तःमुंज्या प्रचारस्वरुप सुकुन्दा ¥याली
- आश्विन २८, २०८१
भक्तपुर, ६ कार्तिक । वागीश्वरी मावि कक्षा १२ र वागीश्वरी कलेजको स्नातक तहका विद्यार्थीहरूको संयुक्त आयोजनामा कक्षा ११ र स्नातक प्रथम वर्षमा अध्ययनरत नवागन्तुक विद्यार्थीहरूलाई स्वागत, नेपाल संवत् ११४३ र छठ पर्वको शुभकामना तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भयो ।
कमलविनायकमा सम्पन्न कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले शिक्षामा मात्र जोड दिई अध्ययन गर्दा मानिस अपूरो हुने हुँदा अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यार्थीहरूले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
क्षमता र लगनशीलताको आधारमा विषय छनोट गरी गरेको अध्ययनले मात्र विशेषज्ञता हासिल गर्न सक्ने बताउँदै उहाँले आफ्नो भविष्य उज्ज्वल बनाउन आफूले आर्जन गरेको ज्ञानले देश र समाजको सेवा गर्नुपर्छ भन्नुभयो ।
सरकार समाजवादउन्मुख संविधानको मर्मविपरीत शिक्षा र स्वास्थ्यको जिम्मेवारीबाट पन्छिँदै गएको बताउँदै उहाँले देशमा अहिले दुई थरीको जनशक्ति उत्पादन गरी विभेद गरिरहेको बताउनुभयो ।
नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले लेखेको किताब ‘काठमाडौँ डिलेमा’ मा सभामुख चित्रलेखा यादव भारत भ्रमणमा रहँदा नेपाल र भारतबारे केही पनि बोल्न नसकेको वाक्यांश उद्धृत गर्दै विद्यार्थीहरूले देश विदेशको राम्रो ज्ञान राख्यो भने कसैको सामु झुक्ननपर्ने बताउनुभयो ।
सरकारमा बसेका दलको कमजोर नेतृत्वका कारण भारतीय शासकको दबाबमा पारित भएको नागरिकता विधेयकले हरेक सरकारी ओहोदामा कार्यरत नेपालीलाई विदेशीद्वारा विस्थापित गरी नेपाललाई उपनिवेश बनाउन खोजेको प्रस्ट पार्दै उहाँले नागरिकता विधेयकको सबै देशभक्त नेपालीले विरोध गर्नुपर्छ भन्नुभयो ।
च्याम्हासिंहमा भएको कार्यक्रममा वागीश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर न.पा. वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले प्रकृतिको पूजा गरी मनाउने पर्व तिहारमा अखाद्य फलफुल तथा मिठाइको प्रयोगमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले जीवन रहे सबै रहने भएकोले संस्कृतिमाथि व्यापार गर्ने व्यापारीबाट सतर्क रहनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरू देशका सचेत नागरिक भएकाले मङ्सिर ४ गते हुने निर्वाचनमा योग्य, इमानदार र देशभक्त उम्मेदवारको छनोट गर्न आ–आफ्नो गाउँ ठाउँमा रहेका जनतालाई सही तरिकाले मतदान गर्न सिकाउनुपर्ने औँल्याउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले यस वर्ष कक्षा ११ मा भर्ना भएका ७ सय ९४ जना नवआगन्तुक विद्यार्थी रहेको जानकारी दिँदै उहाँले संस्कृतिको संरक्षणमा विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भएकोले तिहार पर्व विकृतिरहितरूपमा मनाउनुपर्ने औँल्याउनुभयो ।
विज्ञान सङ्कायका प्रो. डा. सिद्धिवीर कर्माचार्यले नेपालमा वर्षभरि नै विविध चाडपर्व भएकै कारण पश्चिमा देशहरूमा जस्तै डिप्रेसन तथा आत्महत्याका घटनामा कमी आएको बताउनुभयो । मिहिनेत र श्रम गरे डिप्रेसन आफै घट्ने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले १५ लाखमै एमबीबीएस पढाउने योजना ल्याउँदा पनि सरकारकै कारण ७०÷८० लाखमा पढ्न बाध्य बनाएको स्पष्ट पार्नुभयो ।
वागीश्वरी मावि तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले नेपाल संवत्बारे प्रस्ट पार्दै शंखधर साख्वाले ऋणमा डुबेका मान्छेहरूलाई आफ्नै पैसाले ऋण मुक्त गरेको खुसियालीमा नयाँ वर्षको सुरुआत भएको बताउनुभयो ।
उहाँले लक्ष्मीप्रसाद देवकोटा अध्यापनरत रहेको त्रिचन्द्र क्याम्पसको पारिश्रमिक घर जाने क्रममा बाटोमा रहेका गरिबहरूलाई बाँड्दै जाने उहाँको व्यवहारबाट विद्यार्थीहरूले धन साधन हो साध्य होइन भन्ने ज्ञान लिनु आवश्यक छ भन्नुभयो ।
वागीश्वरीले वार्षिक एक करोडभन्दा बढी छात्रवृत्ति विद्यार्थीहरूलाई प्रदान गर्दै आएको जानकारी गराउँदै उहाँले विद्यार्थीहरूले पनि वागीश्वरीको सबल पक्षको बारेमा घर, टोल, समाजमा प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी मावि र कलेजको पहलमा ‘वागीश्वरी कलेज अफ म्यानेज्मेन्ट’ स्थापना गरी बीबीएको सम्बन्धन लिन सफल भएको जानकारी गराउनुभयो । शिक्षिका सुशिला कर्माचार्यले विद्यार्थीहरू शिक्षितमात्र भएर नपुग्ने बताउँदै नैतिकवान भई सक्षम नागरिक बन्नुपर्छ भन्नुभयो ।
विद्यार्थी करिना प्याठको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका सहायक प्रअद्वय कृष्णप्रसाद कर्माचार्य, उकेश सुवाल, कलेजका मानविकी सङ्काय इन्चार्ज राजन फेलु, विद्यालयका व्यवस्थापन इन्चार्ज ग्याहेन्द्रप्रसाद दाहाल, विज्ञान इन्चार्ज निरु ताल्चाभडेल, विद्यार्थीहरू सुमित्रा कार्की, विनिता तामाङ, सरिना बाडे, गौरव लामिछाने, झलक खत्री, सदीक्षा मैनाली, श्रीया दिदिया, सयना थापाश्रेष्ठलगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रमपश्चात् विद्यार्थीहरूले सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरेका थिए ।
Leave a Reply