भर्खरै :

शासक दलहरूबिच गठबन्धन : विचारशून्य राजनीति

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा जनतामा राजनीतिप्रति चासो बढ्दै छ । शासक दलहरूले प्रजातन्त्रको नाउँमा गरिरहेको स्वेच्छाचारी कामको परिणाम आज जनतामा राजनीतिप्रति नै वितृष्णा आएको छ । शासक दलहरूबीच गठबन्धन गरेर निर्वाचन लड्ने कुरा बाहिरिएसँगै कार्यकर्ताहरूमा असन्तोष र जनतामा निराशा छाएको छ । जनता आफूले चाहेको दल र उम्मेदवारलाई मत दिनबाट बञ्चित हुँदै छन् भने कार्यकर्ताहरू हिजो वर्ग दुश्मन घोषणा गरी सङ्घर्ष गरेका दल र उम्मेदवारहरूलाई भोट माग्न र दिन बाध्य छन् । विचार र सिद्धान्तलाई त्यागेर जसरी पनि जित्ने नीतिको परिणाम आजको स्थिति हो । शासक दलहरूको अलगअलग गठबन्धनको कारण प्रजातन्त्र र गणतन्त्रकै उपहास भइरहेको छ ।
बहुदलीय व्यवस्थामा दलहरूबिच प्रतिस्पर्धा हुने गर्छ । राजनैतिक दलहरूले एउटा न एउटा वर्गको प्रतिनिधित्व गरेको हुन्छ । वर्ग, धर्म, भाषा, जातीय वा क्षेत्रीय मुद्दालाई राजनैतिक दलहरूले आफ्नो पार्टीको स्थापनाको आधार बनाएको हुन्छ । उद्देश्य पूरा गर्न पार्टीले निश्चित विचार र सिद्धान्त बोकेको हुन्छ । त्यही विचारको आधारमा पार्टी निर्वाचनमा जान्छ र निर्वाचनमा बहुमत स्थानमा जित हासिल गरेमा सरकारमा गएर आफ्नो विचार र सिद्धान्तको कार्यान्वयन गर्छ । उसले देखेको आदर्श समाज निर्माण गर्ने कोसिस गर्छ । निर्वाचनको बेला दलहरूबाट जारी गरिने निर्वाचन घोषणापत्रमार्फत कामको प्रतिबद्धता जारी गरेको हुन्छ । त्यसैले निर्वाचनलाई घोषणापत्रहरूबिचको लडाइँ पनि भनिन्छ । तर, निर्वाचनमा भाग लिंदैमा सबै दलहरू सरकारमा जान्छन् भने होइन । पुँजीवादी सरकारहरूले गरेका नराम्रा कामहरू जनताबिच उदाङ्ग्याउन र जनविरोधी विधेयक, प्रस्ताव वा अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू सजिलै पारित हुन नदिन तथा जनताको पक्षमा कानुन निर्माणको लागि जोड दिन पनि कतिपय दलहरूले निर्वाचनलाई उपयोग गरेका हुन्छन् ।
प्रजातान्त्रिक मूल्य र मान्यतालाई त्यागेर अहिले शासक दलहरू सिद्धान्तहीन गठबन्धन गर्दै छन् । राजनीतिलाई सेवाभन्दा पनि एकपटक लगानी गरी ५ वर्षसम्म देशको सम्पत्ति लुट्ने अवसरको रूपमा लिँदै छन् । नेका नेतृत्वको गठबन्धनमा माओवादी, एकीकृत समाजवादी, लोसपा र राजमो छन् भने एमाले नेतृत्वमा राप्रपा, राप्रपा नेपाल, जसपालगायतका दलहरू छन् । ती गठबन्धनको संरचना हेर्दा राजनीति विचार शून्य भएको देखिन्छ । विचार शून्य राजनीतिले देशलाई सही दिशामा अगाडि बढाउन सक्दैन ।
राजनीतिमा गठबन्धन वा संयुक्त मोर्चा हुने गर्छ तर त्यो विचार मिल्नेहरूबिच हुन्छ । साझा शत्रुलाई पराजित गर्नको निम्ति आवश्यकताअनुसार संयुक्त मोर्चा पनि हुने गर्छ । उद्देश्य प्राप्तिपछि फेरि आ–आफ्नै विचार र सिद्धान्तको राजनीतिलाई अगाडि बढाउँछ । पञ्चायती शासनकालमा निर्दलीयताको विरुद्ध बहुदलीय पक्षधरहरू एक भई आन्दोलन गरे भने २०५९ सालमा राजा ज्ञानेन्द्रले प्रतिगमन गरेपछि त्यसको विरुद्ध विभिन्न राजनैतिक दलहरूको संयुक्त मोर्चा गठन गरी आन्दोलनमा होमे र देशमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरे । त्यसपछि दलहरूले आ–आफ्नो सिद्धान्तबमोजिम पार्टी गतिविधिहरू गर्दै छन् । यो नै बहुदलीय व्यवस्थाको विशेषता हो ।
वर्ग र विचार मिल्नेहरूबिच गठबन्धन हुनु आश्चर्यको विषय होइन । एकले अर्काेलाई वर्ग दुश्मन घोषणा गरेकाहरूबिच २÷४ स्थान निर्वाचन जित्न अनैतिक गठबन्धन गर्नु भने ठूलो आश्चर्यको विषय हो । नेका र माओवादी वैचारिक रूपमा ठिक उल्टा धारका पार्टीहरू हुन् । आफूलाई वामपन्थी दाबी गर्ने दलहरूबिच गठबन्धन गरेको भए त्यो एउटा कुरा हुन्थ्यो तर यहाँ त एमालेविरुद्ध नेका, माओवादी, एकीकृत समाजवादी, लोसपा र राजमो एक ठाउँमा छन् । यो कुन माक्र्सवादी दर्शन, पुँजीवादी प्रजातन्त्रको मूल्य र मान्यतासँग मेल खान्छ ? सङ्घीयताको घोर विरोध गर्ने राजमो र सङ्घीयता नभई देश विकास हुँदैन भने माओवादी अहिले एकै ठाउँमा छन् । जातीय पहिचान दिएन भनेर मधेस आन्दोलन चर्काउने लोसपा र नेका सबै एकै ठाउँमा छन् । विचारहीन राजनीति गरेर जनतालाई झुक्याउने वा ठग्नेबाहेक अब यो गठबन्धनले जितेमा के पो गर्न सक्छ ?
एमालेले आफूलाई कम्युनिस्ट पार्टी दाबी गर्छ । कम्युनिस्टहरू सिद्धान्ततः गणतन्त्रवादी हुन्छन् । निर्वाचन जित्न एमालेले राप्रपा, राप्रपा नेपालसँग गठबन्धन ग¥यो । राप्रपा र राप्रपा नेपाल जसरी पनि देशमा राजतन्त्रको पुनःस्थापना गरी छाड्ने अठोटका साथ लागिरहेका पार्टीहरू हुन् । त्यसै गरी केही समय अघिसम्म जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एमालेको विरुद्ध नेकासँगै मिलेर सडक आन्दोलनमा थिए । संसद् विघटनको विरोधमा संविधानको रक्षाको लागि भन्दै केपी ओलीलाई प्रतिगामीको संज्ञा दिँदै सडकमा थिए उनी । अहिले केपी ओलीसितै मिलेर चुनाव लड्दै छन् । अझ संविधान जारीपछि उपेन्द्र यादव र राजेन्द्र महतो पहिचानको आन्दोलनको नाम दिई भारतबाट नाकाबन्दीसमेत गराएको नेपाली जनताले बिर्सेका छैनन् । यो गठबन्धन विदेशी प्रभुको खेल नभई कुन विचार र सिद्धान्तले काम गरेको हो भनेर बुझ्ने ?
गठबन्धनले जितेमा नेपालमा अब कस्तो शासन व्यवस्था आउँछ स्पष्ट छैन । चुनाव गठबन्धन गरी लड्ने पार्टीहरूले अलग–अलग घोषणापत्र जारी गर्दै छन् । यसबाट जनता झन् अन्योलमा परे । सरकारमा जानु भनेको घोषणापत्रलाई कार्यान्वयन गर्नु हो । नेका र एमालेको नेतृत्वको गठबन्धनले जितेमा कुन पार्टीको घोषणापत्र कार्यान्वयन हुने हो ? शासक राजनैतिक दलहरूले सिद्धान्तहीन गठबन्धन गरेकै कारण अहिले जनतामा दलहरूको सट्टा स्वतन्त्र उम्मेदवारहरूप्रति आकर्षण बढेको देखिन्छ । केही स्वतन्त्र उम्मेदवारहरू दलहरूको चर्को आलोचना गर्दै दलहरूको विकल्पमा उम्मेदवारी दिएको दाबी गर्दै छन् । बहुदलीय व्यवस्थामा दलको विकल्प दल नै हुन्छ । स्वतन्त्रहरूको कुनै ठोस विचार हुँदैन र विचारविनाका व्यक्तिहरू जतिसुकै जितेमा पनि तिनीहरूले काम गर्न सक्दैनन् । अन्ततः राजनैतिक दलहरूले नै देशको नेतृत्व गर्ने हो । राजनीतिलाई व्यापार बनाउनेहरूकै कारण अहिले मनाङबाट एकजना बदनाम व्यक्ति निर्विरोध निर्वाचित भयो । नेपालको राजनीति कतातिर जाँदै छ भन्ने एक उदाहरण हो यो । अबका निर्वाचनमा कतिजना ठेकेदार, भ्रष्टाचारी, तस्करहरू निर्वाचित हुनेछन्, त्यो हेर्न बाँकी नै छ । शासक दलहरूले निर्वाचन जित्नेलाई टिकट दिने नीति अवलम्बन गरेको देखिन्छ । करोडौँ खर्च गर्न सक्नेहरू त ठेकेदारहरू वा अवैधरूपमा अकुत सम्पत्ति थुपारी राखेकाहरू नै हुन्छन् । त्यस्ता व्यक्तिहरू सांसद र मन्त्री भएमा देशको हालत के हुन्छ ? २०४६ सालपछि अहिलेसम्मको दृश्यले सबैले बुझिसकेका छन् । सिद्धान्तहीन राजनीतिले अराजकतालाई प्रश्रय दिन्छ । त्यो देश डुब्दै जाने सङ्केत हो । यसबारे नेपाली जनता सचेत हुनु जरुरी छ ।
यस्ता अनैतिक राजनैतिक गठबन्धन अहिलेमात्रै होइन नेका र एमालेले २०४६ सालको आन्दोलनपछि पटक–पटक गरे । २०५३ सालमा एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए भने त्यसपछि नेकाको समर्थनमा सूर्यबहादुर थापा प्रधानमन्त्री बने । ३० वर्षसम्म जनतालाई दबाउने पूर्वपञ्चहरूले प्रधानमन्त्री बन्ने सपनामा पनि देखेका थिएनन् होला । तर, नेका र एमालेका नेताहरू एकले अर्काेलाई सिध्याउने होडमा लाग्दा पञ्चहरूलाई नेता बनाउने अवस्थामा पुगे । त्यसपछि कमल थापा पटक–पटक उपप्रधानमन्त्री र मन्त्री भए । अहिले एमालेको ‘सूर्य’ चिह्न लिएर कमल थापा निर्वाचन लड्नु पनि सिद्धान्तहीन राजनीतिकै सिलसिला हो । चन्द र थापालाई एमाले र नेकाले काँधमा चढाएर प्रधानमन्त्री बनाएको गलत नजिरकै यो निरन्तरता हो ।
नेपाल मजदुर किसान पार्टी कुनै पनि गठबन्धनमा नलागी आफ्नै पौरखले चुनाव लड्दै छ । देशघाती एमसीसी र नागरिकता विधेयकको विरोधमा एक्लै सडक आन्दोलन गर्दै आएको नेमकिपाले देशभर प्रत्यक्षतर्फ ५१ जिल्लामा १०९ जना उम्मेदवार उठाएको छ । विचारको राजनीति के हो र राजनैतिक दललाई कसरी विचारले निर्देशित गर्छ भने एक उदाहरण नेमकिपा बनेको छ । नेमकिपाले पदको निम्ति हिजो पनि कसैसँग सम्झौता गरेन र आज पनि एक्लै निर्वाचनको मैदानमा उत्रेको छ । सचेत नागरिकहरूले नेमकिपाको नीतिको खुलेर प्रशंसा गर्दै छन् ।
पुँजीवादी व्यवस्थामा संसद् भनेको पुँजीपति वर्गले गरेका अवैध कामहरूलाई वैधता दिने थलोमात्र हुने गर्छ । त्यसबाट काम गरी खाने वर्गको हित हुने सम्भावना छैन । तापनि कामदार वर्गीय पार्टीले निर्वाचनमा भाग लिनु समाजवादी क्रान्तिको तयारीको निम्ति आवश्यकमात्रै होइन अपरिहार्य छ भन्ने कुरा विश्व कम्युनिस्ट आन्दोलनले दिएको शिक्षा हो ।
संसद्मा गएर जनताको हितविपरीतका विधेयकहरू रोक्ने, अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू खारेजीको लागि लड्ने र जनपक्षीय कानुनहरूमा जोड दिने नीति नेपाल मजदुर किसान पार्टीले लिएको छ । यही नीतिलाई अझ सशक्त ढङ्गले अगाडि बढाउन नेमकिपाले निर्वाचनलाई उपयोग गर्दै छ ।
अहिलेका सचेत नेपाली नागरिक नेमकिपाको विचार, सिद्धान्त र अडानबारे परिचित छन् । ठूलठूला दलहरू सिद्धान्तहीन राजनीतितर्फ लागिरहेको बेला नेमकिपाले देशको राजनीतिलाई सही दिशानिर्देश गर्दै छ । निर्वाचनमा कति स्थान जित्नभन्दा पनि विचार र सिद्धान्तले निर्देशित पार्टीले मात्रै समाजलाई अगाडि बढाउन सम्भव छ । ठुला दलहरू विचारहीन राजनीतिमा अग्रसर भइरहँदा नेमकिपाले वैज्ञानिक समाजवादी विचार जनताको घरघरमा पु¥याउँदै छ ।
विचारविनाको भिडलाई राजनैतिक दल ठान्ने र बहुमत प्राप्त हुनुलाई नै देश लुट्ने लाइसेन्स बुझ्ने शासक दलहरूलाई हराउनु नै यतिबेला नेपाली नागरिकहरूको पहिलो कर्तव्य हो । भ्रष्टाचारी गुण्डा, तस्कर, बेइमान भनी सधँै गाली गलौज गर्ने ती नै गलत व्यक्तिहरूलाई पुनः विजयी बनाए त्यसमा जित्नेभन्दा पनि जिताउने जनता कम दोषी हुँदैनन् । त्यसैले नेपाली जनताले यो निर्वाचन देशभक्त र देशघातीबिचको लडाइँको रूपमा लिनुपर्छ र देशभक्त पार्टी र उम्मेदवारहरूलाई जिताउन सबै मिलेर लाग्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *