भर्खरै :

निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २७ कार्तिक (रासस) । निर्वाचनको समयमा उम्मेदवारी मनोनयन दर्तादेखि विजयी जुलुससम्ममा भिड हुन्छ । मङ्सिर ४ को निर्वाचनको लागि अहिले उम्मेदवारहरू घददैलो कार्यक्रम र प्रचारप्रसारमा व्यस्त हुँदा जनस्वास्थ्य मापदण्डलाई भने बेवास्ता गरेका छन् ।
स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सुझाव दिएका छन् ।
त्यस्तै शनिबारसम्म पछिल्लो २४ घण्टामा आठ जना कोभिडका नयाँ सङ्क्रमित भेटिएका छन् । कोरोनाको सङ्क्रमणदर घटे पनि जोखिम कायमै रहेको भन्दै लापरबाही नगर्न चिकित्सकले सुझाव दिएका छन् ।
“उम्मेदवारहरूले जनस्वास्थ्यको मापदण्ड पालना गरेको देखिँदैन, जति धेरै हुल र हल्लामा हिँड्नुभयो उति शक्ति प्रदर्शन ठान्दै हिँडिरहनुभएको छ, यसले सरूवा रोगको सङ्क्रमणको जोखिम बढाएको छ”, डा. सागरराज भण्डारीले भन्नुभयो ।
कोभिड–१९ को सङ्क्रमण शून्यमा झरिनसकेको र मौसमी रूघाखोकी, स्वासप्रश्वाससम्बन्धी सङ्क्रमण निरन्तर बढिरहेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा. शेरबहादुर पुनले जानकारी दिनुभयो । उहाँले सभासम्मेलन र भेलामा सहभागीले खानपानमा समेत विशेष सजग हुनुपर्ने बताउनुहुन्छ ।
यता निर्वाचन आयोगले भने स्वास्थ्य सतर्कता अपनाउन आफूहरू लागिपरेको बताउँछन् । “हामी स्वास्थ्य मापदण्डमा सचेत छौँ । राजनीतिक दल र उम्मेदवारलाई स्वास्थ्य मापदण्ड पालना गर्न गराउन आचारसंहितामै उल्लेख छ”, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल भन्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *