भर्खरै :

दैलेखको मेहेलतोलीमा कोणसभा

दैलेखको मेहेलतोलीमा कोणसभा

दैलेख, १८ कार्तिक । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति क्षेत्र नं. १ को आयोजनामा भगमतीमाई – ३ मेहेलतोलीमा कोणसभा सम्पन्न भयो ।
कोणसभामा नेमकिपा दैलेखका उपाध्यक्ष तथा दैलेख क्षेत्र नं. १ (क) का उम्मेदवार जगतबहादुर ओलीले मङ्सिर ४ गते हुने निर्वाचनमा जनताले देशघाती दलहरूलाई पराजित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “समाजवादी व्यवस्थामा मात्र जनताले वास्तविक मुक्ति प्राप्त गर्नेछन् । हामी समाजवादी व्यवस्थाका निम्ति सङ्घर्षरत छौँ,” उहाँले भन्नुभयो ।
प्रतिनिधिसभा दैलेख क्षेत्र नं १ का उम्मेदवार प्रकाश गुरुङले आसन्न निर्वाचन ऐन कानुन बनाउने निर्वाचन भएको जिकिर गर्नुभयो । व्यापक कामदार जनताको पक्षमा ऐनकानुन बनाउन नेमकिपाले संसद्लाई सङ्घर्षको थलो बनाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “एमसीसी र एसपीपीजस्ता देशघाती सन्धि–सम्झौताहरू गर्न अघि सार्ने शासक दलहरूलाई जनताले यो निर्वाचनमा दण्ड दिनुपर्छ ।”
कोणसभामा निर्वाचन परिचालन समितिका सदस्य गंगप्रसाद न्यौपाने तथा नेक्राविसङ्घका उपाध्यक्ष सुरेश परियारले पनि बोल्नुभएको थियो । प्रचारप्रसारको क्रममा भगमतीमाई गाउँपालिकाको बेस्तडा बजारमा घरदैलो तथा पर्चा वितरण सम्पन्न भयो ।
नौमुले बजारमा कोणसभा र पर्चा वितरण
दैलेख । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको लागि दैलेखमा नेमकिपाले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ ।
निर्वाचन परिचालन समिति दैलेख क्षेत्र नं. १ को आयोजनामा नौमुले बजारको पुलचोकमा कोणसभा सम्पन्न भयो । कोणसभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले म्यानपावर कम्पनीमार्फत नेपाली युवाहरूलाई शासक दलकै कार्यकर्ताहरूले बेचिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पटकपटक सांसद र मन्त्री भएकै उम्मेदवारहरूले कस्तो कानुन बनाउने भन्दा पनि विकास निर्माणको झूटो आश्वासन बाँडेर जनताको आँखामा छारो हाल्दै छन् ।”
कार्यक्रममा प्रदेशसभा सदस्य १ (ख) का उम्मेदवार लक्ष्मीकुमारी सिंहले जनताले निर्वाचनलाई वर्गसङ्घर्षको रूपमा बुझ्न आवश्यक रहेको औँल्याउनुभयो ।
सभामा नेमकिपा दैलेखका उपाध्यक्ष जगतबहादुर ओलीले देशघाती एमसीसी सम्झौताबारे प्रकाश पार्नुभयो । निर्वाचन प्रचारप्रसार समिति क्षेत्र नं. १ दैलेखको आयोजनामा नौमुलेका जनताबिच पर्चा वितरण भयो । त्यसैगरी नौमुले गापाको बालुवाटार बजार तथा नारायण नपा ४ भैँसेखोर बजारमा घरदैलो तथा पर्चा वितरण कार्यक्रम भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *