साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
भक्तपुर, २५ कार्तिक । नेपाल मजदुर किसान पार्टी मध्यपुर थिमि नगर निर्वाचन परिचालन समितिको आयोजनामा शुक्रबार मध्यपुर थिमि नगरपालिका वडा नं.५ भुलानखेलमा चुनावी सभा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा पार्टीले लिएको र मत परिणामको आधारमा क्रान्तिको सङ्केत देखाउने बताउनुभयो ।
उहाँले बर्सेनि लाखौँ विद्यार्थी उच्च शिक्षाको लागि विदेश जानुपर्ने बाध्यता शासक दलहरूले सृजना गरेका कारण देशको आर्थिक अवस्था कमजोर हुँदै गएको हो भन्नुभयो । निर्वाचन जित्नको लागि झूटा आश्वासन बाँडेका शासक दलहरूले विकासको नाममा जनतालाई झुक्याएर आफ्ना कार्यकर्ताहरूलाई भ्रष्ट बनाइरहेको आरोप लगाउनुभयो । वैदेशिक रोजगारीको नाममा युवालाई विदेशीको दास बनाई कमिसन खान पल्केका शासक दलका आसेपासेलाई ठेगान नलगाएसम्म देश आर्थिकरूपले अगाडि बढ्न नसक्ने बताउनुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा भक्तपुर जिल्ला क्षेत्र नं.२ का उम्मेदवार अनुराधा थापा मगरले कम्युनिस्टको मुकुन्द लगाएको एमालेले जनतालाई भ्रममा राखेर सत्तामा पुगेको बताउनुभयो । उहाँले एमालेको सरकार हुँदा कम्युनिस्ट सिद्धान्तअनुसार काम नगरेको बरु आफ्नो कार्यकर्तालाई फाइदा हुने काममात्र गरेको बताउनुभयो ।
कम्युनिस्ट सिद्धान्तअनुसार शिक्षा, स्वास्थ्य पूर्ण निःशुल्क हुनुपर्नेमा एमालेको सरकारले निजीलाई प्रोत्साहन गरेको उल्लेख गर्दै उहाँले नेमकिपा जितेको भक्तपुर नगरपालिकाले चलाएको ख्वप मावि र कलेजका विद्यार्थीहरूको प्रमाणपत्र नक्कली हुन् भन्ने शासक दलका नेता कतै शैक्षिक दलाल त होइन भनी प्रश्न गर्नुभयो ।
सभामा प्रदेशसभाका उम्मेदवार रमेश वैद्यले स्वास्थ्य क्षेत्रमा बढ्दो निजीकरणले गर्दा गरिब जनताले मृत्युवहन गर्नुपरेको बताउनुभयो । सरकारमा गएका दलका नेताहरूले सरकारको ढुकुटीबाट खर्च गरेर उपचार गर्न विदेश जाने तर जनता स्वास्थ्य उपचार नपाएर मर्नुपर्नाका कारण शासक दलहरू नै रहेको उहाँको दाबी हो ।
उहाँले किसानलाईआवश्यकताअनुसार समयमै मल, बीउबिजन नपाउनुले उत्पादनमा ह्रास आएको बताउनुभयो । नेमकिपाले पटकपटक स्वदेशमै मल कारखाना स्थापना गराउन संसद् र सडकमा सङ्घर्ष गरे पनि शासक दलहरूले कमिसन खानकै लागि भारतबाट मल आयात गरिरहेको बताउनुभयो ।
सभामा विक्रम वैद्य, वीरकृष्ण प्रजापति र राजु कैतीले पनि बोल्नुभएको थियो ।
Leave a Reply