भर्खरै :

“कालाबजारी र भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने शासक दलहरूलाई पराजित गर्नुपर्छ”

“कालाबजारी र भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने शासक दलहरूलाई पराजित गर्नुपर्छ”

नुवाकोट, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टीको आयोजनामा शनिबार नुवाकोटमा चुनावी सभा भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शासक दलहरू कालाबजारी र भ्रष्टाचारीहरूको संरक्षणमा लागिपरेको हुँदा शासक पार्टीहरूलाई मङ्सिर ४ को चुनावमा पराजित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसदहरूको प्रमुख काम देशको लागि आवश्यक नीति–नियम बनाउने स्पष्ट पार्दै उहाँले भन्नुभयोे, “प्रतिनिधिसभाले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, खाद्यान्नमा आत्मनिर्भरता, स्वदेशमा रोजगारी, स्वास्थ्य उपचार निःशुल्क, ऊर्जामा आत्मनिर्भरतालगायत विषयमा नीति बनाई विधेयक पारित गरेमा सरकार सोहीअनुसार काम गर्न बाध्य हुन्छ र देशभरिका जनतालाई हित हुन्छ ।”
नेमकिपाका प्रतिनिधिहरू देशको सार्वभौमिकता रक्षा र कामदार जनताको हितमा कानुन बनाउन इमानदारीपूर्वक लाग्ने वचनवद्धता उहाँले व्यक्त गर्नुभयो ।
भ्रष्टाचारी, कालाबजारी, मानव बेचबिखन गर्नेजस्ता आपराधिक कार्य गर्नेलाई ज्यान सजायको व्यवस्था नभएसम्म त्यस्ता अपराधीहरूको मनोबल नघट्ने हुँदा संविधान संशोधन गरेर भए पनि त्यस्ता अपराधीहरूलाई ज्यान सजाय दिनुपर्ने पक्षमा नेमकिपा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
संसद् भनेको विकास निर्माणको काम गर्ने थलो नभएको स्पष्ट पार्दै सचिव सुवालले बाटो निर्माण, धारा–पानी, स्वास्थ्य, शिक्षाजस्ता विकास निर्माण गर्नेे कार्य स्थानीय पालिकाको हो भन्नुभयो ।
सम्पत्तिको सीमा तोक्नुपर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने कानुन बनाउनु आवश्यक भएको उहाँले बताउनुभयो ।
नुवाकोट क्षेत्र नंं. १ मा नेमकिपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र डंगोलले शासक दलका उम्मेवारहरूको झूटा आश्वासनमा नफसी देशको सार्वभौमिकता रक्षा र भ्रष्टाचार अन्त्यको लागि नेमकिपाको मादल चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओविचारधारा हो । नेमकिपाले स्थापनाकालदेखि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरूद्ध जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्दै निर्वाचनलाई क्रान्तिकारी उपयोग गरिरहेको हुँदा मङ्सिर ४ को निर्वाचनमा नेमकिपालाई जिताउन अनुरोध गर्दछु ।”
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय प्रतिनिधि रामेश्वरी कोजूले महिलाहरूलाई अगाडि बढाउन प्रत्येक वडामा शिशु स्याहारको बन्दोबस्त गर्न नेमकिपाले संसद्मा आवाज उठाउनेछ भन्नुभयो ।
नेमकिपाले इमानदारीपूर्वक काम गरेको छ भन्ने जानकारी भक्तपुर नगरपालिकाले गरेको कामबाट थाहा पाउन सकिने उहाँले उल्लेख गर्नुभयो ।
नुवाकोट क्षेत्र नं. २ का नेमकिपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार काशिलाल डंगोलले कृषिप्रधान देशको लागि स्वदेशमै रासायनिक मल कारखाना खोल्न जरूरी रहेकोले नेमकिपाले पञ्चायतकालदेखि नै रासायनिक मल कारखाना स्थापना गर्न माग गरिरहेको भए पनि शासक पार्टीहरूको त्यसतर्फ ध्यान नगएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “रासायनिक मल खरिदमा पाउने कमिसनको लोभमा शासक पार्टीहरूले नेपालमा मल कारखाना स्थापना नगरेका हुन् ।
बाग्मती प्रदेशसभा सदस्य समानुपातिक उम्मेदवार हरिकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त सभामा नेमकिपाका हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।
सभामा स्थानीय कलाकार रामशरण थापाले नेमकिपालाई निर्वाचनमा जिताउनुपर्ने आसयको लोकभाकामा गीत प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *