निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
मध्यपुर, २४ कार्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा नेपाल मजदुर किसान पार्टीको आयोजनामा मध्यपुर थिमिको बालकुमारीमा चुनावी जनसभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बहुमत जनताको हित हुने नीतिनिर्माण गर्नुभन्दा ठूला दलले विकास निर्माणको आश्वासन बाँडेर जनतालाई ढाँटिरहेको बताउनुभयो । उहाँले ३ प्रतिशतको थ्रेसहोल्डले दुईदलीय नयाँ पञ्चायत सुरुआत गर्न लागेको आरोप लगाउनुभयो ।
उहाँले खाद्यान्नदेखि अन्य भएभरको उत्पादन विदेशबाट ल्याउँदा देशमा समृिद्ध नआउने बताउँदै ठूला दलले संसद्लाई संसद्को रूपमा नलिएको अवस्थामा जनता सजग हुँदै नेमकिपाका उम्मेदवारप्रति जनविश्वास बढेको बताउनुभयो ।
उहाँले हजारौँ जनता मार्ने र टाउकाको मूल्य निर्धारण गर्ने तथा गराउने दुवै दल आज अनैतिक गठबन्धनमा रहेको विचार व्यक्त गर्दै भारतको विस्तारवादी नीतिले नेपाल नै नरहने अवस्थाबारे जनतालाई सचेत पार्नुभयो ।
उक्त सभामा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार अनुराधा थापामगरले राज्यसत्ताको नेतृत्वमा महिलाहरू पुगे पनि शोषित पीडित महिला हक अधिकारमा उल्लेखनीय कानुन निर्माणको भूमिका नभएको बताउँदै राज्यको ढुकुटी रित्याएर देशलाई आर्थिक सङ्कट गर्ने शासक दललाई खबरदारी गर्न नेमकिपाले उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले नेपालको नदीबाट उत्पादित जलविद्युत् जनताको आधारभूत आवश्यकतालाई सहजरूपमा पूरा गर्न ठूलो दललाई चुनौती रहेको बताउँदै रैथाने जनताको घरजग्गामा कुदृष्टि राखेर सडक विस्तारको नाउँमा विस्थापित गरेको बताउनुभयो ।
सिद्धान्तहीन भारत अनुकूल गठबन्धनले जनताको मतलाई हतियार बनाएर देशलाई ध्वस्त पार्ने बताउँदै उहाँले देश बचाउन नेमकिपालाई मत दिन अनुरोध गर्नुभयो ।
सो सभामा भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा (ख) का उम्मेदवार रमेश वैद्यले शिक्षा श्रमसँग जोडिएमा स्वरोजगारसँगै विदेश पलायनमा कामदार वर्गले भोग्नुपरेको अनेकौँ शारीरिक र मानसिक यातना सहन नपर्ने बताउँदै किसानको लागि आवश्यक बीउबिजन रासायनिक मल तथा आधुनिक कृषि सामग्रीको सहजरूपमा उपलब्ध गराएमा युवालाई अनुत्पादक दलाली पेसामा संलग्न हुनुपर्ने बाध्यता नहुने बताउनुभयो ।
उहाँले निर्वाचन विश्वविद्यालय रहेको बताउँदै युवालाई उत्पादनमूलक क्षेत्रमा लगाउन र सस्तो सहजरूपमा विश्वविद्यालय शिक्षा लिन ख्वप विश्वविद्यालय सञ्चालन गर्नका लागि नेमकिपाका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।
मध्यपुर चुनाव प्रचारप्रसार समितिका संयोजक दिलकृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त सभामा मध्यपुर नगर समितिका पूर्वअध्यक्ष विक्रम वैद्यले किसान आन्दोलनमा मोहीयानी हक, भर्पाई आन्दोलनलगायत नेमकिपाले गरेको सङ्घर्षको चर्चा गर्नुभयो ।
Leave a Reply