भर्खरै :

लक्ष्मी पूजा र यसको सार्थकता

लक्ष्मी पूजा र यसको सार्थकता

हाम्रा पुर्खाहरूले आफ्नो जीवनयापनको दौरानमा लाखौँ वर्षको श्रम र अनुभवबाट प्राप्त ज्ञानको आधारमा मानव सभ्यता र संस्कारहरूको निर्माण गरे । मानव जीवन अर्थपूर्ण र सुसभ्य बनाउन विभिन्न विधि विधानहरू निर्माण गरे । यही क्रममा वैदिक सनातन धर्मावलम्बी विद्वत् हाम्रा पुर्वजहरूले देवी देवता, मान्यजन, पितृ आदिको सम्मानका लागि पृथ्वी, जल, वायु, आकाश, अग्नि, पशुपक्षी, वनस्पति आदिको संरक्षण एवम् सम्मानका लागि, परिवारजनबिचको स्नेह र सहयोगका लागि, मौसम अनुकूल खानपानको लागि, स्वास्थ्यको लागि, देश र जनता, न्याय र सत्यताको रक्षाको लागि हामीलाई प्रोत्साहित पार्न अनेकौँ धार्मिक चाडपर्वहरू विभिन्न समयकाल परिस्थितिमा मनाउने बन्दोबस्त गरेको पाइन्छ । त्यस्ता चाडपर्वहरूमध्ये शरद् ऋतुको समयमा पाँच दिनसम्म कार्तिक महिनामा मनाइने पर्व हो– ‘यमपञ्चक ।’ चन्द्रमाको गतिअनुसार चल्ने तिथिमा कुनै घटबढ नभई सामान्य अवस्थामा यो ‘यमपञ्चक’ कार्तिक कृष्ण पक्ष त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइन्छ । प्रत्येक प्राणीलाई उसले गरेको कर्मअनुसार उसको मृत्युपछि फल भोगाउन खटिएका यमराज वर्षभरिमा माथि उल्लेखित पाँच दिन आफ्नो कामबाट छुट्टी लिई आफ्नी बहिनी यमुनाको निमन्त्रणमा उनको घरमा गई बस्छन् । यमुनाले पनि आफ्नो दाजु यमराजलाई स्वागत सत्कार गरी यी पाँच दिन आफ्नै घरमा राख्छिन् र पाँचौँ दिनमा विभिन्न परिकारसहित पूजा पनि गर्छिन् । यसकारण, यी पाँच दिनलाई यमराजको नामबाट समस्टीमा ‘यमपञ्चक’ भनिन्छ । यमपञ्चकमा यमराजलाई मात्र होइन, यसको पहिलो दिन अर्थात् कार्तिक कृष्ण त्रयोदशीको दिन यमराजको दूतका रूपमा कागलाई, चतुर्दशीको दिन यमराज र भैरवका बाहन वा दूतको रूपमा कुकुर, औँसीका दिन बिहान लक्ष्मीको रूपमा गाई र बेलुकी देवी लक्ष्मीको पूजा गरिन्छ । त्यसको भोलिपल्ट कार्तिक शुक्ल प्रतिपदाको दिन गोरु, गोवद्र्धन वा म्ह पूजा (आफ्नो शरीरको पूजा) र द्वितीयाको दिन भाइ पूजा गरिन्छ । गोरु खेतीपातीको लागि सहयोगी प्राणी हो । पर्वत वर्षाको लागि महत्वपूर्ण वस्तु हो । त्यस्तै दाजुभाइ दिदीबहिनी एक अर्काको स्नेही एवम् सहयोगी मित्र हुन् । विभिन्न पशुपक्षी मानव जातिको अस्तित्वका लागि अति महत्वपूर्ण छन् । काग, कुकुर, गोरु त त्यसको प्रतिनिधि पात्रहरूमात्रै हुन् । त्यसैले तिनीहरूको रक्षा र सम्मान गर्नु मानव जातिको दायित्व नै हो । यो यमपञ्चकमा ठीक बिचमा पर्ने पर्व हो ‘लक्ष्मी पूजा’ । जसको बारेमा यहाँ केही चर्चा गर्ने प्रयास गरिएको छ ।
धार्मिक ग्रन्थहरूमा वर्णन गरिएअनुसार प्रत्येक वर्षको कार्तिक कृष्णपक्ष औँसीको दिन सनातन धर्मावलम्बीहरू एवम् बौद्ध धर्मावलम्बीहरूले समेत मनाउने लक्ष्मी पूजा, दीपावली, सुखरात्री आदि नामबाट प्रसिद्ध छ । लक्ष्मी पूजाको दिन विशेष ढङ्गबाट देवीको पूजाआजा हुन्छ । देवी लक्ष्मीको आध्यात्मिक, आधी भौतिक र आधी दैविक तीन स्वरूपको पूजा आराधना उपासना आदि गरिन्छ । आध्यात्मिक स्वरूपको पूजाको रूपमा घर आँगनका लिपपोट सुग्घर सफा, बस्तीको सफाइ फूलमाला, दीपमाला अलङ्कृत गरी घर बस्तीको शोभा बढाउँछौँ । देवीको पूजास्वरूपको यस विधिको तात्पर्य देशमा समाजमा विद्यमान शोषण, दमन, असमान व्यवहार र अवस्था तथा वातावरणीय प्रदूषणहरूको अन्त गरी स्वस्थ समाज निर्माण गरी ज्ञानरूपी दियो बाली उज्यालो पारी देश र समाजलाई अग्रगमनको दिशातर्फ उन्मुख गरेमात्र देवी लक्ष्मी खुसी हुन्छिन् । अर्थात्, आयआर्जनमा वृद्धि हुन्छ । आधी भौतिकस्वरूपको पूजाको रूपमा हामी सुन, चाँदी, पैसा, धान, चामल आदिको जोरजाम गरी त्यसलाई पूजा गर्छाैँ । यसको अर्थ हो, हामीले खेतीपाती, बन्द व्यापार, उद्योग आदि व्यवसायहरू अपनाएर आफू र आफ्नो देशलाई आर्थिकरूपमा आत्मनिर्भरमात्र होइन समुन्नत अवस्थामा पु¥याउँछौँ र सकेसम्म हाम्रो व्यापार आयातमुखी होइन निर्यातमुखी बनाउँछौँ । अनिमात्र हाम्रोमाझ देवी लक्ष्मी स्थिर भइरहने छिन् अर्थात् हाम्रो अर्थतन्त्र मजबुत हुनेछ । देशको समृद्धि बढ्नेछ, जनता सुखी र खुसी रहने छन् । देवी लक्ष्मीको आधी भौतिकस्वरूपको यस पूजाले यही तथ्यतर्फ सङ्केत गर्दछ । त्यस्तै आधी दैविकस्वरूपको पूजाको रूपमा देवी लक्ष्मीको रूपको प्रतिमाको मूर्तिको अथवा चित्रमा पूजा गरिन्छ । यस पूजा विधिले देवी लक्ष्मीले आफू स्थायीरूपमा बस्नको लागि देवराज इन्द्रसँग मागेको जमिन, जल, अग्नि र सन्तसज्जन एवम् बौद्धिक दक्ष स्थितिहरूसितको सामिप्यता यी चारवटा तत्वहरू जुन देवी लक्ष्मीको प्रतीकको रूपमा लिइन्छ । तिनीहरूको सुरक्षा, सम्मान गर्नु नै देवीको पूजा अर्चना गर्नु हो । किनभने, यी चारवटा तत्वहरूको उचित प्रयोगबाट हामी लक्ष्मी अर्थात् धन वैभव ऐश्वर्य प्राप्त गर्न सक्दछौँ । गाँस, वास, कपासमात्र होइन हाम्रो पहिचानसमेत जमिन अर्थात् देशसँग जोडिएको हुन्छ । कृषि उत्पादन, जडीबुटी, वनस्पति, खनिज सम्पदा आदि जमिनबाट नै प्राप्त हुन्छन् । तिनीहरू सबै देशको सम्पत्ति, धन वा लक्ष्मी हो । सम्पूर्ण प्राणी एवम् वनस्पतिको जीवनको लागि जल अति आवश्यक छ । साथै जलबाट जलविद्युत् शक्ति प्राप्त हुन्छ । अग्नि प्राप्त हुन्छ । सौर्य शक्तिबाट पनि अग्नि र प्रकाश प्राप्त हुन्छ । अग्निबाट ताप प्राप्त हुन्छ जुन जीवन्तताको प्रत्येक प्राणीको लागि आवश्यक हुन्छ । यही तथ्यलाई कदर गर्दै लक्ष्मी पूजा गर्दा जलले भरिएको कलशलाई पनि पूजा गरिन्छ । उज्यालोमा मात्र लक्ष्मीको बास हुन्छ भनिन्छ । त्यसैले थुप्रै दियोहरू बाली उज्यालो पार्छाैँ । अर्थात्, अज्ञानतालाई ज्ञानरूपी दियो बाली हटाउँछौँ । यसरी देवी लक्ष्मीको आधी भौतिकस्वरूपको अर्काे विभिन्न प्रतिमास्वरूप रहेका विभिन्न वस्तुहरूको पूजा अर्चना गरी सम्पन्न गर्दछौँ ।
माथि चर्चा गरिएको देवराज इन्द्र र देवी लक्ष्मीको प्रसङ्गबारे एउटा धार्मिक कथा यस्तो रहेको छ । उहिले सत्य युगमा देव र दानवहरू मिलेर समुद्र मन्थन गर्दा विभिन्न वस्तुहरू निस्के । त्यसमध्ये एक देवी लक्ष्मी यही समुद्र मन्थनबाट उत्पन्न भइन् । तिनलाई समुद्रकी छोरीको रूपमा लिइन्छ । देवी लक्ष्मीले तत्कालै आफ्नो लागि आफैले वर रोजी भगवान् विष्णुसँग स्वयम्बर गरिन् र देवी वैष्णवीको नामले पनि प्रख्यात भइन् । लक्ष्मी शब्दले धन, ऐश्वर्य वैभव आदि प्राप्तिको लागि उनको प्रजा आराधना गरिन्छ । दानवहरूले अनेक प्रयास गरी लक्ष्मीलाई आफ्नो कुलमा राख्न सफल भए । दानवराज बलिले देवताहरूलाई पराजित गरी स्वर्गको सुख, वैभव, सम्पत्ति आदि भोग गरे । देवराज इन्द्र आफ्नो राज्य, मान प्रतिष्ठा पुनः प्राप्त गर्न प्रयत्नशील नै रहे । दानवराज बलि आफ्नो पद, प्रतिष्ठा, धन आदि अधिक मात्रा भएकोले मात्तिन थाले । उनमा सदाचार, नैतिकता ¥हास भयो । उनी झन्झन् क्रूर, घमण्डी एवम् दमनकारी हुँदै गए । यस्तो परिस्थितिमा देवी लक्ष्मी बलि राजाकोमा वा दानव कुलमा बस्न नसकी दानवराजको शरीरबाट बाहिर निस्किन् । यही अवसरमा देवराज इन्द्र पनि त्यहाँ आई पुगे र देवी लक्ष्मीलाई देखे । तत्पश्चात् देवराजले तिनै देवीसित परिचय माग्दा देवीबाट दानवराज प्रल्हाददेखि उनका छोरा बिरोचन र नाति बलिराजाको समयसम्म दैत्य कुलमा राजलक्ष्मीको रूपमा आफू बस्दै आएको र स्वर्गको सुख भोग गरेपछि बिस्तारै बलिराजाको स्वभावमा सदाचार नासिँदै गएको तथा मास मदिराको अधिक प्रयोगले गर्दा दानवराज अनैतिक, अत्याचारी हुँदै गएको अब उप्रान्त आफू दैत्य कुलमा बस्न नसकी बलिराजाको शरीरबाट बाहिर आएको बताइन् । यस जानकारीबाट देवराज हर्षित हुँदै तुरुन्तै देवराजले देवी लक्ष्मीलाई स्वर्गमा बस्न अनुरोध गरे । देवीले स्वीकार्न त स्वीकारे देवलोकमा बस्न तर एउटा सर्त राखे । आफू विभिन्न स्थानमा बस्दै आएकोले अब एकैखाले स्थायी बसोबास गर्न चाहेको र आफ्नो चञ्चलता हटपट नहट्ने भएकोले एकरूपमा नरही यतिखेर आफू बहुरूपमा रहन चाहेको र आफूलाई चार भागमा विभाजन गरी चारवटा स्थानमा राख्न आग्रह गरे । देवराजले तुरुन्तै स्वीकारे । देवराजले देवी लक्ष्मीको चारवटा स्वरूपमा चारवटा स्थानमा बस्नको लागि जमिन, जल, अग्नि र सन्तसज्जन, निष्ठावान, सत्यवादी, बौद्धिक एवम् दक्ष जनशक्तिमा बस्न देवीलाई आग्रह गर्दा देवीले स्वीकारे । त्यसैले, देवी लक्ष्मीको प्रतीकको रूपमा हामी जमिन, जल, अग्नि, सज्जन एवम् बौद्धिक दक्ष शक्तिहरूलाई सम्मान पूजा गरी देवी लक्ष्मीलाई खुसी पारी धन, सम्पत्ति, ऐश्वर्य, मान, सम्मान तथा प्रतिष्ठा प्राप्त गर्ने आशा गर्दछौँ । साथै दमनकारी घमण्डी अत्याचारी स्वभाव देवी लक्ष्मी अर्थात् धन, वैभव आदि प्राप्तिका लागि अनुपयुक्त भएको तथ्य पनि हामीले बुझ्नुपर्दछ ।
अन्तमा, हामीले मान्दै आएको तिहारको पहिलो दिन लक्ष्मी पूजाबाट के बुझ्नुपर्दछ भने आफ्नो देशको जमिनको रक्षा गर्नु त्यसमाथि हुने कुनै पनि विदेशी अतिक्रमणको विरोध गरी देशलाई स्वतन्त्र र अखण्ड तथा सार्वभौमरूपमा स्थापित गरी राख्नुपर्दछ । त्यसको लागि हामी सदैव लागिरहनुपर्दछ । त्यस्तै नदी नालाहरू अर्थात् जल सम्पदाको सुरक्षा एवम् उचित प्रयोग गर्नुपर्दछ । नदी नालाहरूको जल तथा त्यसबाट प्राप्त जलविद्युत् शक्ति उपभोग गर्न मित्र राष्ट्रहरूसित सहयोग लिँदा आफ्नो देशको हित तथा स्वाभिमानमा आँच आउन दिन हुँदैन । यदि कसैले विदेशी स्वार्थलाई अधिक महत्व दिन्छ भने त्यसको कडा विरोध गर्नुपर्दछ । अग्नि, प्रकाश सूर्यबाट पनि प्राप्त हुन्छ । सौर्य शक्तिको हामीले सकेसम्म बढी प्रयोग गरी देशको धन बाहिर जाने क्रमलाई कम गर्न सकिन्छ । सन्त, सज्जन, इमानदार, देशभक्त बौद्धिक एवम् दक्ष जनसमुदायलाई उचित कदर, सम्मान र साथ दिएर पनि देशको सुरक्षा उन्नति र आर्थिक विकास गरी देशलाई समृद्ध पार्न सकिन्छ । जमिन, जल, अग्नि र सज्जन देशभक्त, बौद्धिक एवम् दक्ष जनसमुदायमाझ नै लक्ष्मीले बस्न रुचाएको भन्नु नै यी सबैको उचित मानसम्मान व्यवस्थापन गर्नु नै वास्तवमा लक्ष्मी पूजा गर्नु हो । आउँदो मङ्सिर ४ गते हाम्रो देशमा हुन लागेको निर्वाचन पनि लक्ष्मी पूजाको एउटा प्रमुख एवम् महत्वपूर्ण अंश हो । किनभने, यो आउँदो निर्वाचन खास गरी दुई पक्षबिच हुँदै छ । माथि वर्णन गरिएअनुसार देवी लक्ष्मीको विभिन्न स्वरूप वा देवी लक्ष्मी आफू बस्न रुचाएको स्थान जमिन, जल, अग्नि र सज्जनहरूको रक्षा गर्न, उन्नति गर्न चाहने र देशलाई पहिलो पूर्णरूपले स्वावलम्बी र स्वतन्त्र चाहने देशभक्तहरूको पक्ष र अर्काे देशको भूभाग (जमिन) विभिन्न स्थानमा अरूले अतिक्रमण गर्दा प्रतिकार नगर्ने, देशको नदीनाला जलविद्युत् शक्ति आदिको उपभोगको सन्दर्भमा आफ्नो देश र जनताको हितलाई भन्दा विदेशीलाई बढी महत्व दिने, दक्ष जनशक्तिलाई आफ्नो देशको हित एवम् विकास कार्यमा संलग्न गराई राख्ने वातावरण नबनाई विदेशी सेवामा पठाई उनीहरूको रगत, पसिना र श्रमबाट प्राप्त धन विभिन्न शीर्षकमा राज्यबाट आफूले दिई देश र जनताको शोषण गर्ने एमसीसी, एसपीपी र विदेशी नागरिकहरूलाई समेत जन्मसिद्ध वंशज नागरिकता दिने नागरिकता विधेयक आदिको माध्यमबाट भारतीय विस्तारवाद, एकाधिकार पुँजीवाद र अमेरिकी साम्राज्यवाद अगाडि घुँडा टेकी स्वदेशमा आफ्नो सत्ता सदासर्वदा कायम गर्न चाहने दोस्रो पक्षबिच हुँदै छ । यस परिस्थितिमा पहिलो पक्षमा नेमकिपा पूर्णरूपले लागिपरेको देखिन्छ । यसले आफ्नो आवाज न्यायको लागि देशभित्र मात्र होइन विश्वसामु असंलग्न तथा पञ्चशीलको सिद्धान्तमा आधारित नेपालको परराष्ट्र नीतिलाई समर्थन गर्दै शक्तिशाली राष्ट्रहरूको कुनै दमन एवम् अतिक्रमणकारी कार्यको विरोध गर्दै आएको छ ।
सन्दर्भग्रन्थ सूची
१. प्रा. अमन श्रेष्ठ र सन्तनुप्रताप राणा । वि.सं. २०७५ । नेपालका चाडपर्व तथा राष्ट्रिय दिवसहरू । काठमाडौँ ः मधुवन प्रकाशन ।
२. डा. ऋषिप्रसाद शर्मा । वि.सं. २०६३ । नेपाल राष्ट्रिय चाडपर्व । काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
३. चेतोनाथ शर्मा आचार्य । वि.सं. २०४५ । हाम्रा धार्मिक चाडपर्व । काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
४. प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र–२०७९ । नेपाल मजदुर किसान पार्टी, केन्द्रीय निर्वाचन परिचालन समिति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *