भर्खरै :

मान्छे मान्छे भएर जन्मेको युग

मान्छे मान्छे भएर जन्मेको युग

सूर्य उडाउनु
तर नलागेका आशाहरूको
एउटा लामो हिँडाइको प्रारब्ध
सूर्य अस्ताउनु
थाकेका आशाहरूको
एउटा स्वर्गीय विश्राम ।
एक बित्ताका दिनहरू
मर्मान्त पीडाहरूको एउटा महायात्रा,
एउटा अनन्त जुलुस
हरेक दिन
गुनासाहरूको परेडको दिन
गुनासाहरू,
एक पोको कोसेली हाँसोको,
गुनासाहरू,
बन्धकीमा बन्द मुन्द्रीको
गुनासाहरू, नानीलाई ओखती छैन ।
हाँडीमा भात छैन । जिउन जीवन छैन ।
आशाका पखेटा फिँजाई
सडकभरि
गल्लीभरि
एउटा अनन्त जुलुस
जीवनको खोजमा
र शासक निरासाको
प्रत्येक परशु प्रहारमा
आशाहरू रगताम्य हुन्छन् ।
फटफटाउँदै पीडाका पखेटाहरू
रामको प्रतिक्षा गर्छन् आशाका जतायुहरू ।

एउटा खोज अझै अपूर्ण नै रह्यो,
यो अथाह पीडाका दिनहरूमा
यो तँछाडमछाडका दिनहरूमा
मान्छेहरू
सूर्य उडाउनुमा गाउँछ
या अस्ताउनुमा रमाउँछ ?
एउटा प्रश्न अनुतरित नै रह्यो
मान्छे स्वयम् यति किन भग्न छन् स्वयम्मा
र किन प्रतिक्षामा छन् प्रमिथसको ?
जबकि
ऊभित्र आगोको ज्वालामुखी छ ।
ऊभित्रको ज्वालामुखी फुटेर बुद्ध जन्मेको इतिहास छ ।
ऊभित्रको ज्वालामुखी फुटेर
स्पार्टाकस जन्मेको इतिहास छ ।
ऊभित्रको ज्वालामुखी फुटेर
मान्छेमान्छे भएर जन्मेको युग साछी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *