भर्खरै :

डेङ्गु : एक सङ्क्रामक रोग

डेङ्गु एक अत्यधिक सङ्क्रामक रोग हो । यो रोग मुख्यतया सङ्क्रमित एडिस प्रजातिको एडिस एजिप्टाई र एडिस अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेङ्गु कोभिडजस्तो मानिसबाट मानिसमा सर्दैन । यो रोग लाग्न वा फैलन एडिस लामखुट्टेको उपस्थिति अनिवार्य नै हुन्छ । डेङ्गु सङ्क्रमित व्यक्तिलाई टोकेपछि लामखुट्टे सङ्क्रमित हुन्छ । यसले स्वस्थ व्यक्तिलाई टोक्दा करिब एक हप्तापछि डेङ्गु भाइरस उक्त मनिसमा सर्ने गर्दछ र सो व्यक्ति सङ्क्रमित हुन्छ । यो लामखुट्टेले मुख्यतया दिनको समयमा टोक्ने गर्दछ । सुर्योदयपछि र सुर्यास्त अगाडी सक्रीय हुने यो लामखुट्टेले राम्रो प्रकाश भएको ठाउँमा राति पनि टोक्न सक्दछ । मानिसहरूलाई उपयुक्त हुने वातावरणमा सजिलै हुर्कने हुँदा एडिस लामखुट्टेलाई नियन्त्रण गर्न सजिलो भने पक्कै छैन । यी लामखुट्टेको कालो जिउमा सेतो छिर्के मिर्के रङ्गका हुन्छन् । अनुसन्धानकर्ताका अनुसार डेङ्गु रोग फैलनको लागि उपयुक्त तापमान २८ – ३० डिग्री सेल्सियस हो । यद्यपि, हालका वर्षहरूमा विश्वका धेरै क्षेत्रहरूमा २५–२७ डिग्री सेल्सियसमा यो रोग अत्यधिक फैलिएको देखिन्छ । विशेषगरी, वर्षा यामले लामखुट्टेको लागि उपयुक्त प्रजनन स्थलहरू उपलब्ध गर्न मद्दत पुर्याउँछ । यसैले हामी अझै सतर्क रहनुपर्ने देखिन्छ ।

एडिस लामखुट्टे
डेङ्गुको लक्षण सङ्क्रमण भएको ३ देखि ८ दिन पछि देखिन्छ । अचानक उच्च ज्वरो आउने, गम्भीर टाउको दुखाई, आँखा पछाडिको दुखाई, गम्भीर जोर्नी र मांशपेशी दुखाई, थकान, वाकवाकी, उल्टी, छालामा दागहरू, हल्का रगत बग्नु (जस्तै नाक, गिजाबाट रगत बग्नु) डेङ्गुका मुख्य लक्षणहरू हुन । एक सामान्य व्यक्तिको रगतमा प्रतिमाइक्रोलिटर १५०,००० देखि २५०,००० सम्मको प्लेटलेटको सङ्ख्या हुन्छ । करिब ८० देखि ९० प्रतिशत डेङ्गु भएका बिरामीको प्लेटलेट एक लाखभन्दा कम हुन्छ भने १० देखि २० प्रतिशत बिरामीमा २०,००० वा सोभन्दा कम प्लेटलेट हुने गर्दछ ।
डेङ्गु भाइरसका डेन–१, डेन–२, डेन–३ र डेन–४ नाम भएका चार सिरोटाइपहरू छन् । यस भाइरसले लगभग सबै उमेर समूहका मानिसलाई संक्रमण गर्न सक्छ । कुनै एक सिरोटाइपबाट सङ्क्रमित बिरामी निको भएपछि सो मानिसमा त्यो सिरोटाइपविरुद्ध जिवनभर प्रतिरक्षा बिकास हुन्छ । तर, अन्य सिरोटाइपहरूमा भने आंशिक तथा आस्थायी प्रतिरक्षामात्र विकास हुन्छ । अन्य सिरोटाइपद्वारा पछि हुने सङ्क्रमणले अझ गम्भिर डेङ्गुको जोखिम बढाउँछ । यसकारण, एकजना मानिस आफ्नो जीवनकालमा चार पटकसम्म डेङ्गुबाट सङ्क्रमित हुनसक्छ ।
लामखुट्टेको प्रजनन स्थलहरू मानव बसोबास नजिक हुनु पनि डेङ्गुको कारक हो । डेङ्गुलाई नियन्त्रण गर्ने उपाय भनेकै लामखुट्टेविरुद्ध लड्नु हो । ठोस फोहरको व्यवस्थापान गर्ने, पानी जम्न सक्ने ठाउँहरू हटाउने, पानी राख्ने भाँडाहरू छोप्ने, खाली गर्ने तथा सफा गर्ने, उपयुक्त किट्नाशक औषधिको प्रयोग गर्दै लामखुट्टेको टोकाइबाट बच्न व्यक्तिगत उपायहरू अपनाउने आदि क्रियाकलापले डेङ्गु नियन्त्रणमा अवश्य मद्दत पुग्दछ । अहिलेसम्म डेङ्गु रोग भएका मानिसहरूको लागि कुनै खास उपचार छैन । यो रोगबाट निको हुने अवधि रोगको प्रकृति तथा बिरामीको शारिरीक अवस्थाअनुसार १ देखि २ हप्तासम्म रहन्छ । बिरामीले आराम गर्नुपर्छ, पर्याप्त झोल पदार्थ पिउनुपर्छ, चिकित्सकको सल्लाहअनुसार ज्वरो कम गर्ने औषधि खानुपर्दछ । अतः रोग अझै फैलन नदिनको लागि मानिस लामखुट्टेको टोकाईको बच्नुपर्दछ । यदि घरमा नै बसेर उपचार गर्दै आउनुभएको छ अनि बिरामीलाई गा¥हो भयो भने तुरुन्त नजिकको अस्पतालमा पु¥याउनुपर्दछ ।


(लेखक काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्यापक हुन् । डेङ्गु रोग सर्ने गणितीय प्रणालीमा विद्यावारिधि गर्नुभएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *