भर्खरै :

के कालापानीबाट भारतीय सेना फर्काउँछ ?

नेपाली भूमि कालापानीमा दशकौँदेखि भारतीय सेना तैनाथ गरिएको छ । पटकपटक सरकारको नेतृत्व गरेका नेका, एमाले र माओवादी केन्द्रले भारतीय सेना फर्काउने काममा पहल गरेनन् । निर्वाचनको सन्दर्भमा नेकाले कालापानीबाट भारतीय सेना हटाएरै छाड्ने कुरा उठाएको छ । निर्वाचनमा जनताको मत लिन सत्तासीन दलका नेताहरूले विगतमा यस्तै लोभलाग्दा कुरा बाँडेका थिए । अहिले पनि नेपाल–भारत सीमाका विभिन्न स्थानहरूमा भारतीय पक्षबाट सीमा अतिक्रमण भइरहेको छ । त्यसलाई कुनै पनि सरकारले रोक्ने प्रयास गरेको छैन ।
नवलपरासीको सुस्ता, झापाको भद्रपुर, सप्तरीको तिलाठी र लालापट्टि, पर्साको ठोरी, इलामको पशुपतिनगर तथा अन्य जिल्लाहरूमा भारतीय पक्षबाट नेपाली भूमि मिचिरहेको छ । कालापानीको मात्र होइन अन्य जिल्लाका स्थानमा भारतीय पक्षले पहिलेदेखि नेपाली भूमि मिच्दै आएको कुरा सरकारलाई थाहा छ । तर, ती सरकारहरू आफ्नो देशको भूमि पनि बचाउँदैनन् । भारतीय प्रहरीको अनधिकृत नेपाल प्रवेश, गैरकानुनी गतिविधि र समय समयमा भारतीय पक्षबाट नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भइरहेको कुरा पनि सरकारलाई थाहा छ । नेपाली जनताले विरोध गर्दागर्दै भइरहेको भारतीय पक्षको हस्तक्षेप र अतिक्रमणले भारतले नेपालको सार्वभौमिकता र अखण्डतामा आँच पु¥याइरहेको कुरा छर्लङ्ग छ ।
नेपाली भारतीय जनताको सम्बन्ध इतिहासजतिकै पुरानो छ । तर, विस्तारवादी भारतीय शासकहरू सार्वभौम देश नेपालमा ठूला र शक्तिशाली देशको अहङ्कार देखाएर नेपाली भूमि मिचेर नेपाललाई साँघुरो बनाउँदै छन् । भारतमा बेलायती साम्राज्यकालमा नेपाल र नेपाली जनता पीडित र आक्रान्त थिए । भारतमा बेलायती उपनिवेशवादी शासन समाप्त भए पनि नेपालप्रति भारत सरकारको नीति बेलायती उपनिवेशले लिएको नीतिभन्दा कम छैन । कालापानीलगायत नेपालमा रहेका जग्गा अतिक्रमण गर्न नदिन र ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा सीमाको वैज्ञानिक रेखाङ्कन गर्न के सत्तासीन दलहरू तयार छन् ? के निर्वाचनपछि बन्ने सरकारले मिचिएको नेपाली भूमि फर्काउँछ ? कालापानीबाट भारतीय सेना फर्काउँछ ?
कालापानी नेपालकै भू–भाग हो । भारतीय सेना नेपालमा पसेको हो, बसिरहेको हो । नेपाल सरकारले भारतीयलाई पस्न र बस्न दिनु हुँदैनथ्यो । सरकारको कमजोरीको कारण भारतीय सेनाले कालापानीमा क्याम्प बनायो र ठाउँ कब्जा गरिबस्यो । भारत सरकारले स्वविवेकपूर्वक भारतीय सेना कालापानीबाट फिर्ता लानुपथ्र्याे । तर, भारतले बलमिचाइ गरिरह्यो । यो भारतको प्रभुत्ववाद हो । यसरी भारतले नेपालमा प्रभाव क्षेत्र बढाइरहेको, सीमा अतिक्रमण र हस्तक्षेप गरिरहेको हुँदा नेपाली जनताले भारतलाई विस्तारवादी देशको संज्ञा दिइरहेका हुन् । सीमा मिचिरहने, भारतीय सेना नफर्काउने, विदेशीलाई पनि सजिलैसँग वंशजको नागरिकता दिने नागरिकता विधेयकको घटनाक्रमले नेपालप्रति भारतको गिद्धेदृष्टि भएको स्पष्ट हुन्छ । यसको निन्दा देशभरका देशभक्त दल र जनताले गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *