भर्खरै :

खाद्यान्न र तरकारीमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा सहकारीले ध्यान दिनु जरुरी

खाद्यान्न र तरकारीमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा सहकारीले ध्यान दिनु जरुरी

भक्तपुर, १२ कार्तिक । भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि. को २० औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उक्त सभाको उद्घाटन गर्दै सहकारी सङ्घ–संस्थाहरूले आर्थिक कारोबारलाई मात्र जोड नदिई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने र कृषि क्षेत्रलाई सुदृढीकरण गर्न ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कृषि क्षेत्रको विकासमा ध्यान दिन नसक्दा तरकारी र अन्नका लागि विदेशीको मुख ताक्नुपर्ने अवस्था आइरहेको अतिथि बिजुक्छेँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थाले ज्येष्ठ नागरिकहरूको हेरचाह गर्न आदर निकेतन तथा बालबालिका हुर्काउन शिशु स्याहार केन्द्रहरू खोल्नुपर्छ ।”
हरेक सहकारी सङ्घ–संस्थाले आर्थिक चेतना अभिवृद्धि गर्नुका साथै सदस्यहरूलाई राजनीतिकरूपमा सचेत पार्न राजनीतिक कक्षाहरू नियमित सञ्चालन गर्नुपर्नेमा अध्यक्ष रोहितले जोड दिनुभयो ।
राम्रा शिक्षकहरूबाट तल्लो कक्षादेखि महत्वपूर्ण विषयहरूमा थप कक्षाहरू चलाउन सके भक्तपुरको शैक्षिक क्षेत्र अझ राम्रो हुने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाले हरेक सहकारीहरूले सहकारीका सात सिद्धान्तहरू पालना गर्नुपर्ने र सहकारीको मर्म बुझेर अगाडि बढ्न सके राम्रा सहकारीको विकास हुने विचार राख्नुभयो ।
सहकारीमा पनि वर्ग हुने भएकोले समुदायमा आधारित सहकारीमा मात्र कारोबार गर्नुपर्छ, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले अहिले पनि कतिपय सहकारीहरू सदस्यहरूले बचत गरेको रकम लिएर भागिरहेको हुँदा सबै सदस्यहरू चनाखो हुनुपर्ने विचार राख्नुभयो ।
भक्तपुर नगरपालिकाले उच्च शिक्षाका लागि जनताका छोराछोरीहरूलाई पाँच लाखसम्म शैक्षिक ऋण प्रदान गरिरहेको र नियमविपरीत सञ्चालन गरिएका सहकारी सङ्घ संस्थाहरूको नपाले अनुगमन गरिरहेको पनि जानकारी गराउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष आशकुमार कोजूले सरकारले युवा रोजगारको नाममा युवाहरूलाई विदेशमा भन्दा स्वदेशमै स्वरोजगारी दिई देश विकासमा युवाहरूलाई संलग्न गराउनुपर्ने बताउनुभयो ।
संस्थाका सचिव चञ्चल सुवालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद सुवालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा आ.व. २०७९।०८० को अनुमानित बजेट, लेखा सुपरिवेक्षण समितिका संयोजक गणेशप्रसाद सुवालले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण प्रतिवेदन र लेखापरीक्षक प्रतिवेदन सभाले पारित गरेको थियो ।
संस्थाका अध्यक्ष शिवकृष्ण कोजूको सभापतित्वमा भएको सभामा संस्थाका उपाध्यक्ष न्हुछेराम कोजू, सभा तयारी समितिका संयोजक सत्यनारायण बासुकला, सुनिता घटुवा र मीरा दुगुजुले पनि बोल्नुभएको थियो ।
सभामा प्रमुख अतिथि बिजुक्छेँले संस्थाका असल बचतकर्ता, असल ऋणी, ज्येष्ठ नागरिक बचतकर्तालाई सम्मान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *