भर्खरै :

मिठाइ पसल र फलफुल व्यवसायीहरूको भेला

कर्तव्यनिष्ठ भई व्यवसाय सञ्चालन गर्न जोड भक्तपुर, २ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा नजिकिदैँ गरेको तिहारलाई मध्यनजर गरी भक्तपुर नगरभित्र सञ्चालित मिठाइ र फलफुल व्यवसायीहरूको भेला भनपा सभाकक्षमा बुधबार भयो ।
भेलामा भनपाका उपप्रमुख रजनी जोशीले कर्तव्यनिष्ठ भई व्यवसाय सञ्चालन गर्न अनुरोध गर्नुभयो । उहाँले सभ्य, सुन्दर र सफा नगर बनाउने उद्देश्यअनुरूप भक्तपुर नगरपालिका अगाडि बढिरहेको बताउँदै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षर र सरसफाइमा नमुना नगर बनाउन नगरवासीहरू र व्यवसायीहरूको साथ र सहयोग भएको बताउनुभयो । उहाँले उपभोक्तालाई सहज र स्वस्थबद्र्धक उपभोग गर्न पाउनेमा आशावादी हुँदै स्वच्छ, सफा खाद्य पदार्थमात्र बिक्री वितरण गर्न अनुरोध गर्दै नगरपालिकाले त्यसमा सहजीकरण गरिरहेको बताउनुभयो ।
उहाँले नाफाको निम्ति जे पायो त्यहीँ नगर्न र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी सेवाभावले व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले व्यवसायीहरूसँग अरू सहयोगभन्दा पनि आफ्नो व्यवसाय व्यवस्थित, मर्यादित र व्यवसायको मापदण्डअनुसार सञ्चालन गरी सहयोग गरे नगरवासी स्वस्थ भई नगर स्वच्छ र राम्रो समाज निर्माण हुने बताउनुभयो ।
उहाँले तिहार मनाउन अलमल परेको बेला सम्बन्धित र सरोकारवालाहरूको छलफलले कार्तिक ७ गते लक्ष्मी पूजा, ८ गते म्हाः पूजा र ९ गते भाइटीका मनाउने निर्णय भएको जानकारी दिनुभयो ।
सभाका सभापति एवं अनुगमन समितिका संयोजक तथा ३ वडाका वडाध्यक्ष राजकृष्ण गोराले व्यवसायीहरूको आर्थिक स्तर उकास्न र व्यवसाय राम्रो सञ्चालन गराउन, व्यवसायको राम्रो नराम्रो गुनासो या सुझावहरू जनप्रतिनिधिसमक्ष गर्ने भएकोले मिठाइमा बढी खाद्य अखाद्य रङ प्रयोग गर्ने, एउटै तेलमा बढी पकाएको अखाद्य तेल प्रयोग गर्ने, पसल दर्ता र नवीकरणबिना सञ्चालन गर्ने, ढक तराजु नवीकरण नगर्ने गरेको अनुगमनमा देखिएकोले त्यसतर्फ ध्यानाकर्षण गर्नुभयो ।
कार्यक्रममा स्वागत अनुगमन समितिका सदस्य एवम् १ नं वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा निरीक्षक रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो । व्यवसायीहरू देवचन्द्र बज्राचार्य, विश्वराम लवजु, अनिष श्रेष्ठ, रामकुमार पुडासैनीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *