भर्खरै :

“सत्ता पक्षबाट आचारसंहिता उल्लङ्घन भइरहेको छ”

“सत्ता पक्षबाट आचारसंहिता उल्लङ्घन भइरहेको छ”

भक्तपुर, २७ कार्तिक । मङ्सिर ४ को निर्वाचनको सन्दर्भमा नेपाल मजदुर किसान पार्टीले कार्तिक २६ गते बागेश्वरीमा चुनावी सभा राख्यो । सभामा नेमकिपाको तर्फबाट भक्तपुर प्रदेशसभा ‘ख’ का उम्मेदवार सुरेन्द्रराज गोसाईँले सत्तापक्षीय गठबन्धनको गोरखापत्रले एकपक्षीय प्रचार गर्नु आचारसंहिताको ठाडो उल्लङ्घन हो भन्दै निर्वाचन आयोगले गोरखापत्र संस्थानका पदाधिकारीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “राज्यकोषबाट प्रकाशित गोरखापत्रमा सत्तापक्षको मात्र प्रचार गर्नु आचारसंहिताको उल्लङ्घन नै हो । त्यसैले निर्वाचन आयोगले त्यसका पदाधिकारीहरूलाई कारबाही गर्न आवश्यक छ ।”
छिमेकी एवम् मित्र राष्ट्र चीनको चिनियाँ कम्युनिस्ट पार्टीले हालै एक अर्ब ४० करोड चिनियाँ जनतालाई गरिबीबाट मुक्त गरेको उदाहरण दिँदै उहाँले नेपालका शासक कम्युनिस्टहरूले पटकपटक सरकारको नेतृत्व गरे पनि जनताको जीवनस्तर नबढ्नु विडम्बनापूर्ण छ भन्नुभयो ।
निर्वाचनको मैदानमा देखिएका सत्तापक्षीय र प्रतिपक्षीय दुवै गठबन्धन असैद्धान्तिक भएकाले त्यसले देशको हित नगर्ने ठोकुवा गर्दै उहाँले निर्वाचनपछि यिनीहरू कुर्सीको लागि झगडा गर्ने निश्चित छ भन्नुभयो ।
माओवादीहरू भारतमा बसेर भारतकै निर्देशानुसार नेपालमा कथित जनयुद्ध गरेर देशलाई तहसनहस गरेको हुँदा त्यसलाई नेमकिपाले भारतीय ट्रोजन हर्सको संज्ञा दिएको चर्चा गर्दै उहाँले अहिले देशघाती नागरिकता विधेयक ल्याएर देशको सार्वभौमिकता नै समाप्त पार्न खोजेको हुँदा यी शासक दलहरू देशद्रोही हुन्† यिनीहरूलाई देशभक्त नेपाली जनताले निर्वाचनमा ठेगान लगाउने विश्वास व्यक्त गर्नुभयो ।
सभामा भक्तपुर प्रदेशसभा (क) का उम्मेदवार मिनबहादुर बाटाले शासक दलहरूको गलत नीतिले देशका युवा जनशक्ति विदेसिनु परेको चर्चा गर्दै ७०लाख युवालाई खाडीलगायतका मुलुकमा पठाएर देशमा समृद्धि नआउने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, “शासक दलहरू विदेशीका दलाल म्यानपावर कम्पनीका मतियार हुन् भन्ने कुरा पुष्टि भएको छ ।”
शासक दलहरूकै कारण देशको सार्वभौमिकता सङ्कटमा परेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपाली युवालाई ‘भाडाको सिपाही’ बनाउने गोरखा भर्ती केन्द्र खारेज गर्नु जरुरी छ ।”
स्थानीय रामबहादुर श्रेष्ठको सभापतित्वमा भएको उक्त सभामा अर्जुन काफ्ले र विजेश्वरी फैजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *