भर्खरै :

देशको नीति बनाउने ठाउँमा इमानदार र देशभक्त पार्टीका प्रतिनिधिहरूलाई पठाउनुपर्नेमा जोड

देशको नीति बनाउने ठाउँमा इमानदार र देशभक्त पार्टीका प्रतिनिधिहरूलाई पठाउनुपर्नेमा जोड

भक्तपुर, १६ कार्तिक । सहकारी अध्ययन समाज नेपालको आयोजनामा वर्तमान अवस्थामा सहकारीको भूमिका विषयमा बुधबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सहकारी संस्थाले वित्तीय कारोबारमामात्र सिमित नगरी उत्पादनमूलक कार्यक्रममा सहकारी लाग्नुपर्ने बताउनुभयो ।
देशका युवाहरू विदेश पठाउने शासक दलको नीतिले कृषि उत्पादनमा ¥हास आई अर्बौँको खाद्य सामग्री विदेशबाट खरिद गर्नुपर्ने बाध्यता भएकोले सहकारीले कृषि उत्पादनमा जोड दिनुपर्छ, उहाँले भन्नुभयो ।
सचिव सुवालले दलाल पुँजीपतिहरूको हातमा अर्थतन्त्र भएकोले देशको अर्थतन्त्र खस्केको हुँदा देशको नीति बनाउने ठाउँमा इमानदार र देशभक्त पार्टीका प्रतिनिधिहरूलाई पठाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “एमसीसी र नागरिकता विधेयक पास गर्ने एमाले, माओवादी र काङ्ग्रेस भारतीय विस्तारवादको चङ्गुलमा फसेका छन् । देशमा मल कारखाना खोल्ने र शिक्षा–स्वास्थ्य निःशुल्क गर्ने बहुसङ्ख्यक जनताको सेवा हुने कार्यमा शासक पार्टीहरूको ध्यान पुगेन ।” नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले देश बर्बाद भएमा सहकारी पनि बाँकी नरहने धारणा राख्दै सहकारीकर्मीहरूले समाज र देशको बारेमा चिन्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारीको नाममा ठगी गर्ने प्रतिनिधि नीति निर्माण गर्ने थलोमा पठाउनु हुन्न । समाजवादी देश चीनमा देश सञ्चालन गर्ने र नीति निर्माण गर्न देशभरबाट विज्ञ र राजनीतिज्ञहरू छनोट गरिने समाजवादी प्रजातन्त्रको अभ्यासबाट नेपालले शिक्षा लिनुपर्छ ।”
विदेशीहरूलाई नागरिकता दिनु भनेको देश बर्बाद गर्नु हो । यहाँका व्यवसायीहरू नाङलो पसमा परिणत गर्नु हो । कम्युनिस्टको खोलमा एमाले, माओवादीले छलछामको राजनीति गरी विदेशीको इसारामा देश सिध्याउन खोजिरहेका छन्, केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
समाजका अध्यक्ष केदार खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष कृष्णगोविन्द लाखाजूले वर्तमान अवस्थामा सहकारीको भूमिकाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा राधेश्याम सुवाल र कृष्णश्वरी प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *