चैत ५ गते तोकिएको स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनहरूसँग छलफल
- माघ २७, २०८१
भक्तपुर, ४ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ अन्तर्गत भक्तपुर जिल्लामा मतदान शान्तिपूर्णरूपमा सम्पन्न भयो । निर्वाचन सफल पार्न र मत खसाल्न मतदाताहरू बिहानैदेखि मतदान केन्द्रहरूमा पुगेका थिए ।
सोही क्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिका वडा नं. ५ को विद्यार्थी निकेतन मावि मतदान केन्द्रमा बिहान सवा दस बजे मतदान गर्नुभयो ।
मतदानपछि पत्रकारहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष बिजुक्छेँले आम निर्वाचन पुँजीवादी प्रजातन्त्रको एक नियमित प्रक्रियामात्र भएकोले निर्वाचनबाट ठूलो परिवर्तनको आशा गर्न नसकिने स्पष्ट पार्नुभयो ।
निर्वाचन जनमतको परीक्षण, जनताको अभिमत र अभिव्यक्ति स्वतन्त्रताको अधिकार पनि भएकोले यसको उपयोग गर्नुपर्ने बताउँदै उहाँले सचेत जनताले देश र जनताको वास्तविक हित हुने नीतिको पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो । उहाँले नेमकिपाको निर्वाचन घोषणापत्र र पार्टीले विगतमा खेलेको भूमिकालाई मूल्याङ्कन गरेर सचेत मतदाताले नेमकिपालाई मतदान गर्ने विश्वास रहेको बताउनुभयो ।
पुँजीवादी निर्वाचन विकृति र विसङ्गतिहरूबाट मुक्त हुन नसक्ने औँल्याउँदै अध्यक्ष बिजुक्छेँले प्रधानमन्त्री शेरबहादुर देउवाले मतदातालाई रकम बाँडेको खबर व्यापक भएको र यदि त्यो सत्य हो भने आचारसंहिताको खुलमखुला उल्लङ्घन भएको बताउनुभयो । उहाँले आचारसंहिता पालना गराउने पदमा रहेका प्रधानमन्त्री पदमा रहेको व्यक्तिले नै आचारसंहिताको खुलमखुला उल्लङ्घन गरेमा उसको पार्टी र गठबन्धनका उम्मेदवार र कार्यकर्ताबाट कस्तो व्यवहारको अपेक्षा गर्न सकिएला भनी प्रतिप्रश्न गर्नुभयो ।
त्यस्तै नेमकिपाका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवालले भक्तपुर नगरपालिका वडा नं. ६ को ख्वप कलेज मतदान केन्द्रमा मतदान गर्नुभयो ।
उहाँले भक्तपुर क्षेत्र नं. १ का जनताले देशभरिकै जनताले नेमकिपाको भूमिकालाई सकारात्मकरूपमा मूल्याङ्कन गरे नेमकिपाको जीत सुनिश्चित देखेको बताउनुभयो ।
निर्वाचन शान्तिपूर्ण प्रतिस्पर्धाको विधि भएको हुनाले निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित बनाउन सबैले ध्यान दिनुपर्ने विचार व्यक्त गर्दै उहाँले हाकाहाकी निर्वाचन ऐन र आचारसंहिता उल्लङ्घन गरेका दल र उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाही गर्न नसकेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, अर्का केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार सरोजराज गोसाई, भक्तपुर क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार सुरेन्द्रराज गोसाईले भनपा ८ को ख्वप इन्जिनियरिङ कलेज मतदान केन्द्रमा मतदान गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार अनुराधा थापामगरले मध्यपुर थिमि नगरपालिकाको सानोठिमी क्याम्पस मतदान केन्द्रबाट मतदान गर्नुभयो । भक्तपुर क्षेत्र नं. २ (क) का प्रदेशसभा सदस्य उम्मेदवार रमेश वैद्यले नगदेश मतदान केन्द्रबाट मतदान गर्नुभयो भने क्षेत्र नं. १ (क) का प्रदेशसभा उम्मेदवार मिनबहादुर बाटाले छालिङ ५ नं. वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभयो ।
Leave a Reply