भर्खरै :

साम्राज्यवादविरोधी सङ्घर्ष जारी राख्नु आवश्यक

साम्राज्यवाद र विस्तारवाद संसारका स्वाधीन र सार्वभौम राज्यको साझा वर्ग शत्रु हो । साम्राज्यवादी देशका शासकहरू अरू देशका जनताको शान्ति लुट्छन् र आक्रमण गर्छन् । संसारका साझा दुश्मन विश्व साम्राज्यवादका नाइके अमेरिकी साम्राज्यवादविरुद्ध संसारका स्वाधीन र सार्वभौम जनता लड्नुपर्छ । साम्राज्यवाद जहिल्यै कायम राख्न साम्राज्यवादी शक्तिहरू अरू स्वाधीन मुलुकलाई उठाउन दिँदैनन्, आफ्नो प्रभाव कायम राख्न अरू मुलुकबीच झगडा गराउँछन् र कमजोर पार्छन् । अतः साम्राज्यवाद अन्त गर्ने संसारका साम्राज्यवादविरोधी मुलुक र जनता एकजुट भइरहनुपर्छ ।
एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनतालाई थिचोमिचो गरेर, हतियार बेचेर साम्राज्यवादी देशहरू धनी भएका हुन् । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी जनताले चलाइरहेको साम्राज्यवादविरोधी सङ्घर्ष हिजोझैँ आज पनि आवश्यक छ । साम्राज्यवाद खतम नभएसम्म विश्वका जनताले सन्तोषको सास फेर्न पाउने छैनन् । संसारका जनतालाई आतङ्कित पारिरहेको देश संयुक्त राज्य अमेरिका र उसको पछि लागेका देशहरू हुन् । साम्राज्यवादले साना र कमजोर देशहरूलाई आतङ्कित बनाइरहेसम्म, लुटिरहेसम्म, दमन गरिरहेसम्म संसारका जनताले शान्त पाउने छैनन् । साम्राज्यवादी देशसँग देशघाती सन्धि सम्झौता गर्दा स्वतन्त्र देश उठ्न पाउँदैन । यसले युद्धको खतरा मोल्नुपर्ने हुन्छ । दास मानसिकता बोकेर त्यस्ता देशहरूसँग देशघाती सम्झौता गरेपछि नेपालले साम्राज्यवादविरुद्ध लड्ने हैसियत राख्दैन । यसकारण, नेपाल सरकार संयुक्त राज्य अमेरिका ठूलो र शक्तिशाली छ भनेर दासी बन्नु हुँदैन, साम्राज्यवादविरुद्ध लड्न पछि पर्नु हुँदैन ।
समाजवादी देशका शासकहरूले साम्राज्यवादी शक्तिविरुद्ध सङ्घर्ष गर्नैपर्छ । एउटा देशले अर्काे देशलाई गर्ने आक्रमण रोक्न साम्राज्यवादविरुद्ध लड्नैपर्छ, त्यसको अन्त गर्नैपर्छ । अमेरिकी साम्राज्यवादको विरोधमा संसारका जनता एकगठ हुँदै छन् । अमेरिकाले चीनको त्यसै विरोध गरेको होइन । संसारमा साम्राज्यवादविरोधी सङ्घर्षको स्वर सल्किरहेको हुँदा अमेरिका त्यसलाई निष्क्रिय पार्न अनेक षड्यन्त्र गर्छ, अनेक चलखेल गर्छ । त्यस चलखेलभित्र विकास र आर्थिक सहयोगको बखान पनि हुन्छ । अमेरिकाले गर्ने कति आर्थिक सहयोग र विकास साम्राज्यवादविरोधी सङ्घर्ष रोक्ने या पछि धकेल्ने उपाय हो । यसकारण, साम्राज्यवादी देशहरू अमेरिकाविरोधी संयुक्त मोर्चा बन्न दिन चाहँदैनन् । बरु अमेरिका एक–एक गरेर देशलाई ध्वस्त पार्दै अघि बढिरहेको हुन्छ । आन्तरिक कलह चर्काएर द्वन्द्व बढाइरहेको हुन्छ । यो साम्राज्यवादी शक्तिको विशेषता नै हो । साम्राज्यवादीहरू आन्तरिक द्वन्द्व चर्काउने काम गर्छन् र आफ्नो हतियार बेच्छन् । साम्राज्यवादी देश अमेरिकाले आफ्नो हैकम सधैँ कायम राख्न लडाइँको खेल गरिरहेकै हुन्छ । रुस–युक्रेनको युद्धमा अमेरिकी साम्राज्यवादको हात छ । कुनै दिन नेपाली भूमिमा टेकेर भारत र चीन भिडाउन अमेरिका पछि पर्ने छैन । अतः संसारका जनताले शान्ति पाउन साम्राज्यवादी देशहरूको विरोध नगरी सुखै छैन । अमेरिकी साम्राज्यवादको संसारका मुलुकले उदाङ्ग्याउनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *