भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
ललितपुर, ७ कार्तिक । नयाँ वर्ष नेपाल संवत् ११४२ को अवसरमा नेपालभाषा साहित्य तःमुँज्या ललितपुरको आयोजनामा सोमबार खोकानामा शुभकामना कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले काठमाडौँ उपत्यकाको संस्कृति संरक्षण गर्न जग्गा जमिन बेचबिखन रोक्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले खोकाना र बुंगमतीजस्ता ऐतिहासिक तथा सांस्कृतिक बस्तीको इतिहासको प्राज्ञिक तथा वैज्ञानिक अध्ययन अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रजापतिले विकासको नाममा सांस्कृतिक क्षेत्रको विनाश गर्ने सरकार र शासक दलका नीति गलत भएको धारणा राख्दै भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेका कामबारे प्रकाश पार्नुभयो ।
उहाँले विभिन्न समाजवादी देशका अभ्यास र अनुभवबाट सिकेर भक्तपुर नपामा नेमकिपाले जनताको सेवा गरिरहेको बताउँदै विदेशीसँगै पैसा मागेर विकास गर्ने मानसिकता गलत भएको बताउनुभयो ।
पुर्खाले सयौँ वर्षअघि बनाएका सम्पदाको अहिलेको पुस्ताले संरक्षणमात्र गर्न पनि विदेशीसँग हात फैलाउनु लाजमर्दो भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि ललितपुर क्षेत्र नं ३ मा नेमकिपाका उम्मेदवार नीरज लवजूले जनता बाँचे भाषा बाँच्ने नाराका साथ चार दसक अघि स्थापना भएको नेपाल भाषा साहित्य तःमुँज्याले जनताको परिचालनबाट मात्र भाषाको संरक्षण हुने र जनताले नबोल्ने भाषा मृत हुने विचार सही भएको बताउनुभयो ।
जनसरोकार समाज खोकानाका अध्यक्ष नेपाल डंगोलले खोकाना र बुंगमती नष्ट गर्ने अभिप्रायले राज्यले अघि सारेको दु्रर्तमार्ग र अन्य परियोजना कार्यान्वयन हुन नदिन जनताले थालेको आन्दोलन चालु भएको बताउनुभयो ।
शिक्षक अर्जुन डंगोलले काठमाडौँ उपत्यकाको संस्कृति कमजोर बनाउन चाडबाडको समयक्रममा सधैँ अन्योल निम्त्याइएको बताउनुभयो ।
अर्का शिक्षक कृष्णभगत महर्जनले भाषा र संस्कृति संरक्षणको निम्ति नयाँ पुस्तालाई सचेत बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा आगामी निर्वाचनमा ललितपुर क्षेत्र नं ३ (क) मा नेमकिपाका उम्मेदवार अशोक महर्जन, क्षेत्र नं ३ (ख) का उम्मेदवार नरेश महर्जन, नेपालभाषा साहित्य तःमुँज्या ललितपुरका अध्यक्ष कविन्द्र डंगोल, उपाध्यक्ष मनहिरा महर्जन, लिधंस पुचःका अध्यक्ष शरण डंगोल, महन्त महर्जनलगायतले बोल्नुभएको थियो ।
Leave a Reply