जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
भक्तपुर, १९ कार्तिक । संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को आयोजनामा ‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा शिक्षकको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विद्यार्थीलाई देशको परिस्थितिबारे सुसूचित गर्नुपर्ने र देश जोगाउन शिक्षकहरू जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
देश परनिर्भर हुँदै जानुमा अहिलेसम्मका शासक पार्टीहरू जिम्मेवार रहेको चर्चा गर्दै उहाँले मित्रराष्ट्रहरूले दिएका कलकारखानाहरू शासक दलहरूले कौडीको मूल्यमा बेचेर निजीकरणलाई जोड दिएको बताउनुभयो ।
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार अनुराधा थापामगरले मतदाताहरू प्रलोभन र आश्वासनमा भुल्न नहुनेमा जोड दिँदै कामदार जनताको पक्षमा कानुन बनाउनेलाई मत दिनुपर्ने जनताको अभिमत बढ्न थालेको विचार व्यक्त गर्नुभयो ।
एमसीसी र नागरिकता विधेयक पारित गर्ने देशघातीहरूलाई फेरि मत दिएर गल्ती दोहो¥याउन नहुने धारणा उहाँले राख्नुभयो ।
प्रदेशसभा २ ‘क’ का उम्मेदवार सरोजराज गोसाईले सक्षम उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्दै विसङ्गतिको विरूद्धमा शिक्षक उठ्नुपर्छ भन्नुभयो ।
प्रदेशसभा क्षेत्र नं. १ ‘ख’ का उम्मेदवार सुरेन्द्रराज गोसाईले शासक दलहरूलाई सजायस्वरूप नेमकिपालाई मत दिन अनुरोध गर्नुभयो ।
इसानका केन्द्रीय कोषाध्यक्ष उकेश कवांले आ–आफ्नो विद्यालय र टोल–समाजमा मतदानबारे सुसूचित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रदेशसभा क्षेत्र नं. २ ‘ख’ का उम्मेदवार रमेश वैद्यले मतदान गर्दा विवेक प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
इसान भक्तपुर जिल्ला अध्यक्ष पुरूषोत्तम ग्वाछाको सभापतित्वमा भएको उक्त कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा र कर्णबहादुर प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply