भर्खरै :

ऋषि सुनक औपचारिकरूपमा बने ब्रिटिश प्रधानमन्त्री

लन्डन, २६ अक्टोबर । ऋषि सुनकले राजा चाल्र्सलाई बकिङ्घम दरबारमा भेटेसँगै उनी औपचारिक रूपमा ब्रिटेनको नयाँ प्रधानमन्त्री बनेका छन् ।
राजाले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक त्यहाँको ५७ औँ प्रधानमन्त्री बनेका हुन् । उनी यूकेका पहिलो ब्रिटिश–एशियाली मूलका प्रधानमन्त्री हुन् ।
उनी यस वर्ष त्यहाँ बनेका तेस्रो प्रधानमन्त्री हुन् ।
दुई शताब्दीको अवधिमा ४२ वर्षीय उनी सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा डाउनिङ स्ट्रीट प्रवेश गरेका छन् । डाउनिङ स्ट्रीटबाट देशका नाममा सम्बोधन गर्दै उनले आफ्ना पूर्ववर्तीले गरेका ‘केही गल्तीहरू’ सुधार्ने काम ‘तत्काल सुरु हुने’ बताएका छन् । उनले भने, “हाल हाम्रो देशले गम्भीर आर्थिक सङ्कट सामना गरिरहेको छ ।”
उनले बोरिस जोनसनले प्रधानमन्त्रीका रूपमा हासिल गरेका ‘अभूतपूर्व उपलब्धिहरू’ प्रति सधैँ धन्य रहने समेत बताए । ब्रिटेनमा यसअघि देखिएको राजनीतिक र आर्थिक भद्रगोलपछि उनी स्थिरताको वाचासहित पद सम्हाल्न लागेका हुन् ।
त्यससँगै निवर्तमान प्रधानमन्त्री लिज ट्रस आधिकारिक रूपमा बेलायतको इतिहासमा सबैभन्दा छोटो कार्यभार सम्हाल्ने प्रधानमन्त्री बनेकी छन् ।
ट्रसले यसअघि दिएको एक छोटो बिदाइ मन्तव्यमा कर कटौतीको माध्यमबाट आर्थिक अप्ठ्यारा कम गर्ने आफ्नो प्रयासको बचाउ गर्दै नेताहरू साहसी हुनुपर्ने धारणा राखिन् ।
यो वर्षको पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि सुनक यसपालि विजयी भएका हुन् ।
सोमबार टोरी सांसदहरूले कन्जर्भेटिभ दलको नेता चयन गरेपछि सुनकले देशले ‘गहिरो आर्थिक चुनौती’ सामना गरिरहेको बताएका छन् ।
उनले लेबर, स्कटिश न्याशनल पार्टी, लिबरल डेमोक्र्याट र ग्रिन पार्टीको आह्वानको बाबजुद पनि प्रारम्भिक आम निर्वाचनलाई अस्वीकार गरेका छन् ।
–बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *