नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
आफू जन्मेको जन्मभूमिभन्दा अरु देश प्यारो हुँदैन । जन्माउने आमा र जन्मेको भूमि स्वर्गभन्दा महान् हुन्छ भन्नुको कारण पनि त्यही हो । हरेक देशको सरकार र दलले आफ्नो देश ठूलो या प्यारो ठानेको हुन्छ । कुनै पनि देशको सरकार र दलले आफ्नो देश र जनताको हितभन्दा अरु देश र जनताको हित खोज्दैन† हित गर्दैन । त्यसको अर्थ एकले अर्काे देशलाई सहयोग गर्नु हुँदैन, सहयोग लिनु हुँदैन भन्ने होइन । तर, त्यो सहयोग विनासर्तको हुनुपर्छ या शुद्ध देश विकासको निम्ति हुनुपर्छ । तर, नेपालका सरकारहरूले आफ्नो देश र जनताको हितभन्दा अरु देश र जनताको हित हेरेर असमान सन्धि सम्झौता गरे, देशघाती सम्झौता गरे । यो विडम्बनाको विषय हो ।
नेपाल धेरै कोणबाट परनिर्भर छ । आधारभूत आवश्यकताका मुख्य मुख्य वस्तुमा नेपाल आत्मनिर्भर छैन । आत्मनिर्भर नहुनुको कारण देशमा भएका स्रोत र साधनलाई परिचालन गर्नेतर्फ सरकारको ध्यानै गएन । विदेशी सहयोग र ऋणमा विकास गर्ने सपना सत्तासीन दलका नेताहरूले देखे । यही कारण देशको बजेट विदेशी सहयोग र ऋणमा बनाइएको हुन्छ । देशमा नचलेका या डुबका उद्योग तथा कलकारखानाहरू सरकारले सञ्चालन गरेन । बन्द भएका उद्योग तथा कलकारखानाहरूको करोडौँ अरबौँ मूल्य बराबरको जग्गामात्र होइन सामग्रीहरू छन् । सरकारले एकातिर बन्द भइरहेका उद्योगहरू खोल्नुपर्छ भने अर्काेतिर देशको आवश्यकताअनुसार अन्य उद्योग तथा कारखानाहरू खोल्नेतर्फ सरकारको ध्यान जानुपर्छ ।
विकासको निम्ति सिद्धान्तको राजनीति गर्नुपर्छ । देशको बजेट सदुपयोग हुनुपर्छ । विकासको कुनै पनि योजना या कार्यक्रममा चुहावट हुनुहुँदैन । देश र जनताप्रति जिम्मेवार कुनै पनि सरकार र सत्तासीन दल विदेशको शरणमा जाँदैनन, विदेशीको अगाडि समर्पण गर्दैनन या जी हजुर गर्दैन । शक्ति राष्ट्रको अगाडि त्वं शरणम् गर्दैमा देशको मुहार कसरी फेर्न सकिन्छ ? विदेशी सहयोग विकासको आधार होइन । विदेशी सहयोगले न त देश आत्मनिर्भर नै हुन्छ । विकासको मुहान देशले फुटाउनुपर्ने हो, अरु देशको सहयोगले देश कहिल्यै आत्मनिर्भर हुँदैन ।
देशका नेताहरू विदेशी चाहनाअनुसार चल्ने होइन । विदेशीको पछि दगुर्ने होइन । हरेक दस र सत्तासीन नेताहरू विदेशभक्त होइन देशभक्त हुनुपर्छ । देशभक्त दल र देशभक्त जनताले मात्रै देश जोगाउँछन्, देश विकास गर्छन् । देश विकासमा पछि पर्नुको कारण सत्तासीन दलका नेताहरू देश र जनताप्रति जिम्मेवार नभई दलगत, व्यक्तिगत स्वार्थमा लाग्नु हो, विदेशी शक्ति राष्ट्रहरूको पृष्ठपोषण गर्नु हो ।
Leave a Reply