भर्खरै :

भोलाछेँ पोखरीको पर्खाल निर्माण कार्यको सार्वजनिक परीक्षण कार्यक्रम

भोलाछेँ पोखरीको पर्खाल निर्माण कार्यको सार्वजनिक परीक्षण कार्यक्रम

भक्तपुर, १७ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं. ६ भोलाछेँस्थित वडा कार्यालय भवन अगाडिको भोलाछेँ पोखरीको पर्खाल निर्माण कार्यको सार्वजनिक परीक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भोलाछेँ पोखरी भक्तपुरको हेर्नलायक एक आकर्षक पोखरी भएको बताउँदै नेपाल मजदुर किसान पार्टीले गरेको योगदानकै कारण भक्तपुरका जनताको जीवनस्तर माथि उठेको हो भन्नुभयो ।
देशभरिका स्थानीय तहहरूले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा विकास निर्माणको क्षेत्रमा गरेका गतिविधिहरूलाई अनुकरण गर्न खोजिरहेको उल्लेख गर्दै उहाँले नेमकिपाले देशको सार्वभौमिकता रक्षाको निम्ति खेलेको भूमिकाबारे चर्चा गर्नुभयो ।
भक्तपुर नपाले आफ्नो गतिविधि पारदर्शी ढङ्गले विभिन्न सञ्चारमाध्यम र प्रकाशनमार्फत सार्वजनिक गर्दै आएको बताउँदै प्रमुख प्रजापतिले शिक्षा र स्वास्थ्यको सन्तुलित विकासले भक्तपुरवासी जनताको जीवनस्तरमा उल्लेखनीय प्रगति भएको हो भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले पोखरी जीर्णोद्धार तथा मर्मत कार्यको लागि उपभोक्ता समितिमा बसेर काम गर्ने सम्पूर्णमा धन्यवादज्ञापन गर्दै वडा नं. ६ मा भइरहेको विकास निर्माणका गतिविधिहरूबारे अवगत गराउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैँया सुवालले भक्तपुर नपाले यहाँका मूर्त अमूर्त सम्पदा संरक्षणमा उल्लेखनीय कार्य गर्दै आइरहेको बताउँदै पोखरी पुनःनिर्माणको हिसाबकिताब जनतामाझ सार्वजनिक गर्ने उद्देश्यले कार्यक्रमको आयोजना भएको बताउनुभयो ।
त्यस्तै वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले पोखरी पुनःनिर्माणसँगै भोलाछेँ टोलको सुन्दरता थपेको बताउनुभयो ।
भोलाछेँ पोखरी सार्वजनिक परीक्षण कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष कृष्णभक्त नातरीले स्वागत मन्तव्य र कोषाध्यक्ष सुरज बजिकोले आयव्यय सार्वजनिक गर्नुभयो । सचिव सानुमैया बजिको र गोपीकृष्ण चाँगुभारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *