भर्खरै :

चितवनमा नेकाको बागी उम्मेदवार

चितवनमा नेकाको बागी उम्मेदवार

प्रतिनिधिसभा क्षेत्र नम्बर ३ चितवनबाट उम्मेदवारी दिने हल्ला हुँदै गर्दा अन्तमा प्रचण्डले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ गोर्खाबाट उम्मेदवारी दिन पुगे । तिनका कार्यकर्ता समर्थक भनाउँदाहरू प्रचण्डको जित सुनिश्चित हुँदाहुँदै पनि गोर्खा गएकाले दुखित भएको बोल्दै थिए भने प्रचण्डले चितवनबाट हार्ने भएकोले गोर्खा भागेको चर्चा परिचर्चा पनि जनतामाझ सुन्न सकिन्थ्यो । प्रचण्डका केही कार्यकर्ताहरू भने काङ्ग्रेसले पैसा धेरै मागेकोले प्रचण्ड गोर्खा जान बाध्य गराएको विचार पोख्दै थिए ।
प्रचण्डले काङ्ग्रेसको बुइँ चढेर छोरीलाई भरतपुरको मेयरमा जिताएको कुरा छर्लङ्ग छ । माओवादीबाट रेणु दाहाललाई मेयर पदमा जिताउन करोडौँ पैसाको चलखेल भएको काङ्ग्रेसकै कार्यकर्ता समर्थकहरू बोलिरहेका छन् । माओवादीले हात काटिदिएको छ, त्यही हातले माओवादीको चुनाव चिह्न हँसिया हथौडामा छाप हान्न नसक्ने भनेर चिच्याउने काङ्ग्रेसी नेतालाई ठूलै रकमले मुख बुझो लगाएको चितवनका जनताले आकलन गरेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा पनि पैसा खान पल्केका केही छट्टु काङ्ग्रेसका नेताहरूले धेरै पैसा नमागेको होला भन्न सकिन्न । पैसाको लोभमा फसेकाहरूसँग पैसाको प्रलोभनमा नपरेका इमानदार काङ्ग्रेसका कार्यकर्ता, समर्थकहरू सधैँ त्यहीँ फटाहा नेताहरूको पछि नलाग्न सक्छन् । असन्तुष्ट काङ्ग्रेसीहरूले स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा जगनाथ पौडेललाई बागी उम्मेदवार उठाएर प्रतिस्पर्धा गराएका थिए । मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि असन्तुष्ट काङ्ग्रेसीहरूले दिनेश कोइरालालाई चितवन क्षेत्र नम्बर ३ बाट बागी उम्मेदवार उठाएका छन् ।
प्रचण्डले धेरै पैसा खर्च गरेर पनि निर्वाचन जित्न नसक्ने भएपछि गोर्खा भागेको अर्कोथरीको मत छ । शासक दलहरूको यस्तो कृयाकलापले निर्वाचन भनेको करोडौँ रूपैयाँको चलखेल हुँदोरहेछ भन्ने कुरा सामान्य जनताको मनमा परेको छ । विकास र निकासको कुरा केवल देखावटी रहेछ । माओवादीले चितवनको भरतपुरको विकासमा कालोपत्रे सडक बाटो देखाइरहँदा जनताले भने कमिसन र भ्रष्टाचारको थलोको रूपमा बुझेका छन् ।
चितवनमा घर बनाई स्थाई बासी बनेर आफ्नो निर्वाचन थलो बनाउन प्रयत्न गर्न खोज्दा पनि प्रचण्डलाई चितवनका जनताले झापड भने हानेकै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *