इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
रोटी बेटी रिश्ताः सभ्यताको अनुपम सम्बन्ध
(सन् २००२ देखि २००६ सम्म नेपालमा कार्यरत भारतका राजदूत रञ्जित रेका संस्मरण ‘काठमाडौँ डिलेमा – रिसेटिङ इन्डिया नेपाल टाइज’ नामक पुस्तकको भावानुवाद सान्दर्भिक भएको हुँदा यहाँ प्रस्तुत गरिएको छ । धारावाहिकरूपमा हामीले १२ भागसम्म प्रकाशित गरिसकेका छौँ । त्यस बा¥हौँ भागसम्ममा पुस्तकका सातौँ अध्यायका कुराहरू समावेश भइसकेका छन् भने पुस्तकको आठौँ अध्यायमा ७२ सालको भूकम्पमा भारतले नेपालमा गरेको सहयोगको चर्चा गरिएको छ र सो चर्चा पहिलो अध्यायमा पनि धेरै उल्लेख भइसकेको हुनाले यस आठौँ अध्यायको भावानुवाद यहाँ समावेश गर्न आवश्यक नदेखिएकोले आज (१३ औँ भागमा पुस्तकको नवौँ अध्यायको भावानुवादको सारांशलाई प्रकाशित गरिएको छ । अन्तमा, लेखकका विचारहरूमाथि प्रस्तुतकर्ताको आलोचनात्मक टिप्पणी पनि समावेश गरिएको छ । – सम्पादक )
म काठमाडौँमा हुँदा शिवरात्रिको दिन पशुपतिको दर्शन गर्न दूतावासले सबै बन्दोबस्त मिलाइसकेको थियो । मैले हजारौँ लाखौँ भक्तजनको भिड हुने दिनमा जान उचित ठानिनँ र पछि कुनै दिन गएर पशुपतिको दर्शन गर्ने आफ्नो इच्छा व्यक्त गरेँ । तर, दूतावासका कर्मचारीले असन्तोष व्यक्त गरे । उनीहरूको राय थियो – यो दिन नेपालका विदेशी दूतावासबाट पशुपतिको दर्शन गर्ने भनेको भारतीय दूतावासबाट मात्र हो । यसका लागि पशुपति विकास कोषका पदाधिकारीहरूले आवश्यक चाँजोपाँजो गरिसकेका हुन्छन् र हामी नजाँदा अन्यथा सोच्लान् । म गएँ र विकास कोषका सचिव विद्वान मित्र गोविन्द टन्डनले स्वागत गर्नुभयो । मैले सोचेको भन्दा विपरीत अन्य सर्वसाधारण भक्तजनहरूले पनि मेरो भ्रमणलाई हार्दिक स्वागत गरे । भारतका विभिन्न भागबाट शिवरात्रीमा नेपालको निमन्त्रणामा आउने नागा बाबाहरूबाट पनि मैले आशिष पाएँ । ती नागा बाबाहरूलाई नेपाल सरकारले विशेष दक्षिणा पनि प्रदान गर्नेरहेछ । पशुपतिको मूल पुजारीलगायत उनका तीन कनिष्ठ पुजारीहरू भारतको कर्नाटकका बाहुन भट्टहरू हुन्थे भन्ने कुरा मैले मात्र थाहा पाएँ । पहिलोपल्ट माओवादीहरू सरकारमा आएको बेला यी नै भारतीय मूल भट्टलाई हटाई नेपाली भट्ट नियुक्ति गर्न खोज्दा नेपालीहरूकै चर्काे विरोध र भारतकै असहमतमा त्यो कामबाट माओवादी पछि हट्नु परेको थियो । यस्तो थियो नेपाल र भारतबिचको सभ्यताले जोडेको सम्बन्ध । सन् २०१४ मा पहिलो साउने सोमबार भारतका प्रम मोदीको पशुपति भ्रमण पनि भव्यरूपमा सम्पन्न भएको थियो । प्रम मोदीले दुई करोड मूल्य बराबरको श्रीखण्ड पशुपतिमा चढाएका थिए । यस्तै नेपालका राजाले उडिसाको जगनाथ मन्दिरमा कस्तुरी चढाउँथे ।
नेपालको राजा जनकद्वारा शासित जनकपुर प्राचीन मिथिलाको राजधानी मानिन्थ्यो । किवदन्तीअनुसार सीता माताको जन्म भारतको सितामधिमा भए पनि उनको हुर्काइ र लालनपालन जनकपुरमै भएको थियो । अयोध्याका राजकुमार रामसँग उनको स्वयम्बर पनि यहाँको विवाह मण्डपमा भएको थियो । यहाँको नौलाख मन्दिर पनि त्यतिकै प्रख्यात मानिन्छ जसलाई नौ लाख खर्च गरेर अर्चाका रानी तिकमघरले निर्माण गराएका थिए । तर, यही जनकपुर आज ओझेलमा परेको वा पारिएको हुन् कि भन्ने आशङ्का छ । जनकपुरजस्तै बौद्धमार्गीहरूकोे आस्थाको धरोहर लुम्बिनी क्षेत्र हो, जसलाई युनेस्कोले विश्व सम्पदाको सूचीमा समावेश गरेको छ । विश्वको ध्यान यसको उन्ननयमा गएको देखिन्छ जबकि जनकपुर सायद तराईको सहर र यहाँ दर्शनार्थीहरू भारतबाट आउने र धेरै गरिब भक्तजन भएर होला यो पछि परेको देखिन्छ । हिन्दूमात्रको भएर होला, यसको विकास र उन्ननयको लागि भारतले बाहेक अरूले यसको चासो लिएको देखिँदैन । जनकपुरलाई पनि विकास गर्न भारत, नेपाल र श्रीलङ्कालाई जोड्ने रामायण सर्किटको बारेमा भारतको पहलमा गर्न खोजेको विकास धेरै अघि बढ्न सकेको छैन ।
भारतीयहरूको लागि नेपालमा धेरै धार्मिक आस्थाका पुञ्जहरू भएजस्तै नेपालीका लागि पनि भारतका चारधाम केदार, बद्री, यमोनत्री र गङ्गोत्री उत्तिकै महत्वपूर्ण मानिन्छ । काशी र गया पिण्ड दानको लागि अर्को महत्वपूर्ण घाट मानिन्छ । धार्मिकरूपले मात्र होइन सांस्कृतिक र शैक्षिक दृष्टिले पनि नेपालको लागि भारत महत्वपूर्ण रहँदै आएको छ । नेपालका पण्डितहरूले दीक्षा लिने बनारसकै वैदिक संस्थाहरूबाट हो । महाराज निरगुणानन्दको नामले चिनिएका रणबहादुर शाहले सन् १८०० मा राजपात त्यागी सन्न्यास लिँदा पनि बनारसमै बसेका थिए । नेपालका नेताहरू बीपी कोइरालादेखि मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईदेखि अन्य विभिन्न नेपाली व्यक्तित्वहरू शिक्षित र दीक्षित भएको पनि बनारसमै हो । बनारस हिन्दू विश्वविद्यालय पनि नेपालीहरूको लागि शैक्षिक गन्तव्य रहिआएको छ । त्यस्तै नेपालको गोर्खा र भारतको गोरखपुरनाथ सम्प्रदायसँग सम्बन्धित देखिन्छ । भारतको गोरखनाथका महन्तहरूको सम्बन्ध नेपालका शाह राजाहरूसँग रहेको देखिन्छ । उत्तर प्रदेशका मुख्यमन्त्री महन्त आदित्य नाथको सम्बन्ध नेपालका राजाहरूसँग रहेको विश्वास गरिन्छ । पूर्व महन्त अवैद्यनाथको सम्बन्ध राजा वीरेन्द्रसँग सुमधुर रहेको मानिन्छ । यसरी धार्मिक स्थल र यहाँ हुने संस्कारगत आदानप्रदान भनेको नेपाल र भारतबिचको सांस्कृतिक र सभ्यताका सम्बन्धका आयामहरू हुन् जसले दुई देशको सम्बन्धलाई एक सूत्रले बाँधेको छ ।
हिन्दू धर्मसँग मात्र नेपाल र भारत जोडिएको छैन बरु भारतमा बौद्ध धर्म सुषुप्त अवस्थामा हुँदा नेपाल र तिब्बतमा फस्टाउँदै थियो । नेपाल र तिब्बतमै बौद्ध धर्मको महायान सम्प्रदाय हिन्दू धर्मको तान्त्रिक परम्परासँग समिश्रण भई बज्रयान धर्मको नयाँ सम्प्रदाय देखापरेको थियो । हिन्दूहरूका दुई देवताहरू हनुमान र गणेश विहारमा पनि स्थापित भएको पाउनु र बौद्ध धर्मको ग्रन्थ प्रजन पारमिता पाली भाषामा नभई संस्कृत भाषा हुनु दुई धर्महरूको अन्तर घुलनको बलियो प्रमाण हो । मुस्ताङ जिल्ला यी दुई धर्मको मिश्रण भएको ज्वलन्त उदाहरण मान्न सकिन्छ । त्यस्तै, काठमाडौँ उपत्यकाका नेवार समुदाय पनि हिन्दू धर्म र बौद्ध धर्मको संयोजनको अनुपम उदाहरण नै हो । यही नेवार समुदायको कला, कौशल र विशेषगरी उनीहरूको रातो इँटा अथवा टेलिया इँटाले बनेका घर, मठ, मन्दिर चोकहरूले यस उपत्यकाको सांस्कृतिक सौन्दर्यलाई निखारेको छ । पौभा आर्ट, काष्ठकला, धातु र मूर्तिकला, वास्तुकला एवं विभिन्न चाडपर्वमा देखाइने मुकुन्डो नाचहरूले पनि यहाँको संस्कृतिलाई अत्यन्त धनी बनाएको छ । अरनिको एक प्रख्यात नेवार कलाकार मानिन्छ । उनले शिखर शैलीको मन्दिरहरूको डिजाइन गरेको मानिन्छ र उनको कलाकारिता चीन, तिब्बत, भुटान र अन्य पूर्व एसियाका देशहरूसम्म फैलिएका थिए ।
यी धनी र सम्पन्न नेवार कला र संस्कृतिको बारेमा मलाई पाटनका नगर प्रमुख एवं संस्कृति मन्त्री भइसक्नुभएका ज्येष्ठ नागरिक बुद्धिराज बज्राचार्यले अवगत गराउनुभएको थियो । बज्राचार्यका अनुसार नेपाल र भारतको बिच बौद्ध धर्मको सम्बन्ध सम्राट अशोकको पालादेखि नै रहेको थियो । सम्राट अशोकले आफ्ना छोरी चारुमतीलाई नेपाल पठाएका थिए र उनले काठमाडौँको चारुमतीमा सानो स्टुपको निर्माण गरेका थिए । चारुमतीको विवाह नेपालका राजकुमारसँग भएको मानिन्छ । मल्ल राजाहरूबाट शासित काठमाडौँ उपत्यकाका समृद्ध नेवार यहाँका रैथाने भएको मानिन्छ । उपत्यकाका ती नै सहरका नेवारहरू रगतको नाता र वैवाहिक सम्बन्धले एक आपसमा जोडिएका थिए । तिब्बतसँग व्यापार गर्ने उपत्यकाका नेवारहरू एकआपसमा कला, संस्कृति, मठमन्दिर निर्माणमा प्रतिस्पर्धा पनि गर्थे ।
मल्ल राजाहरूले मिथिलाका झा थरका पुरोहितहरूलाई पण्डित्याइँ गर्न दरबारमा निमन्त्रण गरेको मानिन्छ । त्यसैले दरबारमा संस्कृत र मैथली भाषा दुबै बोलिने परम्परा पनि भएको देखिन्छ । यसरी हिन्दू र बौद्ध धर्मका बिचको सम्बन्धबाहेक उपत्यकामा शिख र इस्लाम धर्मसँग पनि सम्बन्धित भएको भेटिन्छ । शिख धर्मका प्रवर्तक गुरु नानकको उपत्यका भ्रमणमा राजा रत्न मल्लले उनलाई नानक मठ निर्माण गर्न जग्गा प्रदान गरेको थियो । त्यस्तै तिब्बतसँगको व्यापारमा निपुण भएको मानिएकोले कास्मिरीहरूलाई पनि कास्मिरी टाकिया र जामेमस्जिद निर्माण गर्न राजा रत्न मल्लले नै जग्गा प्रदान गरेका थिए । राजनैतिकरूपमा पनि नेपाल र भारत दुवै देशले एक अर्काका राजनैतिक नेता र कार्यकर्ताहरूलाई राजनैतिक आश्रय प्रदान गरेको लामो इतिहास छ । दुई देशबिच खुला सिमाना क्षेत्रका भारतीय र नेपाली जनताबिच मात्र वैवाहिक र नाता सम्बन्ध कायम हुने गरेको छैन, नेपालका कुलीन–शासक वर्गहरू जस्तै शाह र राणाहरूको वैवाहिक सम्बन्धहरू पनि भारतीय महाराजाहरूको परिवारसँग हँुदै आएको छ । ग्वालियर, बरोडा र काश्मिरका राजामहाराजाका परिवारहरू नेपालका राणा परिवारहरूसँग नाता सम्बन्ध रहिआएको छ । दक्षिणको तराईका जनताबिच मात्र होइन, पश्चिममा महाकाली वारि र पारि र पूर्वमा दार्जलिङ र सिक्किमका जनतासँग पनि नेपाली जनताको उत्तिकै सम्बन्ध प्रगाढ छ । तर, दुई देशबिचको सीमा क्षेत्रहरू उत्तर प्रदेश र विहारका फराकिलो नयाँ राजमार्गबाट जोडिन त बाँकी नै छ । यसले गर्दा सिमानाका अझ विशेष गरेर भारततिर धेरै अस्तव्यस्त सडक, ढल, निकास र भिडभाडको बजार, स्वस्थकर खाजा खाने स्थानको अभाव र असरल्ल परेका फोहरमैलाले वातावरणलाई असहज भने पक्कै बनाएको छ । भारत सरकारले यसको व्यवस्थापनको लागि सीमा व्यवस्थापन विभागको स्थापना पनि गरिसकेको छ । नेपाल पनि सङ्घीय प्रणाली भइसकेकोले दुई देशको प्रान्तीय सरकारहरूबिच राम्रो समन्वय भएमा सीमा व्यवस्थापन यथाशीघ्र राम्रो गर्न सकिनेछ । नेपालको तराई क्षेत्रमा रहेका केही राम्रा आँखा अस्पतालहरूमा मैले धेरै भारतीय नागरिकहरूको चाप देखेँ । यसरी नै नेपालीहरू दिल्ली अस्पतालमा सेवा लिन्छन् । दुई देशबिचको यस्तो सम्बन्धलाई सौहार्दरूपमा कायम गरी अगाडि बढाउन कडा निगरानी र आशङ्कै आशङ्काले भरिएको सीमा व्यवस्थापनभन्दा खुला, जीवन्त र शान्त सीमा नै दुबै देशको हितकर हुनेमा दुईमत छैन ।
लेखकको भनाइमा आलोचनात्मक टिप्पणी :
१. हो, सन् १९४७ मा भारतको जन्म हुनुभन्दा धेरै पहिलेदेखि नेपाल र भारतबिचको धार्मिक, सांस्कृतिक, शैक्षणिक र राजनैतिक सम्बन्ध जनताको स्तरमा प्रगाढ रहिआएको छ । सुगौली सन्धिपूर्व दक्षिणमा प्रयागसम्म नेपालकै भूभाग रहेको मानिन्छ भने पूर्वमा आसामसम्म र पश्चिममा सतलज नदीसम्म । प्राचीन र मध्यकालमा भारतवर्षभरि र नेपालमा समेत विभिन्न राजा रजौटाहरूको शासन कायमै थियो । ती स–साना राज्य र गणराज्यहरूबिचको लडाइँ र झगडाले ती राज्यहरूको राजनैतिक सिमानाहरू र शासन गर्ने शासकहरू भने हेरफेर भइरहन्थे । तर, जनताको धार्मिक र सांस्कृतिक तथा वैवाहिक र अन्य सम्बन्धहरू यथावत नै रहिरहे । सन् १९४७ मा भारतको जन्म भएपश्चात् पनि नेपालसँगको धार्मिक र सांस्कृतिक स्थानहरूमाझ र जनताको सामाजिक सम्बन्धहरू यथावत देखिनु अस्वाभाविक भएन । यही कुरालाई लिएर यस पुस्तकका लेखक र अन्य राजनैतिक नेताहरू र विद्वानहरूले भारत र नेपालको सम्बन्धलाई रोटीबेटीको रिश्ताको रूपमा व्याख्या गर्ने गरेका छन् । विश्वका धेरै सिमाना जोडिएका देशहरूका क्षेत्रमा दुई देशका जनता बिचमा यस्तो सम्बन्ध हुनु सामान्य मानिन्छ । तर, यसको अर्थ दुवै देशले एक–अर्काको सार्वभौमिकतालाई बेवास्ता गर्दा हुन्छ र खुला सिमानालाई नियमन गर्नुहुँदैन भन्ने अर्थमा व्याख्या गर्नुले षड्यन्त्र र बदनियत राख्ने पक्षहरूलाई ग्लुकोज प्रदान गर्नुहुनेछ ।
२. पशुपतिमा दैनिक पूजा पाठको लागि दक्षिण भारतका भट्ट पुरोहित आजका दिनसम्म नियमित रहिरहनुमा धार्मिक र सांस्कृतिक कारण नै थियो । तर, आजको सन्दर्भमा यसको मूल कारण आर्थिक र राजनैतिक देखिन्छ । भक्तजनहरूले चढाउने करोडाँैको भेटी स्वयं भट्टहरूको निजी सम्पत्ति हुनु र देश र पशुपतिको कोषमा लाखौँमा पनि दर्ता नहुनु नै यसको कारण हो । यसबारे विस्तृत विवरण ‘पशुपतिमा सात दिन’ पुस्तकमा डा. ……सुवेदीले लेखेका छन् ।
३. नेपाल–भारत सिमानाको अस्तव्यस्त स्थितिका बारे लेखकको स्वीकारोक्ती त राम्रो छ । तर, दसैँ र अन्य चाडबाडमा घर फर्कने नेपालीहरूलाई भारतीय प्रहरीले कति सताउँछ भन्नेबारेमा लेखक मौन छन् वा जानकार छैनन् । भारतका सिमाना प्रहरी एसवीआईले स्थानीय नेपालीलाई बेलामौका ठाउँसारी गर्न धम्काउने, भारतीय नागरिकता प्रदान गर्ने प्रलोभन दिँदै सीमा स्तम्भ सार्न सघाउन लोभ्याउने, स्थानीय नेपालीको घर–घरमा लुटपाट गर्ने र सामान्य झडपमा पनि गोली चलाई धम्क्याउने र हत्या गर्ने तथा बर्दीमै नेपालको क्षेत्रभित्र भारतीय प्रहरीको घुसपैठ हुनेजस्ता कुराहरूलाई लेखकले अनदेखा गरेका छन् । आपराधिक घटना घटाई सीमा वारपार भाग्ने अपराधीका बारेमा तथा आतङ्कवादी घुसपैठका बारेमा नेपाललाई भारतीय सरकारले आरोप लगाउँदै गर्दा पूर्वराजदूत रन्जित रेले खुला सिमानाको वकालत गर्नु नेपाली जनतालाई झन् चिन्तित पार्ने विषय हुन् ।
४. कूटनैतिक मर्यादाविपरीत भारतले वीरगन्जमा नेपालको सहमतिबिनै वाणिज्य दूतावास खोल्ने, बन्द गर्न आग्रह गर्दा अटेर गर्नेजस्ता नेपाललाई आफ्नै केराउबारी सम्झी हेला गर्ने प्रवृत्ति भारतको नयाँ होइन । भारत सरकारको यस्तै हेपाहा प्रवृत्ति नै नेपालमा भारतविरोधी भावना फैलनुको मूल कारणमध्ये एक हो । त्यसैले रोटी–बेटी र विशेष सम्बन्धलाई अझ सुमधुर राख्न सीमा नाकालाई अस्तव्यस्त र खुला राख्नुमा भन्दा नियमन गर्दा नै दुवै देशको हित हुने तथ्यप्रति भारतीय सरकार र नेताहरू गम्भीर हुन ढिलो गर्नुहुँदैन भन्ने नेपाली जनमत हो ।
नेपाल पनि सङ्घीय प्रणाली भइसकेकोले दुई देशको प्रान्तीय सरकारहरूबिच राम्रो समन्वय भएमा सीमा व्यवस्थापन यथाशीघ्र राम्रो गर्न सकिनेछ । नेपालको तराई क्षेत्रमा रहेका केही राम्रा आँखा अस्पतालहरूमा मैले धेरै भारतीय नागरिकहरूको चाप देखेँ । यसरी नै नेपालीहरू दिल्ली अस्पतालमा सेवा लिन्छन् । दुई देशबिचको यस्तो सम्बन्धलाई सौहार्दरूपमा कायम गरी अगाडि बढाउन कडा निगरानी र आशङ्कै आशङ्काले भरिएको सीमा व्यवस्थापनभन्दा खुला, जीवन्त र शान्त सीमा नै दुवै देशको हितकर हुनेमा दुईमत छैन ।
कूटनैतिक मर्यादाविपरीत भारतले वीरगन्जमा नेपालको सहमतिबिनै वाणिज्य दूतावास खोल्ने, बन्द गर्न आग्रह गर्दा अटेर गर्नेजस्ता नेपाललाई आफ्नै केराउबारी सम्झी हेला गर्ने प्रवृत्ति भारतको नयाँ होइन । भारत सरकारको यस्तै हेपाहा प्रवृत्ति नै नेपालमा भारतविरोधी भावना फैलनुको मूल कारणमध्ये एक हो । त्यसैले रोटी–बेटी र विशेष सम्बन्धलाई अझ सुमधुर राख्न सीमा नाकालाई अस्तव्यस्त र खुला राख्नुमा भन्दा नियमन गर्दा नै दुवै देशको हित हुने तथ्यप्रति भारतीय सरकार र नेताहरू गम्भीर हुन ढिलो गर्नुहुँदैन भन्ने नेपाली जनमत हो ।
Leave a Reply