भर्खरै :

सिद्धान्तहीन गठबन्धनले नेपाली जनतालाई फेरि एकपटक धोका दिने प्रयास गरिरहेको स्पष्ट

सिद्धान्तहीन गठबन्धनले नेपाली जनतालाई फेरि एकपटक धोका दिने प्रयास गरिरहेको स्पष्ट

दैलेख, २७ कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले गठबन्धनका उम्मेदवारहरूलाई मत दिनु भनेको भष्मासुरलाई वरदान दिनुजस्तै हुनेछ भन्नुभयो ।
नेमकिपा दैलेख जिल्ला निर्वाचन परिचालन समितिको आयोजनामा आइतबार डुल्लुमा आयोजित चुनावी सभामा उहाँले सिद्धान्तहीन गठबन्धनले नेपाली जनतालाई फेरि एकपटक धोका दिने प्रयास गरिरहेको स्पष्ट पार्नुभयो ।
नेमकिपा वैज्ञानिक समाजवादको पक्षमा रहेको बताउँदै उहाँले त्यस समाजमा उत्पादनका मुख्य–मुख्य साधनहरू सामाजिकीकरण हुने, योग्यताअनुसार काम र कामअनुसार ज्यालाको व्यवस्था हुने, शिक्षा र स्वास्थ्य उपचार निःशुल्क हुनेछ भन्नुभयो ।
उहाँले एमसीसी र नागरिकता विधेयकको समर्थन गर्ने दलहरू देशघाती भएको स्पष्ट पार्दै ती सम्झौता र विधेयक खारेज नभएसम्म नेमकिपा सदन र सडकमा निरन्तर सङ्घर्षरत रहने बताउनुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो, “प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको काम नीति निर्माणमा योगदान गर्ने हो । पुल पुलेसा र सानातिना विकास निर्माणको काम स्थानीय तहले गर्छ । नयाँ नयाँ विधेयकहरू प्रस्तुत गर्ने, अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबारे आफ्नो विचार राख्ने र देशको हितमा नीति निर्माण गर्ने सांसदको काम हो ।”
नेमकिपाका उम्मेदवारहरू जितेमा जनताको हितमा काम गर्ने बताउँदै उहाँले देशघातीहरूलाई दण्ड सजाय गर्ने निर्वाचन एक अवसर भएको स्पष्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले पाँच वर्षमा जनताले केही नयाँ अनुभव गर्न नपाएको र शासक दलहरूले आफ्नो पार्टीका कार्यकर्ताहरूलाई कर्माचारीको रूपमा नियुक्त गर्न नपाउँदा अस्पतालहरू बन्द रहेको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य बजिरसिंह विश्वकर्माले गाउँ–गाउँमा कम्युनिस्ट विचारको वृक्षरोपण गर्ने पार्टी नेमकिपा रहेको र नेमकिपाको उम्मेदवारी देश बेच्दै जनताको मतको अपमान गर्नेहरूविरूद्ध रहेको बताउनुभयो ।
उहाँले अहिलेको निर्वाचन देशद्रोही र देशभक्तहरूबिचको लडाइँ भएको कारणले गर्दा देशद्रोहीहरूलाई हराउनको निम्ति मादल चिह्नमा मतदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका तर्फबाट दैलख जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार केसेन्द्र कार्की, कर्णाली प्रदेश दैलेख जिल्ला प्रदेश सभा क्षेत्र नं २, ‘क’ का उम्मेदवार मदनकुमार भण्डारी, क्षेत्र नं २, ‘ख’ का उम्मेदवार जयबहादुर थापा, समानुपातिक उम्मेदवार कुमारी रूमा गुरूङ, धनकुमारी शाही र आयोजकका तर्पmबाट निरक शाहीले नेमकिपाका उम्मेदवारहरूलाई मतदान गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा देउडा गायिका पानसरा थापा र देउडा गायक कर्ण थापालगायतका कलाकारहरूले आप्mनो प्रस्तुति दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *