स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
राजनीति पद र पैसाको लागि होइन । राजनीति अग्रगमनको लागि हो । राजनीति समाज र देशको मुहार फेर्न हो । राजनीतिक दलको सिद्धान्तले दिशा निर्देश गर्छ र त्यसैको आधारमा दलका नेताहरूले जनतामाझ विचार प्रवाह गर्छन् या जनतालाई सुसूचित पार्छन् । हरेक दलका नेताहरूको जिम्मेवारी हुन्छ । त्यो जिम्मेवारी पूरा गर्न दलको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्न उनीहरू जुटेका हुन्छन् । पद, पैसा र स्वार्थका निम्ति विचार, सिद्धान्त र दल फेर्ने नेताहरू कहिले पनि गतिला हुँदैनन् । सत्ता स्वार्थका निम्ति या केही सांसद जित्नको निम्ति सिद्धान्त र विचारको ख्याल नगर्ने नेताहरू कसरी शुद्धिबुद्धिका हुन्छन् ।
राजनीतिक दलहरूले आ–आफ्नो क्षेत्रमा चुनाव प्रचार गरिसकेका छन् । कति जनताले दलहरूको अवधारणा बुझे होलान् । कति जनताले आफ्नो मत कुनै दलका उम्मेदवारलाई जिताउने मनसाय राखे होलान् र दलको चुनाव चिह्न रोजे होलान् । आफूले रोजेका दलका उम्मेदवारलाई जिताउन, छान्न मङ्सिर ४ गते निर्वाचन हुँदै छ । निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुनुपर्छ । निर्वाचन बिथोल्ने र हुलदङ्गा गर्ने कार्यतर्फ सुरक्षा निकाय सतर्क हुनुपर्छ । हरेक मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्छ । कुनै पनि मतदातालाई आतङ्कित पार्ने, तर्साउने, लोभलालचमा फसाउने क्रियाकलाप रोकिनुपर्छ ।
विगतको निर्वाचनमा मतपेटिका तोडफोड गर्ने, बुथ कब्जा गर्ने, ढुङ्गामुढा गरेर मतदान बिथोल्ने काम भएको थियो । कति ठाउँमा निर्वाचन नै स्थगित भयो । अतः यो पटक देशभरिकै निर्वाचन संयमतापूर्वक सम्पन्न हुनुपर्छ । यसमा निर्वाचन आयोग र सुरक्षा निकाय सतर्क हुनुपर्छ । मतदानमात्र शान्तिपूर्ण र मर्यादित भएर पुग्दैन । मतगणना गर्ने स्थलमा विगतमा धाँधली भएको थियो । मतगणनामा संलग्न कर्मचारी या आबद्ध व्यक्तिहरू निष्पक्ष हुनुपर्छ । कसैको दबाब या प्रभावमा परेर मतगणना गर्नुहुँदैन ।
मतगणना समयमै सुरू गर्नुपर्छ । मतगणनासँगै बेलाबखत कसले कति मत पाए सोको विवरण सार्वजनिक भइरहनुपर्छ । मतगणनामा पनि सर्वसाधारण जनताको ध्यान गएको हुन्छ । कसले कति मत पाए भन्नेतर्फ चासो हुन्छ । देशैभरिका मतदान केन्द्रहरूको मत सार्वजनिक नहोउञ्जेल या नतिजा नआउञ्जेल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, निर्वाचन अधिकृत र मतगणनामा संलग्न सबै सरोकारवाला पक्ष संवेदनशील हुन्छ । आ–आफ्नो स्थानमा सबैले इमानदारीपूर्वक र जिम्मेवारीपूर्वक काम बहन गर्नुपर्छ ।
Leave a Reply