भर्खरै :

जनता सचेत नभएसम्म पुँजीपति वर्गको सरकारले रजाइँ गरिरहने

निर्वाचन जनताको राजनीतिक चेतनास्तर नाप्ने ब्यारोमिटर हो । यो नेमकिपाले उठाउँदै आएको विषय हो । यसको पुष्टि आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबाट हुनेछ । देशमा बहुमत जनता गरिब छन् या कामदार वर्गका छन् । ती नै कामदार वर्गलाई सामन्त, जमिनदार र पुँजीपतिहरूले शोषण गर्छन् । श्रमजीवी वर्गमाथि शोषण गर्ने दल र दलका उम्मेदवारहरूलाई ती नै जनताले मतदान गर्छन् । आफ्नो वर्गलाई दमन गर्ने शोषण गर्ने, श्रमजीवी जनताले पुँजीपति र सामन्तलाई किन मत हाल्छन् र जिताउँछन् ? यसले श्रमजीवी जनतामा अझै राजनीतिक चेतना नभएको थाहा हुन्छ ।
जहिलेसम्म जनतामा राजनीतिक, सैद्धान्तिक र सांस्कृतिक चेतना हुँदैन, तहिलेसम्म सामन्त, शोषक र पुँजीपति वर्गले राज गरिरहेका हुन्छन् । अहिले देशमा पुँजीवादी व्यवस्था छ । पुँजीवादी व्यवस्था ढाल्न श्रमजीवी वर्ग अघि बढ्नुपर्ने हो, श्रमजीवी जनताले पुँजीवादी व्यवस्थाका उम्मेदवारहरूलाई हराउनुपर्ने हो । बहुमत श्रमजीवी जनताको मत लिएर उनीहरू नै बढी जित्छन् । यो बहुमत जनतामा राजनीतिक चेतनाको कमीले गर्दा भएको हो । समयको गतिसँगै जनतामा चेतना बढ्दै गएको यथार्थ हो । तर, व्यापक जनतामा त्यो चेतना जागेको छैन । जनतामा राजनीतिक चेतना नभएकै कारण कति मतदाता सबै दललाई उस्तै देख्छन्, सबै उम्मेदवारलाई उस्तै देख्छन् । जित्नेलाई भोट हाल्नुपर्छ, सरकारमा जानेलाई भोट हाल्नुपर्छ भन्नुको कारण पनि राजनीतिक अज्ञानता हो ।
जनताको ध्यान कुन दल सरकारमा छ, कुन दलका उम्मेदवारहरू जित्छन् भन्नेतर्फ होइन । जनताले असल दल र असल उम्मेदवारलाई जिताउनुपर्ने हो । यो निर्वाचनले पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दलका बढी उम्मेदवारहरू निर्वाचित गरे श्रमजीवी जनतामा अझै राजनीतिक चेतना पुगेको छैन भन्ने थाहा हुन्छ । सबै उस्तै छन् भनी मतदान नै नगर्नु, जित्नेलाई भोट भनी पुँजीपति वर्गलाई नै मतदान गर्दा प्रतिनिधिसभा र प्रदेशसभामा कसरी असल या सही व्यक्ति पुग्छ ? जनतामा राजनीतिक चेतना भएको भए श्रमजीवी वर्गमाथि रजाइँ गर्ने दल र दलका उम्मेदवारलाई मत हाल्दैन । गलत व्यक्ति छनोट गरेपछि नतिजा गलतै आउँछ । पुँजीपति वर्गको हित गर्ने दल र दलका उम्मेदवारले श्रमजीवी वर्गको हित हुने ऐन कानुन बनाउँदैन । श्रमजीवी वर्गको हित नहेर्ने दलको सरकारले कसरी देश र जनताको सेवा गर्छ ?
नेमकिपा राजनीतिक चेतना जगाउने अभियानमा छ । निर्वाचनको बेलामात्र होइन अरू समयमा पनि नेमकिपा जनतालाई राजनीतिक, सैद्धान्तिक र सांस्कृतिकरूपमा सुसूचित पार्ने काममा निरन्तर लागिरहेको छ । तर, अरू दलहरूले जनतालाई राजनीतिकरूपले शिक्षित बनाउने काम गरेनन् । यही कारण प्रत्येक पटकको निर्वाचनमा कहिले को जित्छ कहिले को हार्छ, निश्चित हुँदैन । सङ्गठित र सचेत मतमा पहिले र अहिलेको धेरै हेरफेर हुँदैन । जनताले सही नेतृत्व र सही उम्मेदवार चयन गर्न नसक्नुको कारण राजनीतिक चेतनाको कमी हो । आफूले आफ्नै वर्गको हित हेर्ने दल र दलका उम्मेदवारलाई चिन्न नसकेरै देश र जनताले दुःख पाइरहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *