भर्खरै :

प्रजग कोरिया शत्रुसामु नझुक्ने देश

प्रजग कोरिया शत्रुसामु नझुक्ने देश

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया एक स्वाधीन समाजवादी राज्य हो । अमेरिकाको साम्राज्यवादी नीतिको निरन्तर विरोध गरिरहने एक देश प्रजग कोरिया पनि हो । संसारका सबै स्वाधीन र सार्वभौम देशहरू सुरक्षित हुनुपर्छ । तर, संसारका दर्जनौँ देशमा अमेरिकी सेना तैनाथ छ । अमेरिकाले कुन देशमा कहिले हमला गर्छ भन्ने यकिन छैन । अमेरिकाले कहिले एक्लै त कहिले संयुक्त भएर अन्य स्वाधीन देशहरूमा हमला गर्दै आएको कसै सामु लुकेको छैन । अमेरिकाकै कारण संसारका स्वतन्त्र देशहरू आतङ्कित छन्, भयभित छन् । प्रजग कोरिया साम्राज्यवादी आक्रमणकारीहरूविरुद्ध विचलित नभइकन अघि बढिरहेको देश हो । मातृभूमिको मुक्ति र जनताको स्वतन्त्रताको निम्ति लडिरहेको देश हो प्रजग कोरिया ।
प्रजग कोरियाको सार्वभौमिकता मजदुर, किसान, कामदार र बुद्धिजीवी जनतामा निहित छ । प्रजग कोरियाका सबै राज्यका अङ्गहरू प्रजातान्त्रिक केन्द्रीयतावादको सिद्धान्तमा लागु हुन्छ । त्यहाँको सामाजिक व्यवस्था जनताकेन्द्रित व्यवस्था हो । समाजको हरेक क्षेत्रले मजदुर र किसानको सेवा गर्छ । वैचारिक प्राविधिक र सांस्कृतिक क्रान्तिपछि प्रजग कोरिया स्वाधीन र सार्वभौम देश हो । प्रजग कोरिया शत्रुसामु नझुक्ने देश हो । प्रजग कोरिया सरसफाइको देश हो, शिक्षाको देश हो । प्रजग कोरिया बुद्धिजीवीहरूको देश बनाउने अभियानमा छ । खेतीपातीमा काम गर्ने किसान, कारखानामा काम गर्ने मजदुर र माछा मार्ने माझीहरूलाई पनि उच्च शिक्षा दिलाउने काममा प्रजग कोरिया प्रयत्नशील छ । प्रजग कोरिया जनतामा केन्द्रित राज्य व्यवस्थाको देश हो । जनतालाई देशको मालिक सम्झेर त्यहाँको राज्य व्यवस्था चलिरहेको छ । त्यस्तो देशमा साम्राज्यवादी अमेरिकाले दशकौँदेखि आर्थिक नाकाबन्दी लगाएको छ । प्रजग कोरियामाथिको नाकाबन्दी अहिले पनि हटेको छैन । आर्थिक नाकाबन्दी नभएको भए, अमेरिकाले आक्रमण गर्ने कुनै डर नभएको भए प्रजग कोरिया पनि एक विकसित देश बनिसक्थ्यो ।
प्रजग कोरिया दक्षिण कोरियासँग एकीकरण गर्ने पक्षमा छ । एउटै कोरिया बनाउन प्रजग कोरियाका महान् नेता किम इल सङ र प्रिय नेता किम जङ इलले धेरै प्रयास गरेका थिए । तर, कोरिया एकीकरणमा साम्राज्यवादी देश अमेरिका बाधक बन्यो । विचार नमिलेको आधारमा या साम्राज्यवादी नीतिको विरोध गरेको नाउँमा कुनै देशमाथि आर्थिक नाकाबन्दी गर्नु ठीक होइन । यो साम्राज्यवादी देश अमेरिकाको अहङ्कार हो, बल मिचाइ हो । कुनै देशले साम्राज्यवादको विरोधमा गरेको आधारमा आर्थिक नाकाबन्दी गर्ने हो भने कुनै देशले कम्युनिस्ट पार्टीको धुरन्धर विरोध गरिरहेका छन् । कम्युनिस्टको विरोध गर्ने देशलाई पनि आर्थिक नाकाबन्दी गर्नुप¥यो नि ! ठूला शक्ति राष्ट्र अमेरिका अरू देशमा आक्रमण गर्ने, देश देश लडाएर हतियार बेच्ने, देशमा आन्तरिक द्वन्द्व चर्काएर तमासा हेर्ने र कमजोर बनाउनेतर्फ साम्राज्यवादी देश केन्द्रित छ । प्रजग कोरियाले जनताको राजनैतिक र सैद्धान्तिक एकतामा जोड दिइरहेको छ । राज्यले समाजका सबै सदस्यलाई क्रान्तिउन्मुख बनाउने प्रयास गरिरहेको छ । प्रजग कोरिया बुद्धिजीवीकरणको अभियानमा छ । राज्य वर्गीय नीतिप्रति अडिग छ ।
राज्यको सम्पत्तिमा सम्पूर्ण जनताको स्वामित्व हुन्छ । राज्यले आफ्नो स्वामित्वमा राख्न सक्ने सम्पत्तिको कुनै सीमा छैन । देशका प्राकृतिक स्रोत, रेल मार्ग, हवाई सेवा, यातायात, सञ्चार, प्रमुख कल कारखाना, उद्योग व्यवसाय, बन्दरगाह र बैङ्क राज्यकै स्वामित्वमा रहेको छ । राज्यले किसानहरूको सैद्धान्तिक स्तर उठाउन, प्राविधिक र सांस्कृतिक पक्षको विकास गर्न जोड दिइरहेको छ । प्रजग कोरियाको अर्काे महत्वपूर्ण पक्ष सबै कामदार जनतालाई गाँस, बास र कपासको व्यवस्था गर्नु हो ।
प्रजग कोरियाको प्राविधिक, सांस्कृतिक र वैचारिक क्रान्ति समाजवादी अर्थतन्त्रको विकास गर्ने आधारभूत श्रृङ्खला हो । ग्रामीण प्राविधिक क्रान्ति, कृषिमा औद्योगिकीकरण र आधुनिकीकरण गर्ने काम राज्यले प्राथमिकतासाथ कार्यान्वयन गरिरहेको छ । प्रजग कोरिया सहर र गाउँबिचको भेद हटाउन, मजदुर र किसानबिचको भेद हटाउन लागिपरेको छ । राज्यले आफ्नै खर्चमा गाउँमा आधुनिक घरहरू निर्माण गरिरहेको छ । राज्यले जनताको श्रमको उचित मूल्याङ्कन गरिरहेको छ ।
प्रजग कोरियामा समाजवादी संस्कृतिको विकास भइरहेको छ । कामदार जनतालाई प्रविधि र संस्कृतिबाट मुक्त समाजवाद निर्माण गर्न राज्यले प्रशिक्षित गरिरहेको छ । कामदार जनताको सेवा गर्नु नै प्रजग कोरियाली सरकार र कोरियाली मजदुर पार्टीको उद्देश्य हो । अहिले प्रजग कोरियामा समाजवादी जीवनशैलीको विकास भइरहेको छ । राज्यले जनताको जीवनको रक्षा गरिरहेको छ । प्रजग कोरियाको सशस्त्र सेना कामदार जनताको हितको रक्षा गर्छ, समाजवादी व्यवस्थाको रक्षा गर्छ । क्रान्तिबाट प्राप्त उपलब्ध बचाउनु, देशको स्वतन्त्रता र शान्तिको रक्षा गर्नु पनि सेनाको उद्देश्य रहेको छ । राज्यले जनतालाई मात्र होइन सेनालाई पनि राजनीतिक र वैचारिकरूपमा सुसज्जित पार्ने काम गरिरहेको छ ।
प्रजग कोरियाका नागरिकहरूले योग्यताअनुसार काम गर्नेछन् । तिनीहरूको कामको गुण र मात्राअनुसार पारिश्रमिकको व्यवस्था हुन्छ । काम गर्ने समय निर्धारण गरिएको छ । नागरिकहरूले निःशुल्क चिकित्सा सेवा पाउनेछन् । वृद्धवृद्धा, बिरामी, अशक्तहरूको निम्ति आवश्यक हेरविचार र पालनपोषण गर्न अधिकारीहरू खटाइएका हुन्छन् । क्रान्तिकारी योद्धा, क्रान्तिकारी र देशभक्त सहिदहरूको परिवार, जनसेनाका सैनिकहरूको परिवार र अशक्त सैनिकहरूलाई राज्यले विशेष संरक्षण गरेको हुन्छ । राज्यले सुत्केरी बिदा दिएर, धेरै बालबच्चा भएका आमाहरूको काम गर्ने समय घटाएर, प्रसूति गृहको व्यवस्था गरेर, शिशु स्याहार केन्द्र तथा बालोद्यानको व्यवस्था गरेर आमा र बालबालिकाहरूको रक्षा गर्ने व्यवस्था गरेको छ । यसरी प्रजग कोरियामा समाजवादी बन्दोबस्तअनुसार जनताकेन्द्रित भएर अघि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *