भर्खरै :

भ्रष्टहरूको देवत्वकरण किन ?

भ्रष्टहरूको देवत्वकरण किन ?

राजनीति नसुध्रिए देश सुधिँ्रदैन, राजनीति सुध्रिन नेता सुध्रिनुपर्दछ । नेता नसुध्रिएसम्म देश र जनताले दुःख पाउने छन् । तर, शासक दलका नेताहरू नसुध्रिएको परिणाम लामो समयदेखि देश र जनताको भविष्य कालो बादलले घेरिएको घेरिएकै छ । उही नेताहरूको सत्तामा वर्चस्व तथा हालीमुहालीका कारण अझै भविष्य सुखद हुने छनक देखिँदैन । नेता उदाहरणीय हुनु जरुरी छ । धेरै मानिसले नेताको व्यक्तित्व, चरित्र र व्यवहारलाई आफूमा अनुकरण गर्न खोजेका हुन्छन् । यसले कतिपयलाई सफल बनाएको हुन्छ भने कतिपयलाई असफल । शासक दलका नेताहरू नसुध्रिएका कारण देशको स्थिति भद्रगोल छ ।

मतदाता आकर्षित गर्ने यो उपाय ?
देशमा निर्वाचन नजिकिँदै छ । निर्वाचनमा दलीय प्रतिबद्धता र घोषणापत्रबारे जनतालाई सचेत पार्नुपर्छ । तर, आफ्नो निर्वाचन क्षेत्रमा कति रकम खर्च गर्न सक्दछ भन्ने विषयमा प्रतिस्पर्धा भइरहेको अनुभूति गरिँदै छ । मतदातालाई दलको विचार र व्यवहारले आकर्षित पार्नुपर्दथ्यो । तर, यहाँ प्रभावित पार्न खोजेको छ पैसा र भोजभतेरले । केही वर्षअगाडि जिन्सी सामान पनि वितरण गर्ने गर्दथ्यो । आज विस्तारै पैसा र भोजभतेरमा पुग्यो । शासक दलहरूको गतिविधिले निर्वाचन आचारसंहिताको धज्जी उडाएको उडाएकै छ । यद्यपि, भागबन्डाको आधारमा नियुक्ति पाएका निर्वाचन आयुक्तहरू शासक दलका आचारसंहिताविपरीतका गतिविधिमा मूकदर्शक छन् ।
निर्वाचनमा प्रतिस्पर्धा गर्ने शासक दलहरूको आश्वासनलाई जनताले पत्याउन छाडिसकेका छन् । उहाँले लिएको अर्को आधार पैसाको वितरण र भोजभतेर हो । यसैको आधारमा उनीहरू निर्वाचन जित्ने दाउमा छन् । तर, यो आधार कच्चा छ । यो धेरै समय टिक्ने आधार होइन । हिजो सत्ता आरोहण गर्दा वा सत्ताधारीको चाकरी गर्दा हात पारेको रकम आज निर्वाचनमा जनताबिच जाने आधार बनाइएको छ । भ्रष्टाचार गरेर कमाएको सम्पत्ति आज पुनः भ्रष्टाचार गर्ने ठाउँमा पुग्ने माध्यम बनेको छ । कतै युवालाई विदेश पठाउने विनाभिसाको प्रचारबाजी छ । प्रतिमत पैसा वितरण कुनै पार्टी प्यालेसमा आयोजना गरिएको भोजको बन्दोबस्तले मतदातालाई नराम्ररी ठग्ने सोच ठूला दलमा अद्यावधि छँदै छ । यसरी युवा पुस्तालाई बिगार्ने काममा शासक दलका नेताहरू लागेका छन् ।

मिलनको सन्देशले भाँडभैलो निम्त्याउने
निर्वाचनको दौरानमा लाग्दा शासक दलहरूले आफ्नो सिद्धान्त र विचारको धोती फुस्केको चाल पाउन सकेका छैनन् । अतिथिको मञ्चमा रहँदा बस्दा आफूले बोलेका कुराले भोलि आफैलाई पोल्ने कुरा हेक्का राख्न सकेको देखिँदैन । यसो हेर्दा सत्ता गठबन्धनका सबै दलको मिलन देशको उन्नतिको लागि भनेर प्रचार गर्ने गरेको देखिए तापनि यसले जनतालाई भ्रममा राख्ने गरेको स्पष्ट छ । ठूला दलका उपल्लो तहका नेतासमेत एउटा निर्वाचन चिह्नको प्रचार अर्कै दलले गरेको सुन्दा कस्तो नमिल्दो र अस्वाभाविक जस्तो लाग्छ । यस्ता नारा र प्रचारले निर्वाचन त जित्न सकिएला तर जनताको मन जित्न सकिँदैन । निर्वाचन जित्नकै लागि अस्वाभाविक मिलनको नाटक मञ्चन गर्ने दलहरूले भोलि निर्वाचनको परिणामसँगै एकआपसमा वैमनस्य, टीकाटिप्पणी र गालीगलौजमा उत्रिने निश्चित छ । आ–आफ्नै दलभित्र भाँडभैलोसमेत निम्तिने बलियो सम्भावना छ ।
आज दलहरू सत्ता प्राप्तिको लागि मिलेका छन् । भोलि आपसी भागबन्डाको खिचलोले पुनः देशलाई अनिर्णयको बन्दी बनाइने सम्भावना आजैबाट देखिएको छ । शासक दलहरूको मिलनले देशलाई उन्नतिको गोरेटोमा होइन अवनतिको राजमार्गमा पु¥याइने छ । देशलाई भड्खालोमा पु¥याइने छ ।

भ्रष्टहरूको देवत्वकरण किन ?
शासक दलका नेताहरू भ्रष्टाचारमा डुबेका छन् । उनीहरूले भ्रष्टाचार गरेरै अकुत सम्पत्ति आर्जन गरेका छन् । अनि भ्रष्टाचार गरेर कमाएको धनले आज निर्वाचन लड्दै छन् । विकास निर्माणको नाममा आएको बजेटको पचास प्रतिशतभन्दा बढी रकम गोजीमा हाल्ने नेताहरूका कारण विकास डामाडोल छ । विकास निर्माण अलपत्र छ । जनताको आधारभूत आवश्यकता पूरा भएका छैनन् । आधारभूत स्वास्थ्य सेवा निःशुल्कको संवैधानिक प्रावधान कागजमा मात्रै छ, व्यवहारमा छैन । सहर बजारमा समेत सिटामोलको अभाव छ भने दुर्गममा यसको नियमित आपूर्ति हुनसकेको छैन । अन्य थुप्रै प्रकारका औषधि जनताले पाउन सकिरहेका छैनन् । बहुदलीय व्यवस्था आएको ४ दशक पुग्नै लाग्दा पनि शासक दलहरूका लागि जनताको समस्या कहिल्यै प्राथमिकतामा पर्दैनन् । जनताको लागि पानीको बन्दोबस्त, रोजगारी, खाद्यान्न, शिक्षा, स्वास्थ्यलगायतका महत्वपूर्ण विषयको प्रचार गर्न कहिल्यै नथाक्ने तर कार्यान्वयनमा कहिल्यै नल्याउने नेताहरूका कारण समस्या झन्झन् बढ्दै गएको छ ।
प्रजातन्त्र पुनःस्थापनादेखि आजसम्म आउँदा सयौँ नेताहरू मन्त्री भइसकेका छन्, हजारौँ सांसद भइसके । यस्तै अन्य सेवा गर्ने पदमा कति पुगे कति । तर, सेवा गर्ने ठाउँबाट लाभ लिनमात्र जानेका नेताहरूले आफ्नो लागि सबै गरे । आफ्ना सन्तानहरूलाई विदेश पठाएर भविष्य बनाउने अवसर दिए । समस्यारहित जीवन यापनका लागि जे जे गर्न सक्दथ्यो ती सबै गरे । नेता बने, तिनीहरूका घर बने । तर, जनताको जीवनस्तरमाथि उठाउने काम कहिल्यै गरेनन् । हिजो ती नै नेताहरूलाई आलोचना गर्ने र सैद्धान्तिक गाली गर्ने अनि आश्वासनअनुसार काम नगरेकोमा विरोध गर्ने मानिसहरू आज एकाएक ती नै भ्रष्टको देवत्वकरणमा किन लागे ? हो, ती नै भ्रष्ट आचरणका नेताहरू जो मोटो रकम पार्टीलाई बुझाएकै भरमा टिकट प्राप्त गरेका छन् त्यसैको पछाडि किन लागेका छन् ?
शासक दलका नेताहरूले जालसाजी काम गरिरहेका छन् । सचेत जनताले ठीक र बेठीक छुट्याउन नसक्नु जनताको कमजोरी हो । त्यस्तै भ्रष्ट, गुण्डा चरित्रका उम्मेदवारलाई नै देवत्वकरण गर्दै हिँड्ने ? तसर्थ, मतदानमा आलोचनात्मक चेतको खाँचो छ । राम्रो मान्छे जिताउने कुरा केवल नारामा सीमित हुनुहुँदैन । यसलाई व्यवहारमा उतार्न नसकिएसम्म देशवासीले दुःख पाउनेछन् । भ्रष्टहरूको देवत्वकरणले समाजमा सकारात्मक परिवर्तन आउने छैन ।
हरेक उम्मेदरवारमा आफू कुन निर्वाचन क्षेत्रबाट केको लागि उम्मेदवार हुँदै छु भन्ने न्यूनतम ज्ञान आवश्यक छ । हरेक राजनीतिक नेताहरूले सिङ्गो देशको जिम्मेवारी लिनुपर्दछ । आफ्नो पदीय जिम्मेवारीबोध नभएका, गलत आचरण र संस्कारलाई बढावा दिने, जनताको कामलाई प्राथमिकतामा नराख्ने, विकास निर्माणको रकमलाई गोजीमा राख्ने र कार्यकर्तालाई बाँड्ने, सार्वजनिक सम्पत्तिमा आँखा लगाउने र व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने नेता र उम्मेदवारहरूको पक्षमा हामी लाग्नु हुँदैन । मतदाता सचेत नभएसम्म देशले निकास पाउने छैन । व्यक्तिगत स्वार्थका कारण समाजका गलत व्यक्तिको गुणगान गाउने र भ्रष्टहरूकै पछाडि लाग्ने गलत प्रवृत्तिका कारण समस्या उत्पन्न भएको हो । अतः सचेत मतदाता बनौँ, भ्रष्टहरूलाई चिनौँ, पराजित गरौँ । देश र देशवासीको भविष्य यसैमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *