भर्खरै :

सङ्घर्षविना पुँजीवादी व्यवस्था अन्त्य नहुने

वर्गीय समाजमा वर्गसङ्घर्ष स्वाभाविक हो । सङ्घर्षविना उत्पीडित या शोषितपीडित जनताले मुक्ति पाउँदैनन् । यो इतिहासले प्रमाणित गरेको सत्य र तथ्य हो । निरङ्कुश राणाकाल र पञ्चायती व्यवस्था सङ्घर्षबाटै अन्त्य भएको हो । अहिलेको सङ्घीय गणतन्त्रात्मक पुँजीवादी व्यवस्था सङ्घर्षविना ढल्दैन या अन्त्य हुँदैन । कुनै कम्युनिस्ट या वामपन्थी दलले फु गर्दै यो पुँजीवादी सरकार अन्त्य हुँदैन । कुनै दलको नेतृत्वमा बहुमत प्राप्त सरकार बने पनि पुँजीवादी व्यवस्था यथावत नै रहेको हुन्छ ।
देशमा सङ्घीय गणतन्त्र स्थापना भएको १३÷१४ वर्ष भयो । यस अवधिमा विभिन्न दलको नेतृत्वमा सरकार बन्यो । नेकाको नेतृत्वमा मात्र होइन कम्युनिस्ट भनिने ठूलो दलको नेतृत्वमा पनि सरकार बन्यो । तर, देशको पुँजीवादी व्यवस्था बदलेन । बरु, ती दलका नेताहरूले पुँजीवादी व्यवस्थामा रहेर आफ्नै दलको मार्ग निर्देशक सिद्धान्त भुले या पुँजीवादी व्यवस्थालाई नै पृष्ठपोषण गरे । सरकारको नेतृत्व फेर्दैमा व्यवस्था फेरिँदैन भन्ने कुरा यसले प्रस्ट पार्छ । यो पुँजीवादी व्यवस्था फेर्न या कम्युनिस्ट पार्टीको उद्देश्यअनुसार देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न सङ्घर्षविना सम्भव छैन ।
हरेक कम्युनिस्ट पार्टीको मूल उद्देश्य समाजवादी व्यवस्था स्थापना गर्नु हो । पुँजीवादी व्यवस्थामा रहेर, पुँजीवादी निर्वाचनमा भाग लिएर या जितेर समाजवाद सम्भव छैन । नेपाल मजदुर किसान पार्टीले पुँजीवादी निर्वाचनमा भाग लिएर समाजवाद सम्भव छैन भन्ने धारणा राख्दै आएको हो । समाजवाद स्थापना गर्न या पूर्वाधार तयार गर्न नेमकिपाले जनतालाई राजनीतिक, वैचारिक र सैद्धान्तिकरूपमा सुसूचित पार्दै आएको हो । साँच्चै देशमा बहुमत जनताको हित हुने समाजवाद स्थापना गर्ने हो भने नेमकिपाले झैँ अरू कम्युनिस्ट भनिने दलहरूले पनि कम्युनिस्टको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउनुपर्छ, सुसूचित र सङ्गठित गर्नु आवश्यक छ ।
पुँजीपतिवर्गको नेतृत्व गर्ने नेकाको सरकारमा सामेल भएर के देशमा समाजवाद स्थापना हुन्छ ? के देशमा कम्युनिस्ट आन्दोलन अघि बढ्छ ? के कम्युनिस्ट पार्टी बलियो हुन्छ ? कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार अघि बढेन भने जसले जतिसुकै सांसद जिते पनि देशमा समाजवाद स्थापना हुँदैन । देशमा रहेका ठूला कम्युनिस्ट पार्टी भनिएका दलका नेताहरूले दलको सिद्धान्त या उद्देश्य पूरा गर्न या देशमा समाजवाद स्थापना गर्न केही गरिरहेका छैनन् । जसरी भए पनि आफ्नो बढीभन्दा बढी सांसद जिताउन ती दलहरूले अराजनीतिक गठबन्धन गरिरहेका छन् । तिनीहरू पद र पैसाको निम्ति सत्तामुखी राजनीतिमा केन्द्रित छन् । ती दलका नेताहरू अवसरवादी भए, संशोधनवादी भए । उनीहरूले आफ्नो उद्देश्य नै भुले । ती दलका नेताहरू विस्तारवादी र साम्राज्यवादी शासकहरूको पछि दगुरे । पहिले भियतनामी जनताले आफ्नो स्वाधीनता र सार्वभौम देश जोगाउनको लागि मात्र होइन विश्व शान्ति र सुरक्षाको निम्ति लडेका थिए । क्युवा र प्रजग कोरियाले पनि विश्वकै शान्ति र सुरक्षाको लागि अहिले पनि लडिरहेका छन् । यो देशभक्तिको भावना हो । यो अन्तर्राष्ट्रवादी भावना हो । अतः स्वाभिमानी देश र जनताले मुक्तिको निम्ति सङ्घर्षबाहेक अर्काे विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *