निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २४ कार्तिक । “प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले देश र प्रदेशको नीति र विधेयक पारित गर्ने हो ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा क्षेत्र नं. १ का प्रत्यक्षतर्फका उम्मेदवार प्रेम सुवालले चाँगुनारायण नगरपालिका साङदहमा बिहीबार भएको जनसभामा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “प्रतिनिधिसभाले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, खाद्यान्नमा आत्मनिर्भरता, स्वदेशमा रोजगारी, स्वास्थ्य उपचार निःशुल्क, ऊर्जामा आत्मनिर्भरलगायत विषयमा नीति बनाई विधेयक पारित गरेमा सरकार सोहीअनुसार काम गर्न बाध्य हुन्छ र देशभरिका जनतालाई हित हुन्छ ।”
शासक दलका उम्मेदवारहरूले जनतालाई गोरेटो र घोडेटो बनाउने आश्वासन दिएर नेपाली जनतालाई फेरि धोका दिँदै आएको चर्चा गर्दै उहाँले भोज खुवाउने, खाममा पैसा बाँड्ने, बाइकमा तेल हाल्नेजस्ता आचारसंहिताविपरीत काम शासक पार्टीहरूबाट हुँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सत्ता गठबन्धनले नेपाली सेनाको हेलिकप्टर दुरूपयोग गरेर, गोरखापत्रमा मत मागेको समाचार छापेर, रिसोर्टमा भोज खुवाएर आचारसंहिता उल्लङ्घन गरेको हुँदा निर्वाचन आयोगले कारबाही गर्नु आवश्यक छ ।”
“नेका, एमाले र माओवादीको घोषणापत्रमा समाजवाद शब्द उल्लेख छ । तर, ती पार्टीहरूले काम निजीकरण गर्ने पुँजीवादी नीतिको समर्थन गरे र सार्वजनिक संस्थानहरू सस्तोमा बिक्री गरे । यसकारण, नेका र एमालेको नेतृत्वको दुवै गठबन्धन सिद्धान्तहीन र सिंहदरबार कब्जा गर्ने चाँजोपाजोमात्र हो”, सचिव सुवालले भन्नुभयो ।
एमसीसी सम्झौता समर्थन गर्ने र नागरिकता विधेयक पारित गर्ने शासक दलहरू प्रतिगामी र देशविरोधी भएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा प्रदेशसभा उम्मेदवार मिनबहादुर बाटा, समानुपातिक सदस्य सुदिप खनाल र श्रीभक्त भडेलले पनि बोल्नुभएको थियो ।
सभापछि बेसी टोल, खनाल टोल र फूलबारी टोलमा घरदैलो सम्पन्न भयो ।
Leave a Reply