भर्खरै :

एमसीसीको पक्षमा सही नगर्ने पार्टी नेमकिपामात्र

एमसीसीको पक्षमा सही नगर्ने पार्टी नेमकिपामात्र

भक्तपुर, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर निर्वाचन परिचालन समितिको आयोजनामा शनिबार भोलाछेँमा चुनावी सभा भयो ।
सभामा नेमकिपाका सचिव एवं भक्तपुर जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवालले प्रतिनिधिसभा देशको नीति निर्माण गर्ने सम्बन्धमा छलफल हुने स्थान भएकोले जनताले नीति निर्माण गर्नसक्ने उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।
महिलालाई बलात्कार गर्ने र हत्या गर्ने अपराधीलाई मत्युदण्डको सजाय दिनुपर्ने नेमकिपाको मत रहेको विचार राख्दै उहाँले ठूला दलहरू त्यसको विपक्षमा भएकोले उनीहरू महिला बेचविखन गर्ने दलालका मतियार हुन् भन्नुभयो ।
जनताले नेमकिपालाई बहुमत नदिएको हुँदा सरकारमा नगएको चर्चा गर्दै उहाँले पुँजीवादी सरकारमा जानु भनेको फोहर पानीमा नुहाउनु हो भन्नुभयो ।
एमसीसीको पक्षमा सही नगर्ने पार्टी नेमकिपामात्र रहेको चर्चा गर्दै उहाँले अरू सबै दलले त्यस सम्झौतामा सही गरेकाले ती पार्टीहरू देशघाती रहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले ठूला दलहरूले राजनीतिक सिद्धान्तलाई बन्धकमा राखेर पद र पैसाको लोभ देखाएर मतदाताहरूलाई प्रभावित गर्न खोजिरहेको हुँदा मतदाताहरू सचेत भई देश र जनतामा समर्पित नेमकिपाको मादल चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।
नेमकिपाले स्थापनाकालदेखि नै देश र जनताप्रति समर्पित रही इमानदारीपूर्वक कार्य गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
नेका, एमाले र माओवादीले गरेको भ्रष्टाचारको कारण देशलाई १९ खर्बको ऋणमा डुबाएको केन्द्रीय सदस्य गोसाईंले बताउनुभयो ।
नेमकिपा ६ नं. वडा चुनाव परिचालन समितिका संयोजक गोपीकृष्ण चाँगुभारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका नारायणप्रसाद त्वानाबासु, पूर्णभक्त दुवालले मादल चिह्नमा मतदान गरी नेमकिपाका उम्मेदवारीलाई जिताउन आग्रह गर्नुभयो ।
कार्यक्रममा भोलाछेँ गणेश भजन मण्डलका संस्कृतिकर्मीहरूले जनपक्षीय गीत प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *