भर्खरै :

‘शैक्षिक अनुभव’ स्मारिका पूर्णाङ्क ११ हेर्दा

  • कार्तिक १३, २०७९
  • लक्ष्मीनारायण दुवाल, सेवा निवृत्त शिक्षक
  • विचार शिक्षा

सेवा निवृत्त शिक्षक समाज भक्तपुरबाट प्रकाशित ‘शैक्षिक अनुभव स्मारिका २०७९’ वर्ष ६ पूर्णाङ्क ११ पढ्ने अवसर मिल्यो । शिक्षा क्षेत्रमा जीवन बिताएका अनुभवी शिक्षकहरूको अनुभव प्रकाशित गरी नयाँ पुस्ताका शिक्षक–शिक्षिकाहरूलाई मार्गनिर्देश गर्ने उद्देश्यले निरन्तर प्रकाशित गर्न सफल भएकोमा सेवा निवृत्त शिक्षक समाजलाई सर्वप्रथम धन्यवाद व्यक्त गर्न चाहन्छु ।
२०७९ असोजमा प्रकाशित उक्त स्मारिकामा क्रिश्चिनाले लेख्नुभएको ‘शिक्षक तथा बुद्धिजीवी साथीहरूको नाममा ¤’ शीर्षकको लेख छ । उक्त लेखमा देश र राष्ट्रहरूको भविष्य शिक्षकहरूमा निर्भर हुने कुरा उल्लेख छ । नेपालका कतिपय राजनैतिक नेताहरू ‘नेपाल भारतको एक अङ्ग हो’ भारत ठूलो शक्ति हो, त्यसलाई चिढाउनु हुँदैन, मिल्दै जानुपर्छ भन्ने धारणा राख्थे । यस्तै खोटपूर्ण विचारको कारण नेपाल भारतको एकलौटी बजार बनेको छ र नेपालका सबै जलस्रोत तथा निर्माण योजनाहरू भारतीय एकाधिकार पुँजीको हैकममा गएको हो ।
भारतका नेताहरू नेपालको ‘अभिभावक’ र ‘शासक’ सम्झन्थे । उनीहरू नेपाललाई अन्य देशहरूसँग व्यापार गर्न दिन चाहँदैनन् । नेपालले अन्य देशसँग व्यापार गर्न खोज्दा भारतले नेपाललाई ‘पारवहन सुविधा’ वा बाटो दिँदैन । नेपालमा कुनै पनि देशको राम्रो, बलियो र सस्तो सामान बेच्न दिँदैन । यसरी भूपरिवेष्ठित देश नेपालको ‘पारवहनको अधिकार’ भारतले हनन गरिराखेको छ ।
नेपालका राजनैतिक नेताहरूको खोटपूर्ण धारणाविरुद्ध र भारतीय एकाधिकार पुँजीले नेपालमाथि गरिरहेको थिचोमिचोको विरुद्ध नयाँ पुस्ता तयार गर्न शिक्षक–शिक्षिकाहरू तन र मनले लाग्नुपर्ने स्मारिकामा उल्लेख छ ।
स्मारिकामा शिक्षक राजनले लेख्नुभएको ‘विदेशी दानापानीमा निर्भर मूलधारका नेपाली मिडिया’ शीर्षकको लेखमा अमेरिकाको खरबपति जर्ज सोरोस भन्ने व्यक्तिले नेपालका ठूल्ठूला पत्रिका तथा कलाकारहरूलाई आर्थिक सहयोग गरिरहेको र नेमकिपालगायतका कम्युनिस्ट पार्टीका क्रियाकलापको समाचारको सम्प्रेषण नगर्ने वा दबाउने काम गराइरहेको उल्लेख छ ।
स्मारिकामा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता एवम् नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँकी जीवन सङ्गिनी, कर्तव्यनिष्ठ शिक्षिका स्वर्गीय शोभा प्रधानको जीवनी मार्मिक छ । शोभा प्रधानले आफ्नो जीवनमा भोग्नुपरेको दुःख, कष्ट र शिक्षा क्षेत्र तथा पार्टीको लागि गर्नुभएको योगदानबारे उल्लेख छ ।
स्मारिकामा प्रकाशित ‘एब्रिन्ने ग्रातियल मोरेलीको आदर्श समाज’ लेख महत्वपूर्ण छ । मोरेली पनि एक शिक्षक थिए । उनी काल्पनिक समाजवादी थिए । उनले एक आदर्श समाजको कल्पना गरी ‘प्रकृतिको विधान’ (ऋयमभ या ल्बतगचभ) नामक लेख प्रकाशित गरे । उनको लेखमा समाजवादी शासनका सिद्धान्त, ब्रह्माण्डमा देखेको खोट, लोभलालच हुन् भन्ने कुरा उल्लेख छ । ‘असल व्यवहार पाउन असल व्यवहार गर’, ‘आफूले नपचाउने व्यवहार अरूलाई पनि नगर’ जस्ता मानव व्यवहारको लागि व्यवहारिक तथा नैतिक कुराहरू र कृषि, निर्माण, पहरेदारी, प्रशासनिक, कानुन विषयमा महत्वपूर्ण कुराहरू उल्लेख गरिएको छ ।
शिक्षक सजीव श्रेष्ठले भक्तपुरका अग्रज शिक्षक सूर्यमान बिजुक्छेँले शिक्षा क्षेत्रमा गर्नुभएको योगदानबारे लेख्नुभएको छ । शिक्षक सूर्यमान बिजुक्छेँले जीवनमा गर्नुभएको काम शिक्षकहरूलाई मार्गनिर्देशक या पथप्रदर्शक हुने देखिन्छ ।
शिक्षक विश्वनाथ प्रजापतिले ज्येष्ठ नागरिकको आयु लम्ब्याउन सधैँ मन खुसी हुनुपर्ने र चिन्तामुक्त वातावरण दिनुपर्ने कुरा लेख्नुभएको छ ।
पूर्वसचिव कृष्णहरि बास्कोटाले लेख्नुभएको ‘ज्येष्ठ नागरिकका दस कुरा’ शीर्षकको लेखमा ज्येष्ठ नागरिकहरूलाई हुने दुव्र्यवहार निराकरण गर्न दस वटा उपायहरू उल्लेख गर्नुभएको छ । ज्येष्ठ नागरिकको मौलिक सम्पत्तिमा निज जीवित छउञ्जेल अंश नलाग्ने, विपन्न आमाबुबालाई छोराछोरीले माना चामल भराउने, सन्तान नभएका ज्येष्ठ नागरिकको जिम्मेवारी राज्यले लिनुपर्ने र कानुन हुनुपर्नेजस्ता उहाँले दस उपायहरू लेख्नुभएको छ ।
२०७९ भदौ १३ गते नागरिक दैनिकमा प्रकाशित जल तथा सीमाका ज्ञाता रत्नसंसार श्रेष्ठको ‘तदर्थवादी नागरिकता नीति’ शीर्षकको लेखमा नेपालजस्तो गरिब तथा भूपरिवेष्ठित राष्ट्रले कस्तो नागरिक नीति लिनुपर्छ र नेपाल सरकारले उदार नागरिकता नीति लिएको सम्बन्धमा महत्वपूर्ण विचार लेख्नुभएको छ ।
शिक्षिका चन्द्रकान्ता प्रजापतिले आफ्नो ३० वर्ष शिक्षण सेवामा बिताएको अनुभव लेख्नुभएको छ । अर्की खोटाङ जलेश्वरकी निवृत्त शिक्षिका कमला राजभण्डारीले ‘फेरि ती विद्यार्थीहरूलाई भेट्न पाए… ।’ शीर्षकमा खोटाङजस्तो पहाडी क्षेत्रमा डेढ घण्टा उकालीओराली गर्दै नेपाली भाषा नबुझ्ने, अनुशासन भन्ने थाहा नभएका विद्यार्थीहरूलाई पढाएको अनुभव पढ्दा नेपाल कतिको विकट छ र जनता कति निम्न स्तरका थिए भन्ने थाहा पाउन सकिन्छ ।
जनकवि चन्द्रबहादुर उलकले आफ्नो बाल्यकालका साथी, शिक्षक तथा सङ्गीतकार रोशनकुमारसँगको बाल्यकालदेखि वृद्धकालसम्मको जीवनको चर्चा रोचक ढङ्गमा लेख्नुभएको छ । शिक्षक ज्ञानसागर प्रजापतिले पनि ‘वागीश्वरी स्कूलमा रोशनकुमार’ को शीर्षकमा शिक्षक रोशनकुमार सरसँग विद्यालयमा भएका मिठा–मिठा अनुभवहरू लेख्नुभएको छ । शिक्षक बुद्धिबहादुर शाहीले ज्योति मा. वि. को विगतको अवस्थादेखि वर्तमान अवस्थासम्मको वर्णन गर्दै आफ्नो ३० वर्षको अनुभव लेख्नुभएको छ ।
ज्ञानसागर प्रजापतिले ‘परीक्षाका कथाहरू’ शीर्षकको अर्काे लेखमा वागीश्वरी मा. वि. को एस. एल. सी. परीक्षा केन्द्रमा निरीक्षणको लागि आएका निरीक्षकलाई केन्द्रबाट निकालेको वास्तविक घटना रोचक किसिमले लेख्नुभएको छ ।
प्रा. कोमलवदन मल्लको सङ्घर्षमय जीवन यात्रा र शिक्षक लक्ष्मीभक्त लासिवाको ४३ वर्ष शिक्षा क्षेत्रमा गरेको योगदान वर्तमान शिक्षकहरूको लागि उपयोगी नै हुनेछ ।
निवृत्त शिक्षक न्हुछेभक्त कवांले माओवादी द्वन्द्वकालमा आदर्श आजाद मा. वि. मा माओवादी युवाहरू आई चन्दा माग्न आउँदा भएको वातचितको विषयमा मार्मिक किसिमले प्रस्तुत गर्नुभएको छ । शिक्षक रामगोपाल कर्माचार्यले शिक्षकदेखि प्र.अ. सम्मको जिम्मेवारी लिई अति कमजोर विद्यालयलाई उकास्न योगदान गरेको अनुभव पठनीय छ ।
निवृत्त प्र.अ. नाति कवांले लेख्नुभएको २०३१ साल (सन् १९७५ मे १५) मा विस्तारवादी भारतले सिक्किमलाई भारतमा विलय गर्दा त्यसको विरुद्धमा भक्तपुर क्याम्पसबाट जुलुस र प्रहरीसँग मुठभेद भएको सङ्घर्षपूर्ण घटनाले युवाहरूलाई सङ्घर्षको साहस मिल्ने देखिन्छ ।
राम्रो र स्तरीय विद्यालय बनाउन प्र.अ. शिक्षकहरूको ठूलो भूमिका हुने कुरा शिक्षक तुल्सीराम ग्वाछाले लेख्नुभएको छ । प्र.अ.को कुशल नेतृत्व, शिक्षकहरूको लगनशीलता, विद्यार्थीहरूको मेहनत र अभिभावकको सहयोगले मात्र राम्रो स्तरीय विद्यालय बन्ने धारणा उहाँले ‘हाम्रो विद्यालय राम्रो विद्यालय’ शीर्षकमा लेख्नुभएको छ ।
शिक्षिका सुवर्णकेशरी श्रेष्ठले दस वर्षदेखि १९ वर्ष उमेरका किशोरावस्थाका विद्यार्थीहरू यौन विकृति तथा कुलतमा फस्न सकिने हुँदा निगरानी बढाउनुपर्ने कुरा लेख्नुभएको छ । खोटाङका निवृत्त शिक्षक भोजराज बस्नेतले नेपालको सामुदायिक विद्यालयका दुरवस्था र सरकारको समानुपातिक दृष्टिदोषको विषयमा लेख्नुभएको छ । त्यस्तै शिक्षक विष्णु महतले आफ्नो शिक्षण अनुभव लेख्नुभएको छ ।
वागीश्वरी मा.वि.का प्र.अ. मोहन प्रजापतिको संस्मरण ‘वागीश्वरी स्कूलमा मोहन सर’ पुस्तकको समीक्षा सुधा प्रजापतिले गर्नुभएको छ । यसमा मोहन सरको शैक्षिक जीवनको सार पाउन सकिन्छ ।
यस स्मारिकामा स्वास्थ्यसम्बन्धी महत्वपूर्ण लेख पनि प्रकाशित गरिएको छ । यसले निवृत्त तथा कार्यरत शिक्षक र अन्य पाठकहरूलाई स्वास्थ्य स्वस्थ राख्न सजग गराएको छ । डा. प्रकाशराज रेग्मीको ‘मधुमेह र मुटु : सबैले जान्नुपर्ने १२ महत्वपूर्ण कुराहरू, डा. सुमी चोलेख्वको ‘के स्वाँस्वाँ हुनु दीर्घ दमखोकीमात्रै हो त ? र शिक्षक विश्वराम कवांका ‘हिँडेर के फाइदा ?’ स्वास्थ्यसम्बन्धी ज्ञानवद्र्धक लेखहरू हुन् । स्मारिकाको अन्तिममा निवृत्त शिक्षक विष्णुभक्त राजचलले लेख्नुभएको ‘सूर्य के हो ?’ पनि महत्वपूर्ण छ । शिक्षक न्हुछेरत्न बुद्धाचार्यको ‘मास्टर जगतसुन्दर मल्लप्रति !’ एक कविता छ ।
स्मारिकामा विभिन्न विद्यालयका निवृत्त शिक्षक तथा प्र.अ.हरूले लेख्नुभएको २६ वटा लेखहरू समाहित गरिएका छन् । स्मारिकामा शैक्षिक अनुभव, देशको स्वतन्त्रता, सार्वभौमिकता, नीति नियम, स्वास्थ्यसम्बन्धीका रचनाहरू महत्वपूर्ण छन् । हालसालै निवृत्त हुनुभएका नौ जना शिक्षक–शिक्षिकाहरूको छोटो परिचय पनि प्रकाशित गरिएको छ । उमेर पुगेका पाठकहरूले पढ्न सक्ने अक्षर, राम्रो कागज र बाक्लो कभर तथा आकर्षक फोटो छ । स्मारिकाको मूल्य रु. १५० उपयुक्त छ । यसरी नै नियमित प्रकाशनको आशा गर्दै प्रकाशकमण्डललाई धन्यवाद व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *