भर्खरै :

सरकार र दलहरू विदेशी चलखेलबाट सचेत हुनुपर्छ

हरेक देशको सरकार र दलहरू विदेशी चलखेलबाट सचेत हुनुपर्छ । कुनै देशले आफ्नो स्वार्थ पूरा गर्न विकासको नाउँमा सहयोग गर्छ । कुनै देशले सर्त राखेर आर्थिक सहयोगको कुरा गर्छ भने कुनै देशले विनास्वार्थ, विनासर्त आर्थिक सहयोग गर्छ या विकासमा टेवा पु¥याउँछ । पुँजीवादी र साम्राज्यवादी देशहरू आफ्नो स्वार्थ सिद्ध गर्न या त्यस देशबाट केही पाउन या त्यस देशलाई उपयोग गरेर अन्यत्र हमला गर्न या घेर्न विकास र आर्थिक सहयोग गर्छन् भने समाजवादी देशहरू संसारका सबै स्वाधीन र सार्वभौम देशको विकासमा टेवा पु¥याउन सहयोग गर्छन् । टनकपुर, महाकाली सन्धि, लक्ष्मणपुर बाँध, रसियावाल खुर्दलोटन बाँध, महली सागर बाँध तथा तटबन्ध आदि विकास र आर्थिक सहयोगको प्रलोभनमा परेर गरिएका असमान सन्धिहरू हुन् । यसमा भारतको स्वार्थ छ । एमसीसी सम्झौता र नागरिकता विधेयकले नेपाललाई सिक्किम र फिजीकरण बनाउने पूर्वाधार सरकार तयार गर्दै छ । यो चिन्ताको विषय हो ।
नेपाल कुनै एक देशको भरमा बस्नु हुँदैन । कुनै एक देशको भरमा बस्दा त्यो देशले सामान रोक्न सक्छ, मालसामानको भाउ बढाउन सक्छ या अन्य सर्त पालना गरेमात्र सामान पठाउने कुरा उठाउन सक्छ । त्यस्तो बेला देशमा आधारभूत वस्तुको अभाव भएर हाहाकार हुनसक्छ । नेपाल–भारतको भरमा बसिरहेकै कारण यहाँ बेलाबखत सामान अभाव भएको हो । भारतले नेपालमा पटकपटक आर्थिक नाकाबन्दी गरेकै हो । भारत अरू देशसँग सम्बन्ध राख्न दिन चाहँदैन । सम्बन्ध राखेकै कारण विगतमा भारतले नेपालमा आर्थिक नाकाबन्दी गरेको थियो । देशको समस्या समाधान गर्न भारत अमेरिकासँग मात्र होइन चीन, पाकिस्तान, बङ्गलादेश, रुसजस्ता देशहरूसँग पनि हामीले सम्बन्ध राख्नुपर्छ ।
अमेरिका नेपालमा आफ्नो सेना राखेर चीनतिर हमला गर्न चाहन्छ भने दक्षिण एसियालाई पनि आफ्नो प्रभुत्वमा राख्न चाहन्छ । बेलायत पनि नेपालमा आक्रमण गर्ने देश हो, नेपाललाई हाहाकार बनाउने काम बेलायतले गरेको थियो । नेपालप्रति बेलायतको बक्रदृष्टि यथावत छ । अमेरिकाले अफगानिस्तानमा आधिपत्य जमायो । रुसबाट छुटेका गणतन्त्रहरूका प्राकृतिक स्रोत र साधन कब्जा गर्न, रुसमा हमला गर्न अमेरिका लागिपरेको छ । रुस–युक्रेन युद्ध अमेरिकाकै कारण भएकोमा शङ्का छैन । संयुक्त राज्य अमेरिकाले नेपाललाई आफ्नो चौकी बनाउने काम गरिरहेको छ । एमसीसी सम्झौता यसको उदाहरण हो । भारतले पहिले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सघाएको दाबी ग¥यो । त्यो दाबीसँगै कोसी, गण्डक र महाकाली नदी लियो । यसमा नेपाल सरकारले सहमति जनायो । भारतले गरिरहेको सहयोग रोक्ला, चित्त दुखाउला भनेर देशको नदीनालासमेत भारतलाई दिन नेपालका शासकहरू राजी भए । नेपालका नदीनाला लगेर आफ्नो देशको भूमिलाई हराभरा बनाउने भारतको लक्ष्य थियो । यसको लागि भारतले असमान सन्धि सम्झौता ग¥यो । यसरी नेपालका शासकहरू अनेक प्रलोभनमा फसे, असमान सन्धि सम्झौता गर्न अघि बढे । त्यही कारण देशको नदीनाला गुम्यो । देश पराधीन बन्यो । नेपाल सरकारको कमी कमजोरीको फाइदा विदेशी शक्ति राष्ट्र देशहरू भारत र अमेरिकाले लिए । तर, पनि देशका शासकहरू अझै चेतिएका छैनन् । शासकहरूले देश र जनताको चिन्ता नलिएकै कारण देशले विकास गर्न नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *