भर्खरै :

नेपालीले एमसीसी र एसपीपी दुवै खारेजीको लागि सङ्घर्ष गर्नु आवश्यक

नेपालीले एमसीसी र एसपीपी दुवै खारेजीको लागि सङ्घर्ष गर्नु आवश्यक

भक्तपुर, २५ कार्तिक । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर चुनाव परिचालन समितिको आयोजनामा बिहीबार गोल्मढी यातामा चुनावी सभा भयो ।
उक्त सभामा नेमकिपाका सचिव एवं भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले प्रतिनिधिसभाले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, स्वदेशमा रोजगारी, स्वास्थ्य उपचार निःशुल्क, ऊर्जामा आत्मनिर्भरलगायत विषयमा नीति बनाई विधेयक पारित गरेमा सरकार सोहीअनुसार काम गर्न बाध्य हुन्छ र देशभरिका जनतालाई हित हुन्छ भन्नुभयो ।
उहाँले शेरबहादुर देउवाको गठबन्धन सरकारले ल्याएको एमसीसी, एसपीपी, अरूण तेस्रो, सेती र कर्णाली नदीयोजना एवं नागरिकता विधेयक आदिले सरकार अमेरिकी साम्राज्यवाद र विस्तारवादी भारतको दलाल साबित भएको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाली जनताले एमसीसी र एसपीपी दुवै खारेजीको लागि सङ्घर्ष गर्नु आवश्यक छ ।”
एमाले–माओवादीले कम्युनिस्टको खोल ओढेर राष्ट्रिय उद्योग–कलकारखाना निजीकरण गरेको चर्चा गर्दै सचिव सुवालले भाडाको सिपाही तयार गर्ने गोर्खा भर्तीकेन्द्र खारेज गर्नुपर्छ भन्नुभयो ।
शासक दलहरूले विदेशी पुँजी भित्याएर देशका साना, मझौला तथा ठूला उद्योग बन्द गराउने षड्यन्त्र गरिरहेको विचार व्यक्त गर्दै सङ्घीय संसद्का प्रत्यक्ष उम्मेदवार सुवालले ख्वप विश्वविद्यालय विधेयक पारित गराउन मादलमा मतदान गर्न आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा क्षेत्र नं. १(२) का प्रत्यक्ष उम्मेदवार सुरेन्द्रराज गोसाईले बहुदल स्थापना भएको ३३ वर्षसम्म शासक दलहरूले सत्तामोहमा केन्द्रित रही राजनीति गरिरहेको बताउनुभयो ।
कुनै देशमा नभएको गठबन्धन शासक पार्टीहरूको ठगबन्धन भएको प्रस्ट पार्दै अतिथि गोसाईले देशको युवा जनशक्ति वैदेशिक रोजगारीको नाममा विदेश पठाउँदा देशको उर्वर भूमि उजाड भएको र खाद्यान्नलगायत सागसब्जीसमेत विदेशबाट आयात गर्नु परिरहेको बताउनुभयो ।
उहाँले निर्वाचन राजनीतिक विश्वविद्यालय पनि भएकोले जनतालाई सचेत र सङ्गठित गर्ने अवसरको रूपमा नेमकिपाले निर्वाचनलाई उपयोग गरिरहेको र निर्वाचनलाई एक व्यारोमिटरको रूपमा लिएको स्पष्ट पार्नुभयो ।
नेमकिपाले सडक र सदनमा पनि अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको विरोध गर्दै आइरहेको स्पष्ट पार्दै केन्द्रीय सदस्य गोसाईले साम्राज्यवादी र विस्तारवादीहरूको दलाल पार्टीहरूलाई हराउन नै नेमकिपाले उम्मेदवारी दिएको बताउनुभयो ।
नेमकिपाबाट सङ्घीय संसद्को लागि समानुपातिक उम्मेदवार उद्धव सुजखुले निर्वाचन वर्गीय र वैचारिक सङ्घर्ष रहेको स्पष्ट पार्दै माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुसार समाज परिवर्तनको लागि निरन्तर विचार प्रवाह गरिरहेको बताउनुभयो ।
भक्तपुर नगर निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मीभक्त लासिवाले सार्वभौमिकताको रक्षाको लागि नागरिकता विधेयकलाई असफल पार्न नेमकिपाका उम्मेदवारहरूलाई निर्वाचित गर्नु जरूरी रहेको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर ७ वडा निर्वाचन परिचालन समितिका सल्लाहकार संयोजक लक्ष्मीभक्त कवांको सभापतित्वमा भएको उक्त सभामा भुवन गोसाई, एन्डिज ग्वाछा र आरपी ग्वाछाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *