भर्खरै :

नेपालको सार्वभौमिकतामाथि अमेरिकी दूतावासको हस्तक्षेप

काठमाडौँ, २ कार्तिक । काठमाडौँस्थित संरा अमेरिकी राजदूतावास परिसरमा अङ्ग्रेजी र नेपाली भाषामा हामी युक्रेनको पक्षमा छौँ लेखिएको ब्यानर प्रदर्शन भइरहेको छ । कुनै पनि कूटनैतिक नियोगमा त्यसरी अन्य देशको मामिलाबारे प्रदर्शन गर्ने कुरा कूटनीतिक मर्यादाभित्र पर्दैन । अमेरिकी दूतावासले रुस–युक्रेन द्वन्द्वमा तटस्थ स्थितिमा रहेको नेपाल र नेपाली जनताको मानसिकता बदल्न लगाउन यसलाई एक किसिमको दबाब सिर्जना गरेको मान्न सकिन्छ ।
नेपाल एक स्वाधीन र सार्वभौम राष्ट्र हो । हामीमाथि कुनै देशको कूटनीतिक मिसनको दबाब स्वीकार्य हुनसक्दैन । त्यसैले, नेपाल सरकारले उक्त ब्यानर तत्काल हटाउन लगाउने मात्र होइन, उक्त कार्य गर्न लगाएका अमेरिकी राजदूत र कूटनीतिक अधिकारीहरूलाई फिर्ता पठाउनुपर्छ ।
संरा अमेरिकी शासकहरूले नै रुस–युक्रेन द्वन्द्व सिर्जना गरेको हो र युक्रेनलाई उक्साएर भित्रभित्रै रुसविरुद्ध युद्ध गराएको हो । यो युद्धले रुसी र युक्रेनीमात्र नभई संसारकै कामदार वर्ग र गरिब जनतालाई पीडा दियो । सोही युद्धलाई कारण देखाउँदै विश्वभर इन्धन र खाद्यान्नको मूल्यवृद्धि गरिएको छ ।
अमेरिकी सरकारले काठमाडौंस्थित आफ्नो दूतावासमा युक्रेनको पक्षमा ब्यानर प्रदर्शन गरेको छ । नेपालमा रुसको राजदूतावास पनि छ । रुसी राजदूतावास र अरु देशका राजदूतावासहरू धमाधम त्यसरी आ–आफ्नो पक्षको ब्यानर प्रदर्शन गर्न थालेमा के त्यसले नेपाल विदेशी शक्तिहरूको चलखेलको भूमि नबन्ला ? के त्यसले नेपालको सार्वभौमिकतामा आँच नपुग्ला ? नेपालको सार्वभौमिकतामाथि संरा अमेरिकाले पटकपटक हस्तक्षेप गरिरहेको छ । कूटनीतिक मर्यादाविपरीत ब्यानर राख्नु पनि नेपालको सार्वभौमिकतामाथि अमेरिकी साम्राज्यवादको ठाडो हस्तक्षेप हो । स्वाभिमानी नेपाली जनताले त्यसको विरोध गरिरहेका छन् । अमेरिकी प्रशासन र दूतावासले नेपाली जनताको भावना बुझेर तत्काल आफ्नो ज्यादती अन्त्य गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *