भर्खरै :

ए, मेरा रातहरू !

ए, मेरा रातहरू !

तिमी मेरा आँखामा, चालै नदिई
मेरा हातबाट तिमीले, मेरो कलम थुत्छौ
बिस्तारै मलाई तिमी ओछ्यानमा पु¥याउँछौ ।
ए रात,
मेरो निद्रालाई कहाँ लुकायौ ?
मेरै मायालाई कहाँ लुकायौसँगै ?
कुन पहाडको पछाडि लुकायौ,
कुन जङ्गलको पर्दामा लुकायौ
वा कुनै हिमालको कापमा लुकायौ ?

ए रात,
म तिमीसँग सोध्दै छु–
मेरो कल्पना खोइ,
मेरो सपना खोइ,
मेरी मायालु खोई, रात,
तिमीले कहाँ लुकायौ ?

ए रात,
मैले मेरी मायालुलाई
छाँगा र छहरामा देखेँ
बग्दै गएको खोला–नालामा
छमछम गर्दै बगेको सुनेँ,
सायद तिनी मलाई खोज्दै थिइन् ।

ए रात, तिमी मेरी मायालुलाई
कहाँ लुकायौ, ए मेरो रात ।

हे रात, तिमीले दुःख दियौ मलाई,
तिमी अँध्यारोमा लुक्यौ
मेरो आँखामा तिमी निद्रा बनी
सतायौ, अनि तिमी
सपना बनी हर रात आयौ ।
मेरो सपनालाई तिमीले चुँडाइ लग्यौ
मेरो कल्पनालाई छेक्यौ,
ए रात, तिमी निर्दयी नबन ।

ए रात,
हरेक रात मेरो तकिया
कसले भिजायो ?
रातले कोठाको कुनामा
लुक्दै भन्यो–
तिम्रो मनभित्रको आँखासँग सोध
तिम्रो माया तिम्रो विपनामा खोज
आशा, उत्साह र प्रयत्नमा खोज ।

ए रात, तिमी भाग्यौ– एक्कासि
चराचुरुङ्गीलाई छोडेर – यहाँ !
चिरबिर गर्दै भने तिनीहरूले–
उठ, अबेला भयो, उठ, अबेला भयो
तिमी आफ्नो कल्पना र सपनालाई
विपनामा खोज, तिम्रो भविष्य ?
बिहानको ९ बजे झोला बोकेकी
सुदूर गन्तव्यमा जाँदै गरेका
नानीहरूमा खोज,
१० बजे पोखरीको डिलमा तिमीलाई
तिम्रो प्रियले पर्खिरहेकी देख्नेछौ ।
त्यही तिमीले मन्दिरबाट फर्केका
पुजारी र भक्तालुहरूको ढक्कीको
अक्षता र फूलहरूको मगमगाउँदा
वासनामा तिम्रो मायालुसँग भेट्नेछौ
तिनीले नै तिम्रो निधारमा
मायाको रातो टीका लगाइदिनेछिन् ।

ए रात, तिमीलाई मकहाँ कसले पठायो ?
एउटा पत्र मैले तकियामा पाएँ बिहानै
लेखिएको थियो–
तिम्रो आशा त तिम्रै ‘भविष्य’ नानीसँग छ
तिनीहरू त भोलि पर्सि
खितखित हाँस्दै स्वर्गीय पोखरीमा
तिमीलाई ‘बाबा’ भनी बोलाइरहनेछन् ।

ए रात !
हो त भोलि रगतले कोरेका
ती देश र राज्यका सीमाहरू
लेख्ने कापीका धर्का जस्तामात्रै रहनेछन्
बिचबिचमा चौबाटाहरू देशका
ट्राफिक बत्तीजस्ता रङ्गीन बत्तीहरूले
सेनाका चौकीहरूका सङ्केतहरूमात्र बाँकी देख्नेछौँ ।

ए रात,
तिमीले मलाई रुवायौ
मेरी प्रियालाई लुकाएर
तर त्यो दिन आउनेछ, एकदिन
मेरो ‘भविष्य’ नानीसँगै
सूर्य अस्ताउँदा अस्ताउँदै
आँखै शीतल हुने, मनमा
रसिला भावहरू पलाउने
कृतिम प्रकाश स्वतः
छरिने छन् यो भूमण्डलमा ।

ए रात,
विदेशी पल्टनबाट आफ्ना मायालु
नफर्केका विरहका गीतहरू सुन्ने छैनौ
७० लाख युवाहरू अरब, मलेसिया,
कोरिया, जापान, अस्ट्रेलिया र अमेरिकाबाट
घाइते, बिरामी र बुढो भएर फर्केका
आफ्ना मायालुको बिछोडमा
पश्चातापका व्यथाहरू सुन्नुपर्ने छैन
आफ्नै झिलीमिली देशमा
सबै योग्यताअनुसार आफ्नै देशमा काम पाएर !

ए रात, मेरा दुःखका कारण
भोलि समाजका कालाहरू बाँकी रहनेछैनन्
कसैसँग चोरेको सम्पत्ति रहनेछैनन्
चुसेका सम्पत्ति पनि, उत्पादनका साधन
रिसाउने र झगडा गर्ने बीउ रहनेछैनन्
डाही प्रतिस्पर्धा स्वार्थको रहनेछैनन्
सबै कामलाई कर्तव्य सम्झने दाजुभाइ
दिदी–बहिनी हुनेछन् ।

ए रात !
तिमी नरहेजस्तै त्यो समाजमा
एक वर्गले अर्को वर्ग र राज्यलाई
दबाउने राज्य हुनेछैन,
खालि सञ्चालक जनताकै हुनेछ
समितिहरू हाकिम होइन
न त यातना दिने प्रहरी र
झ्यालखाना, पुर्पक्षका बन्दी ।

ए रात !
थाहा छ तिमीलाई त्यो समाज ?
अधिकारभन्दा कर्तव्य मर्यादित हुन्छ
तिम्रो कोटमा अरुले नै
सानो फूल सिउरिनेछ– हाँस्दै साथीले ।

ए रात,
पारदर्शी शिक्षाजस्तै समाज हुँदा त्यो
पछुताउनुपर्ने कथा हुनेछैन त्यहाँ
स्वयम् ज्ञानी सबै– स्वयम् समाजमा
पीडाहीन इच्छा मरण, जलसमाधी
लीन हुने– महानिर्माणको भावनाले
सुखद बिदाइको आदर्श समाज हुनेछ ।

ए रात !
मैले त्यही समाजमा उनीलाई पाउनेछु
मेरी प्रिया, जसलाई तिमीले लुकाएका थियौ ।
चौबिसै घण्टा प्रकाशमय समाजमा तिमी पनि रहनेछैनौ, रात !
रात, तिमी पनि प्रकाश भएर जन्म लिनेछौ ।
१०
ए रात !
तिम्रो अन्त सँगै
नयाँ युग सुरु हुन्छ !
ती चराहरूले सोध्नेछन्
मेरा आँसुहरूबारे–
म भन्ने छु–
मेरा ती दुःखका दिन र रातका
आँसुहरू
नयाँ युगका अभिनेता र
कलाकारहरूको आँखामा
सबैले देख्नेछन्–
संसारका दुःखान्त नाटकहरूका
पात्रहरूका अभिनय गर्दा देखिनेछन्
काव्य र महाकाव्यहरूका
सुखान्त र दुःखान्तका पात्रहरूका
आँखाहरूमा देखिने
आँसुहरू हुनेछन्
जहाँ त्यस रङ्गमञ्चलाई
कृतिम रात बनाएका हुनेछन् !
असोज २०७९

Leave a Reply

Your email address will not be published. Required fields are marked *