भर्खरै :

सत्यमोहन जोशीको ‘मजिपा लाखे’ को नाच हेर्दा

सत्यमोहन जोशीको ‘मजिपा लाखे’ को नाच हेर्दा

सत्यमोहन जोशी जीवनको पछिल्लो समयमा वाङ्मय शताब्दी पुरुषको नाममा चिनिनुहुन्छ । साहित्य, संस्कृति र इतिहासको क्षेत्रमा उहाँको योगदान बेजोड छ । लोकसंस्कृति तथा लोकसाहित्यमा उहाँ विशेष दख्खल राख्नुहुन्छ । उहाँले कैयौँ खोज तथा अनुसन्धान गरेर ठूलो गुण लगाउनुभएको छ । वरिष्ठ संस्कृतिविद् जोशीले नेपालभाषामा थुप्रै रचना र पुस्तक लेख्नुभएको छ । उहाँ एक सिद्धहस्त नाटककार पनि हुनुहुन्छ । उहाँका थुप्रै ऐतिहासिक तथा लोकसंस्कृतिमा आधारित नाटकहरू विभिन्न दबुमा मञ्चन भइसकेका छन् र पुस्तकको रूपमा प्रकाशित छन् । तीमध्ये एउटा नाटक हो मजिपा लाखे ।
काठमाडौँ उपत्यकामा अनेकौँ लोककथाहरू प्रचलित छन् । ती लोककथाका पात्रहरूमध्ये नेवार समुदायमा आजसम्म चिनिने, पुजिने एउटा पात्र हो लाखे । लाखे नाच नेवार समुदायबिच आजसम्म प्रिय छ र विभिन्न अवसरमा प्रदर्शन गरिन्छ । आज पनि लाखे नाच भनेपछि बालकदेखि वृद्धसम्म अभिरुचिपूर्वक हेर्छन् । लाखेको उत्पत्ति आजभन्दा पाँच सय वर्षअगाडि भएको विश्वास गरिन्छ । शताब्दी पुरुष जोशीले तयार गर्नुभएको नाटक ‘मजिपा लाखे’ मा लाखेको उत्पत्ति र लाखेको प्रेमकथा उजागर गरिएको छ । यस नाटकको पहिलो मञ्चन विसं २०७० मा भएको थियो । नाटककार जोशीका अनुसार आफ्नो मातृभाषा र राष्ट्रभाषा नेपालीमा आफ्नै सांस्कृतिक र आध्यात्मिक पहिचानलाई लोकशैलीमा प्रस्तुत गर्ने गरी केही नाटकहरू लेख्ने क्रममा यो पछिल्लो नाटक ‘मजिपा लाखे’ तयार पारिएको हो । पुस्तकका सम्पादक भन्छन्, “यो नाटकमा संस्कृति बोल्छ, इतिहास बोल्छ, अनि मानव र राक्षस समुदायबिच भएको शक्तिशाली प्रेम बोल्छ । विशेषगरी नेवार समुदायमा सदियौँदेखि पुजिँदै आएको लाखेको महत्व यसमा प्रकट भएको छ ।”


यो नाटक सात वटा दृश्यमा विभक्त छ । यो नाटक काठमाडौँको मजिपाट टोल वरपर घुम्छ र नाटकमा साधारण किसान परिवारको परिवेश समेटिएको छ । यस नाटकको नायक मजिपा लाखे हुन् । हेर्दा र सुन्दा नकारात्मक पात्र लाग्ने राक्षस कुलको पात्रलाई नायक बनाइनु यस नाटकको बेग्लै विशेषता मान्न सकिन्छ । नाटकमा नायिकाको रूपमा साधारण किसानकी छोरी–‘बाँलामैंचा’ लाई प्रस्तुत गरिएको छ । उनी हिसी परेकी युवती भएकैले सबैको आकर्षणको केन्द्र बन्छिन् । एउटी मानव कुलकी छोरीको राक्षस कुलको पात्रसँग प्रेम बसेको कथा आफैमा एउटा अचम्मलाग्दो छ । कसैले नगरेझैँ खेतालाको भेषमा आई आफ्नो खेतको काममा सहयोग गरेको हुनाले बाँलामैंचा विशेष प्रभावित हुन्छिन् र दुईबिच प्रेम बस्न थाल्छ । बाँलामंैचा एकाएक हराउँछिन् । आमा–बुबा पिर–सुर्ताले सुक्न थाल्छन् । टोलका युवकहरू उनको खोजीमा जान्छन् ।
बाँलामैंचा एउटा ओडारमा हुन्छिन् । ओडारमा पुगेपछि मात्र उनले वास्तविकता थाहा पाउँछिन् । लाखेको बिहेको प्रस्ताव सुनेर झस्किन्छिन् । उनी अस्वीकार गर्छिन् र घर फिर्ता पठाउन अनुनय–विनय गर्छिन् । अट्टाहास हाँस्दै लाखे भन्छन्, “…..हामी दुईबाट जन्मिएको सन्तान यो लोकलाई नै नयाँ उपहार हुनेछ । लाखे र मानवको मिश्रण ।” बाँलामैंचाले लाखेलाई रक्सी खुवाई लट्ठ पार्छिन् र उनको खोजीमा आएका युवाहरूसँग कुलेलम् ठोक्छिन् ।
बाँलामैंचा एकाएक घर फर्केपछि आमाबुबा र छरछिमेकी खुसी हुन्छन् । बहादुर युवकहरूलाई आभार व्यक्त गर्छन् । बाँलामैंचाका बुबाआमाले घरका झ्याल ढोका, चुकुलहरू सम्पूर्ण मर्मत सम्भार गरी सुरक्षा कडा पारे पनि लाखे पुनः घरसम्मै आइपुग्छन् । लाखे कसैलाई थाहा नदिई धेरै दिनसम्म बाँलामैंचाकै कोठामा बास बस्छन् । तर, एकदिन लाखे पक्राउ पर्छन् । लाखे र बाँलामैंचा दुवै पञ्च भेलामा प्रस्तुत गरिन्छन् । उपस्थितमध्ये सामान्यजनहरूले पक्ष–विपक्ष या सजाय दिनुपर्ने नपर्ने विषयमा राय दिन्छन् । लाखे आफ्नो तागत र योगदानको विषयमा अवगत गराएर प्रभाव पार्छन् । उनी असिना रोक्ने, प्रलयकारी बाढी रोक्ने र खेतहरू डुबान पर्न लागे रोक्ने आफूमा तागत भएको प्रस्ट पार्छन् । उपस्थित सबै छक्क पर्छन् । लाखे भन्छन्, “तपाईँहरूलाई आपत्विपत् पर्दा मलाई सम्झनामात्र गर्नुस्, तपाईँहरूको सुरक्षाको लागि म जुन बेला पनि हाजिर हुनसक्छु ।”
उपस्थितमध्येका गण्यमान्य गुरुजु अस्पष्टता चिर्दै भन्छन्, “…… ज्योतिषी शास्त्रमा तीन जात छन् – १) देवजात, २) मनुष्य जात र ३) लाखे नामको राक्षस जात । वास्तवमा यी तीन थरीको व्युत्पत्ति थलो एउटै हो । यिनीहरूको एकको अर्कोसँग अन्तरसम्बन्ध रहेको हुन्छ ।”
अर्को प्रसङ्गमा स्पष्ट पार्दै गुरूजु भन्छन्, “…वास्तवमा लाखे होस्, मनुष्य होस् अथवा देव होस्, छालाले मोडिएका शरीरभित्र एउटै तत्व विद्यमान भइरहेको हुन्छ । त्यो हो, चैतन्य तत्व, बोधी तत्व ।”
लामो मन्थन, बहसपश्चात् निर्णय सुनाउँदै थकाली भन्छन्, “लौ त म एउटा कुरा राख्छु । यो लाखे भाजुलाई एउटा कबुल गराउने । हाम्रो मजिपाट टोल भनेको उहिले परापूर्वकालमा नेपाल नेपालमण्डल पोखरी भइरहेको बेलामा यहाँको निकास खोलेर बस्ती बसाल्ने मञ्जुदेवको नामबाट प्रसिद्ध भइरहेको मञ्जुपत्तन । अब यो लाखे भाजु हाम्रो यो मञ्जुपत्तन भन्ने नाम अपभ्रंश भएर बनेको मजिपाट टोलको रक्षक भएर बसोस् । हामीकहाँ रोगव्याधी, महामारी केही हुन नपाओस् । हामीलाई आपत्विपत् पर्दा यो लाखे भाजुले हामीहरूको भलो गरून् । बरू, हामी यो लाखे भाजुलाई टोलभरिकै ज्वाइँनारान मानेर यिनलाई एउटा राम्रो घर बनाइदिऊँ ।” सबैले सहमतिमा ताली बजाउँछन् ।
अन्तिम दृश्य अलि पृथक लाग्नसक्छ । बेलायतको यात्रा गरी हालसालै स्वदेश फर्केर आएका श्री ३ महाराज जङ्गबहादुर मजिपाट लाखे भाजुको पूजा गर्न आएको परिवेशमा घटेका घटना देखाइएको छ । एक जँड्याहा पात्रमार्फत हास्यव्यङ्ग्यसमेत मिसाइनाले यो दृश्य थप रोचक लाग्छ । जँड्याहा जङ्गबहादुरलाई निर्भिकतापूर्वक भन्छन्, “ए जङ्गे म तेरो घोडा किन्छु । तैँले चढेर आएको च्यान्टे घोडा मलाई खुब मनप¥यो । भन त तेरो घोडाको मोल कति हो, कति पैसा पाए बेच्छस् ?”
जँड्याहाका अभिव्यक्तिले यो नाटकलाई थप रोमाञ्चकारी तथा रसिलो बनाएको अनुभूत हुन्छ । जङ्गबहादुरजस्तो शक्तिशाली श्री ३ सरकारले समेत अत्यन्त श्रद्धाभाव दर्शाएको, पूजनीय मानेको मजिपा लाखे स्वयम् कति शक्तिशाली होला भनेर दर्शक÷पाठकलाई एकचोटि घोत्लिन कर लाग्छ । जङ्गबहादुर आफूलाई बेलायत यात्राको क्रममा परेको आपत्विपत्मा साथ दिएको भन्दै मजिपा लाखेसामु लन्डनको बकिमघम दरबार नजिकको हीरा पसलबाट किनिएको चारवटा हीरा भेटीको रूपमा चढाउँछन् । इतिहास र वर्तमानबिच सम्बन्ध अटुट छ भनी देखाउन खोजिएको आभास यो प्रसङ्गबाट मिल्छ ।
लाखे भाजुलाई ढोग्दै जँड्याहा भन्छन्, “लाखे भाजु, म पनि आज तिमीसँग नाच्छु । तिमी लाखे, म तिम्रो झ्यालिञ्चा । दुवै बुर्लुक्कबुर्लुक्क उफ्रदै नाच्छन् । झ्यालिञ्चा ढलमलिँदै भाग्छ । लाखे झ्यालिञ्चालाई लखेट्न जान्छ । बाँलामैंचाको मर्मस्पर्सी तथा सन्देशवाहक भनाइबाट नाटकको पटाक्षेप हुन्छ, “प्रिय लाखे दाजु । तिम्रो शक्ति देखेर मानिसहरू लोभिएर तिमीलाई पूजा गर्न आतुर भए । शक्ति देखेपछि सबैलाई यस्तै हुन्छ । शक्ति नहुनेहरूले शक्ति हुनेहरूको पूजा गर्छन् । तर, शक्ति हुनेहरू यसरी भ्रममा पर्नु हुँदैन । मानिसको पूजामा हराउनेले आफ्नो कर्तव्य बिर्सन्छ ।”
नाटक सरल भाषामा लेखिएको छ । नेवार समुदायमा प्रचलित लोककथालाई आधुनिक समाजसँग जोड्ने प्रयास भएको छ । तर, थाहा छैन मञ्जुपत्तनका बासिन्दालाई आपत्विपत्मा सहयोग गर्ने, वाचा गर्ने, महामारी भगाउँछु भन्ने ‘लाखे’ ले वचन पूरा ग¥यो वा गरेन र सोझा सीधा जनताले ठगिएको अनुभव गरे या गरेनन् । छोरीहरूलाई मोहजालमा पार्ने ‘लाखे’ हरू भने पुजिन छोडेका छैनन् । आज फेरि ज्वाइँनारान ‘लाखे’ हरू निरन्तर नाच्दै छन् । मञ्जुपत्तन र मञ्जुपत्तन वरपर । कुखुरा, हाँस चोरेको अभियोगमा लाखेलाई डोरीले बाँधेर कारबाही गर्न हिजो तम्सिने मञ्जुपतनवासीहरूको अहिलेको हालखबर या मनस्थिति भने बुझ्नै बाँकी छ ¤ सायद ज्वाँइनारान ‘लाखे’ हरूको बारे अर्को नाटक गर्भमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *