एसईई परीक्षा नतिजा निकाल्न एक जना विद्यार्थी कति वर्ष पर्खनुपर्ने हो ?
- भाद्र १०, २०८३
उपत्यकाभित्रको खोलानाला दिन परदिन प्रदूषित बन्दै गएको छ । अव्यवस्थित बस्ती र ढल निकासले गर्दा एक, दुई दशक अगाडिसम्म स्वच्छ पानी बग्ने धार्मिक तथा पुरातात्विक महत्व बोकेको नदीनाला अहिले कुरुप बन्दै छ । भक्तपुरको प्रसिद्ध हनुमन्ते खोला पनि त्यसको सिकार बनेको छ ।
उपत्यकाको प्रसिद्ध खोलाहरूमध्ये भक्तपुरको हनुमन्ते खोला पनि एक हो । उपत्यकाको पूर्वी भाग भक्तपुरको नगरकोट, बागेश्वरी, सुडाल र ताथलीका खोल्साहरू एकत्रित हुँदै ब्रह्मायणी भएर बग्ने खोला र चित्तपोल, नङ्खेल र सिपाडोलको खोल्साहरू एकत्रित हुँदै जगाती भएर बग्ने खोला भक्तपुर नगरको हनुमानघाटमा मिसिन्छ ।
रामका भक्त हनुमान त्यस त्रिवेणीमा नुहाउँथे रे । त्यसैले त्यस घाटको नाम हनुमानघाट रहन गयो । हनुमानघाट भएर बग्ने खोला भएकोले त्यस खोलाको नाम हनुमन्ते खोला भनिएको कथन छ । अहिले पनि त्यस हनुमानघाटमा दैनिक स्नान गर्ने र नुहाउने श्रद्धालु भक्तजनहरूको कमी छैन । थुप्रै देवी देवताका मन्दिरहरूसहित देशकै ठूलो शिवलिङ्ग त्यहाँछ । माघ महिनामा विशेष मेला लाग्छ । थुप्रै भक्तजनहरू महिनाभर व्रत बसी त्यहाँ खाने बस्ने गर्छन् । त्यही हनुमन्ते खोला मध्यपुर थिमि, बालकोट हँुदै उपत्यकाको अर्को प्रसिद्ध नदी मनोहरामा गई मिसिन्छ ।
डेढ, दुई दशकअघिसम्म बाह्रै महिना त्यस खोलामा पानी बग्थ्यो । हनुमानघाट र खोलाको वातावरण राम्रै देखिन्थ्यो । अहिले त्यस खोलामा हिउँदमा पानी बग्न छाडेको छ, मात्र नाली बग्छ । भक्तपुरमा जर्मन प्रोजेक्ट भनेर चिनिने भक्तपुर विकास परियोजना आएदेखि भक्तपुर नगरको ढल निकास सिधै त्यस खोलामा मिसाइएको छ । भक्तपुर नगरको पूर्वमा रहेको लिबाली जग्गा एकीकरणको बस्तीको ढल पनि सिधै हनुमन्तेमा मिसाइएको छ । अहिले सर्वसाधारणले प्लाष्टिकको झोलामा फोहर पोका पारी त्यहाँ रहेको पुलबाट खोलामा फाल्ने गरिएको छ । हिउँदमा खोलाले कुनै सामान बगाएर लाँदैन । खोलामा पानी नभई नाली बग्नु, त्यसमाथि फोहर फाल्दिनाले पवित्र हनुमन्ते खोला अहिले नर्कसरह बनेको छ । माघ नजिकिँदै जाँदा त्यहाँ व्रत बस्ने श्रद्धालु भक्तजन चिन्तित छन् । खोला वरिपरिको लिबाली, वाचुटोल, गोल्मढी याताको तल्लो भाग र भेलुखेल बाराहीस्थान आदि बस्तीहरूमा दुर्गन्ध फैलिएकोे छ ।
नदी खोला सुधारका लागि भनी जग्गा रजिष्टे«सन गर्दा राजस्व उठाइएको पाइन्छ । काठमाडौँ उपत्यका खानेपानी लि.ले पनि ढल निकास कर उठाउँदै आएको छ । तर उपत्यकाभित्र रहेको प्रसिद्ध हनुमन्ते खोला सुधार हुन सकेको छैन । बाग्मती सुधार आयोजनाले ढल निकास खोलामा नपठाउने गरी खोलाको छेउमा ढलनिकास बनाएको थियो । केही समय कार्यान्वयन पनि भएको थियो तर, ढल निकासको ह्युमपाइप सानो भएकोले वा अरु कारणले खोला छेउको ढल निकास बन्द भई फोहरपानी खोलामै बगेको छ । खोला, नदीले सहरको सुन्दरतालाई पनि झल्काउने भएकोले त्यसलाई मनन गरी वातावरणलाई स्वच्छ गर्न हनुमानघाट र हनुमन्ते खोला सुधारको लागि उपचार पोखरीको बन्दोबस्त नभएसम्म बन्द भएको निकास खोली खोला छेउको ढलबाट फोहर पठाउनु अल्पकालीनरूपमा समाधानको लागि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
Leave a Reply