भर्खरै :

‘चीनले भारतलाई कहिल्यै रणनीतिक प्रतिद्वन्द्वीका रूपमा हेर्दैन’

ढाका, १० कार्तिक (एएनआई) । चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बङ्गलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले बताउनुभएको छ । ढाका प्रेस क्लवमा बुधबार भएको एक कार्यक्रममा उहाँले आर्थिक, भूराजनीतिक एवम् अन्य समस्या समाधान गर्न भारत र चीन मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भारतका लागि चिनियाँ राजदूत सन वेइडोङले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कनुअघि ‘हामी भारतलाई चीनको रणनीतिक प्रतिद्वन्द्वीको रूपमा कहिल्यै हेर्दैनौँ, भारत–चीन दुवैले भूराजनीतिको जालबाट बाहिर निस्केर विगतभन्दा फरक नयाँ बाटो खोज्नुपर्छ’, भनेको केही दिनपछि राजदूत लीबाट यो टिप्पणी आएको हो ।

सन वेइडोङ

राजदूत सुनले भारत र चीनबीचको मतभेद समाधान गर्दै एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिनुभएको थियो । पेइचिङ र नयाँदिल्लीले मतभेदको व्यवस्थापन र समाधानको प्रयास गर्नुपर्नेमा जोड दिँदै उहाँले चीन–भारत सम्बन्धलाई मतभेदले परिभाषित गर्नुको सट्टा वार्ता र परामर्शबाट उचित समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
चिनियाँ राजदूतसँगको बिदाइ भेटपछि भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले चीन–भारत सीमा क्षेत्रमा शान्ति कायम गर्न तथा शान्तिपूर्ण द्विपक्षीय सम्बन्धलाई अक्षुण्ण राख्न अपरिहार्य भएकोमा जोड दिँदै भारत–चीन सम्बन्ध सामान्यीकरण हुनु दुवै देशका लागि मात्र नभई एसिया र समग्र विश्वको हितमा रहेको बताउनुभयो ।
सन् २०२० मा लद्दाखको दोक्लाममा भएको दोहोरो झडपपछि चिसिएको चीन–भारत सम्बन्धलाई पुनः पुरानै अवस्थामा फर्काउन तथा आपसी सम्बन्धलाई व्यवस्थित गर्न दुवै पक्षले प्रयास गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *