भर्खरै :

नेमकिपा बहुमत कामदार वर्गका जनताको पार्टी

नेमकिपा बहुमत कामदार वर्गका जनताको पार्टी

भक्तपुर, २८ कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं. १ (ख) का प्रदेशसभा उम्मेदवार सुरेन्द्रराज गोसाईले नेमकिपाले स्थापनाकालदेखि नै बहुमत कामदार वर्गका जनतालाई सचेत र सङ्गठित गर्दै शक्ति निर्माण गरिरहेको बताउनुभयो ।
नेमकिपा भनपा २ वडा निर्वाचन परिचालन समितिको आयोजनामा भएको जनसभामा केन्द्रीय सदस्य गोसाईले जनतालाई चेतना नदिने शासक राजनीतिक दलहरू राजनीतिक ठग भएका प्रस्ट पार्नुभयो ।
नेपालका शासक दलहरूमध्ये ३३ वर्षको शासनकालमा कुन पार्टीले घोषणा पत्रअनुसार कति काम ग¥यो वा गरेन त्यसको मूल्याङ्कन गर्ने दिन मङ्सिर ४ भएको बताउँदै उहाँले शासक दलहरूले कमिसन खाएर देश ध्वस्त पारेको र भ्रष्टाचारको पैसा बाँडेर कार्यकर्ता र जनता भाँडेको बताउनुभयो ।
शासक पार्टीहरूले देश र जनताको हितमा काम नगरेको बरू अनेक नाउँमा देशको ढुकुटीमा ब्रह्मलुट गरेको र उद्योगपति र व्यापारीहरूबाट ठूलो रकम चन्दा असुलेकोले चुनावपछि जनताले महँगी ब्यहोर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
सभापतिको आसनबाट आयोजक समितिका संयोजक एवं नेमकिपा भक्तपुर नगर समितिका पूर्वसंयोजक रवीन्द्र खर्बुजाले निर्वाचनको बेला विभिन्न पुँजीवादी दलका नेताहरू चिप्ला कुरा र मिठा आश्वासन बाँडेर मत माग्न आइरहेको बताउँदै जनताको घरघरमा गएर तिनीहरूका देशघात र जनघातबारे जनतालाई सचेत पार्ने कार्य नेमकिपाका कार्यकर्ताहरूले गर्नुपर्छ भन्नुभयो ।
उहाँले देशघाती नागरिकता विधेयक र एमसीसी सम्झौता पारित गर्ने दलहरूलाई मत दिनु पुनः त्यस्तो राष्ट्रघातलाई बढावा दिनु भएको बताउँदै नेमकिपाको मादल चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो । सभामा आशकुमार कोजूले नेमकिपा स्थापनाकालदेखि देशभक्ति र सर्वहारा अन्तर्राष्ट्रवादको सिद्धान्तमा अडिग रहँदै जनताको सेवा गर्दै आएको पार्टी भएको चर्चा गर्नुभयो ।
उहाँले नेपालको राजनीतिमा भारतीय राजदूतावास र वाणिज्य दूतावासबाट तलब खानेहरू पनि सक्रिय रहेको बताउँदै देश जोगाउनको लागि नेमकिपाका देशभक्त र क्रान्तिकारी उम्मेदवारहरूलाई मतदान गर्नु अपरिहार्य छ भन्नुभयो ।
बासु माविका पूर्वप्राचार्य बालमुकुन्द बासुकलाले प्रतिक्रियावादी दलका कार्यकर्ताहरूले आफूलाई नआउने मत बदर गराउन अनेक जालझेल गर्ने बताउँदै मतदाताहरूलाई सही तरिकाले छाप हान्ने र मतदान गर्ने शिक्षा दिन जरूरी छ भन्नुभयो ।
आयोजक समितिकै लक्ष्मीभक्त लासिवाले देशमा बहुदलीय प्रजातन्त्र र गणतन्त्र आए पनि बहुमत कामदार वर्गका जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताउँदै शासक दलहरूले नेपाली जनताप्रति गरेको विश्वासघात नै त्यसको कारण हो भन्नुभयो ।
सभामा आयोजक समितिका सदस्य मीरा दुगुजुले स्वागत मन्तव्य राख्नुभएको थियो भने बालाखु सांस्कृतिक समूहका कलाकारहरूले जनताको पार्टी नेमकिपालाई विजयी गराउनुपर्ने आशयको गीत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *