निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २४ कार्तिक । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर चुनाव परिचालन समितिको आयोजनामा बुधबार नासमनामा चुनावी सभा भयो । उक्त सभामा भक्तपुर जिल्ला क्षेत्र नं. १ प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार प्रेम सुवालले दर्शनको आधारमा राजनीति चल्ने उल्लेख गर्दै नेमकिपाले माक्र्सवादी सिद्धान्तअनुसार राजनीति गर्दै आएको बताउनुभयो ।
एमाले–माओवादीले समाजवाद भन्दै उद्योग–कलकारखाना निजीकरण गरिरहेको चर्चा गर्दै उहाँले भाडाको सिपाही तयार गर्ने गोर्खा भर्तीकेन्द्र खारेज गर्नुपर्ने बताउनभुयो ।
भागबन्डामा केन्द्रित कम्युनिस्ट भन्ने ठूला दलहरूले देशघाती काम गरिरहेको सचिव सुवालले बताउनुभयो ।
शिक्षा, उद्योग, यातायात, कृषि आदि सबै क्षेत्रमा बिजुली चाहिन्छ । तर, एमालेका विष्णु पौडेलले नेपालमा बिजुली बढी निकाले कसले किन्छ भनी प्रश्न गर्नु देशको आवश्यकता नबुझ्नु हो, उहाँले भन्नुभयो ।
शासक दलहरूले विदेशी पुँजी भित्याएर देशलाई नै उपनिवेश बनाउने षड्यन्त्र गरिरहेको सचिव सुवालले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा क्षेत्र नं. १(२) का प्रत्यक्ष उम्मेदवार सुरेन्द्रराज गोसाईले नेमकिपाले देशका विभिन्न जिल्लाहरूको गाउँ–ठाउँमा चुनावी सभा गर्दै जनतालाई सचेत र शिक्षित पार्ने काम गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लेनिनवादी नीतिअनुसार नेमकिपाले चुनावको उपयोग गर्दै छ । एमाले, माओवादी र नेकाले जनतालाई सैद्धान्तिक र वैचारिक कुरा दिएका छैनन् । यो उनीहरूको नैतिक पराजय हो ।”
नेमकिपाले सडक र सदनमा पनि अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको विरोध गर्दै आइरहेको स्पष्ट पार्दै केन्द्रीय सदस्य गोसाईले संरा अमेरिकाले संसारका विभिन्न देशहरूलाई आतङ्कित पार्दै आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “साम्राज्यवादी र विस्तारवादीहरूको दलाल पार्टीहरूलाई हराउन नै नेपाल मजदुर किसान पार्टीले ५८ जिल्लाबाट उम्मेदवारी दिएको छ ।”
Leave a Reply