सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
लन्डन, २० अक्टोबर । संयुक्त अधिराज्य (ब्रिटेन) की प्रधानमन्त्री लिज ट्रसले राजीनामा घोषणा गरेकी छिन् ।
प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन् ।
बिहीबार सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकोले राजीनामा दिन लागेको बताएकी छिन् ।
नयाँ उत्तराधिकारी चयन नभएसम्म आफू पदमा रहने पनि उनले उल्लेख गरेकी छिन् ।
ट्रसले नयाँ नेतृत्व चयनको प्रक्रिया आगामी साताबाटै सुरू हुने बताएकी छिन् ।
सबैभन्दा थोरै समय प्रधानमन्त्री
४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार सम्हालेको प्रधानमन्त्री बन्न पुगेकी छन् ।
उनी पछि छोटो समय प्रधानमन्त्री कायम रहेका व्यक्ति जोर्ज क्यानिङ हुन् । जसको सन् १८२७ मा निधन हुँदा उनी ११९ दिन पदमा बहाल रहेका थिए ।
तत्कालीन अर्थमन्त्री कवासी क्वारटेङले गत २३ सेप्टेम्बरमा मिनि बजेट भनेर ल्याएको सरकारको योजनाले वित्तीय बजारमा उथलपुथल ल्याइदिएपछि नै लिज ट्रसको राजनीतिक समस्याहरू सुरू भएका थिए ।
त्यसबेला यता उनको कन्जरभेटिभ पार्टीभित्र उत्पन्न असन्तोषले पार्टीभरि नै आक्रोशको रूप लिएको थियो ।
राजीनामा
बुधबार राति संसद्को तल्लो सदन हाउस अफ कमन्समा फ्रायकिङ भनिने तेल उत्खनन प्रकृयासम्बन्धी मतदानको क्रममा देखिएका नाटकीय दृश्यहरूपछि नै उनको राजीनामाको चर्चा उठेको थियो । त्यसपछि त्यस्तो माग झन्झन् चर्को हुँदै गएको थियो ।
प्रमुख विपक्षी दल लेबरका नेता किर स्टारमरले अब लिज ट्रसले राजीनामा दिएपछि देशमा नयाँ आम निर्वाचन हुनुपर्ने माग गरेका छन् ।
बीबीसीका प्रमुख राजनीतिक संवाददाता निक इयरड्ली भन्छन्, “हिजोमात्र उनले आफू एक लडाकु भएको बताएकी थिइन् । तर सरकार, संसद् र कन्जरभेटिभ पार्टीमा यस्तो भद्रगोल खडा भयो कि उनले अब योभन्दा अघि बढ्न नसक्ने अवस्थामा आफूलाई पाएको हुनुपर्छ । अब जे हुन्छ त्यो आधुनिक समयमा ब्रिटेनमा देखिएको सबैभन्दा तीव्रगतिको सत्ता फेरबदलको घटना हुनेछ । यो अभूतपूर्व परिस्थिति हो र ब्रिटिश राजनीतिमा एउटा अभूतपूर्व सङ्कट ।”
तेस्रो महिला प्रधानमन्त्री
उनी यूकेको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन् । लिज ट्रसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे यूकेको प्रधानमन्त्री बनेका थिए ।
कन्जर्भेटिभ पार्टीमा उनीसँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनकलाई पछि पार्दै डेढ महिनाअघि लिज ट्रस प्रधानमन्त्री बनेकी थिइन् । उनले ५७ प्रतिशत मत पाउँदा सुनकले ४३ प्रतिशतमात्र मत पाएका थिए ।
Leave a Reply