्तो परिवर्तन उनीहरूबाट सम्भव नभएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश क्षेत्र १ (क) का उम्मेदवार बुद्ध लामा, १ (ख) का उम्मेदवार मन्दिप महर्जन, २ (क) का उम्मेदवार महन्त महर्जन, २ (ख) का उम्मेदवार महेन्द्र ब्रम्हाचार्यलगायतले बोल्नुभएको थियो ।
त्यस्तै समानुपातिकतर्फ नेमकिपाका उम्मेदवारहरू दिलमाया महर्जन, सूर्यलक्ष्मी देशार, अस्मिता महर्जन, शर्मिला प्रधान, मनहेरा श्रेष्ठ र विष्णुभक्त महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *