भर्खरै :

समुदायमा आधारित सहकारी संस्थामा तरलता सङ्कट नभएको

समुदायमा आधारित सहकारी संस्थामा तरलता सङ्कट नभएको

भक्तपुर, १७ मङ्सिर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. भक्तपुरको अठारौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
राष्ट्रिय सहकारी महासङ्घ नेपालका अध्यक्ष मिनराज कँडेलले सभा उद्घाटन गर्दै समुदायमा आधारित सहकारी संस्थामा तरलता सङ्कट नभएको तर गैरसमुदायमा आधारित व्यवसायिकरूपमा चलेको संस्थामा तरलता सङ्कट रहेको बताउनुभयो ।
उहाँले सञ्जालमा सदस्य नरहेको भनी सहकारी अभियान पन्छिन नहुने धारणा राख्दै एउटा संस्थामा समस्या आउने बित्तिकै समग्र सहकारीलाई असर पर्ने भएकोले सहकारी सङ्घहरूमा आबद्ध गराउनुपर्ने विचार राख्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका उपाध्यक्ष शान्ति अधिकारीले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ देशभरिकै उत्कृष्ट सङ्घ रहेको कुरा बताउँदै अरू सङ्घहरूको सबलीकरणको लागि सङ्घहरूको संस्थागत शुद्धीकरण आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले बचत तथा ऋण सहकारीमा देखिएका समस्याहरूको समाधानको लागि सहकारीमा साकोस ऐनको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो ।
नेपाल बचत तथा ऋण सहकारी सङ्घका पूर्वअध्यक्ष कैलाशभक्त प्रधानाङ्गले सहकारीमा जस्तो ठूलो सङ्गठन नेपालमा अरू सङ्गठन छैन तर सहकारीमा राजनीतिक विभाजनले गर्दा सहकारी अभियान कमजोर रहेको विचार व्यक्त गर्नुभयो ।
बाग्मती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका लेखा सुपरिवेक्षण समितिका संयोजक केशव डंगोलले सहकारीमा वित्तीय सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला सहकारी सङ्घ भक्तपुरका अध्यक्ष केदार खड्काले सहकारी प्रवद्र्धन कोष सञ्चालनमा ल्याउन ठूला सङ्घहरूले पहल गर्नुपर्ने विचार राख्नुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले सङ्घले विषम परिस्थितिमा पनि सन्तोषजनक आर्थिक कारोबार गर्न सकेकोमा खुसी व्यक्त गर्दै हालको तरलता सङ्कटको स्थायी समाधानको लागि सदस्य संस्थाहरूको सहभागितामा तरलता व्यवस्थापन कोष खडा गर्नुपर्ने विचार राख्नुभयो ।
सङ्घका अध्यक्ष एवं कार्यक्रमका सभापति कृष्णगोविन्द लाखाजुले हालको सहकारीको विकृतिमा राज्यले ध्यान नदिएको अवस्थामा प्रारम्भिक संस्थाहरूले सहकारी अभियानको भूमिका खोजेको बताउनुभयो ।
सङ्घका उपाध्यक्ष हरि बल्ल, सचिव जगनाथ प्रजापति, सङ्घका कोषाध्यक्ष कान्छाभक्त घजु, लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायलगायतले बोल्नुभएको थियो ।
सभाबाट आव २०७८।७९ मा १ अर्ब ६९ करोड ४९ लाख ३६ हजारको वासलात र २ करोड ७० लाख ६९ हजारको नाफासहितको लेखापरीक्षण प्रतिवेदन पारित गरियो । साथै आव २०७९।८० को सङ्घको १ अर्ब ८६ करोड ६१ लाख ५४ हजारको बजेट पारित गरिएको छ । सङ्घका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले आ.व.२०७८।७९को लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *