लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
नेकाको नेतृत्वमा बनेको सरकार पुँजीवादी सरकार हो । यो पुँजीपतिवर्गको हितको निम्ति कामदार जनतामाथि शोषण गर्ने व्यवस्था हो । तर, शासक दलका नेताहरू यो पुँजीवादी गणतान्त्रिक व्यवस्था नै एक आदर्श समाजको रूपमा बखान गर्दै छन् । पुँजीवादी सरकारले पुँजीपतिवर्गकै हितको निम्ति शासन गर्छ । तर, जनताको प्रजातन्त्र मजदुर, किसान, प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुँजीपतिवर्गको शासन व्यवस्था हो । यस व्यवस्थामा प्रतिगामी र विदेशी पुँजीको थिचोमिचोको विरोध हुन्छ र देशलाई जोगाउँछ ।
संशोधनवादी र अराजकतावादीहरू पुँजीवादी गणतन्त्रलाई समाजवादकै एक रूप हो भनी भ्रम छर्दै छन् । जनताको प्रजातन्त्र वा जनताको गणतन्त्रले मात्र कामदार वर्गको जनताको हित हेर्छ । जनताको प्रजातन्त्र समाजवादमा पुग्ने तल्लो खुड्किलो हो । नेपाल मजदुर किसान पार्टी अहिले जनताको प्रजातन्त्रको निम्ति सङ्घर्षरत छन् । समाज परिवर्तनको मार्गमा हिँडेका कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू विदेशको सेवा होइन, बहुराष्ट्रिय पुँजीको दास होइन आफ्नै देशमा रहेर जनताको सेवा गरौँ भन्ने भावनाका साथ काम गर्छन् ।
शासकहरू देशमा विदेशी पुँजी लगानी गरेर देश विकास गर्ने कुरा फुक्दै छन् । विदेशी पुँजीले देशलाई उपनिवेश बनाउँछ । विदेशी पुँजी र विदेशी सहयोगको भरमा मुलुक चलाएर कसरी टिक्छ ? कति वर्ष टिक्छ ? विदेशी पुँजी र विदेशी सहयोगको भरमा शासकहरू बस्दा देशले प्रगति गर्न खोज्दैन । देश विकास गर्ने आधारहरू खोज्दैन । शासकहरूमा देशलाई आत्मनिर्भर गराउने विषयमा बुद्धिजाम भएपछि देश खोक्रोबाहेक अरू के हुनसक्छ ? त्यसैले विगत र अहिलेका शासकहरू अब नेपालमा आन्दोलनको आवश्यकता छैन भन्छन् । अहिले केको निम्ति सङ्घर्ष गर्ने भनी शासक दलका नेताहरू प्रश्न गर्छन् । आफूलाई कम्युनिस्ट पार्टी भन्ने, दलको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद भन्ने तर सङ्घर्ष किन गर्नुप¥यो भनी कम्युनिस्टकै सिद्धान्त र विचारमा धुलो छ्याप्ने काम गर्छन् । यसरी आफूलाई ठूलो कम्युनिस्ट भन्ने दलका नेताहरूले जनतामाझ झूटको राजनीति गरिरहेका छन् ।
कम्युनिस्ट पार्टीको उद्देश्य पुँजीपति वर्गको शासन सत्ता पल्टाएर कामदार वर्गको शासन सत्ता स्थापना गर्नु हो । कम्युनिस्टहरूले वर्गसङ्घर्ष छोड्दैनन्, वर्ग दुश्मनलाई मित्र ठान्दैनन् र मित्र ठानेर मिल्दैनन् । नेपाल मजदुर किसान पार्टी संसारका मजदुर र कम्युनिस्ट आन्दोलनबाट शिक्षा लिँदै समाजवादी क्रान्तिको निर्माण गर्न अघि बढिरहेको छ । नेमकिपाले निर्वाचनलाई वैचारिक लडाइँ त्यसै भनेको होइन । निर्वाचन पनि वर्गसङ्घर्षको रूप हो भनी त्यसै भनिएको होइन । नेमकिपाले जनतालाई समाजवादी गणतन्त्र र पुँजीवादी गणतन्त्रको भेदबारे शिक्षित गर्दै छ । नेमकिपा समाजवादी गणतन्त्रको प्रचार अभियानमा छ । मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनलाई पनि नेमकिपाले त्यसरी नै उपयोग गरिरहेको छ । यसबाट जनता जागृत हुन्छ, राजनीतिकरूपमा सचेत र सङ्गठित हुन्छ । अहिले जनतामा देशभक्तको भावना विकास हुनु, विदेशी थिचोमिचो, सीमा अतिक्रमण रोक्नु भन्ने विचार जनतामा जागृत हुनुको कारण नेमकिपाको देश जोगाउने अभियानले गर्दा हो । यसको लागि देशभक्त जनताले नेमकिपालाई सम्झनैपर्छ । देश र जनताको लागि नेमकिपाले गरेको गुण जनताले भुल्नुहुँदैन ।
Leave a Reply