भर्खरै :

राजनीतिमा इमानदारी र नैतिकता आवश्यक

देशलाई राम्रो गर्ने या नगर्ने भन्ने कुरा सत्तासीन दलका नेताहरूको हातमा हुन्छ या राजनीतिक नेतृत्वमा भरपर्छ । राजनीति नीति निर्माण गर्ने क्षेत्र भएकोले राजनीतिमा इमानदारी र नैतिकता महत्वपूर्ण हुन्छ । तर, सरकारको नेतृत्व गर्ने र सरकारमा सामेल दलहरूमा नैतिकता र इमानदारीको अभाव छ । इमान र निष्ठाको राजनीति गर्नुपर्ने शासक दलहरूमा मतिभ्रष्टमात्र होइन दलगत र व्यक्तिगत स्वार्थको गन्धले ढाकेको छ । सत्तासीन दलका नेताहरूले गलत राजनीति गरिरहेका नेता कार्यकर्ताहरूलाई उत्साहित बनाउने काममात्र गरेनन् इमानदार र निष्ठाको राजनीति गर्ने नेता तथा कार्यकर्ताहरूलाई पैसा बाँडेर बिगार्ने काम गरे । उनीहरूले आपराधिक व्यक्तिहरूलाई पार्टीको टिकट दिएर पोस्ने र इमानदार नेता तथा कार्यकर्तालाई बिगारेर स्वच्छ राजनीतिलाई तोडमोड गर्ने काम गरेका छन् । यो गलत अभ्यास हो । यसले राजनीतिक छविमा आँच पु¥याउँछ ।
सबै दलले स्वच्छ राजनीति नगरेरै देशको राजनीतिमा उतारचढाव भइरहेको हो । सत्तासीन दल सरकार सञ्चालनमा निरन्तरता दिन नसक्नुको कारण पनि राजनीतिक संस्कार छोडेर लोभलालच देखाउने, पैसा बाँड्ने काममा केन्द्रित हुनु हो । समाजलाई आदर्श बनाउने विचार छोडेर पैसामा बिकेको र नैतिकता भ्रष्ट भएको हुँदा ती दलका नेताहरू मतिभ्रष्ट भए । समाजलाई अगाडि बढाउन राजनीतिक नेतृत्व नैतिकता र इमानदारीताको बाटोमा अघि बढ्नुपर्ने हो । तर, इमानदारी र नैतिकताको राजनीति भइरहेको छैन । यसले गर्दा बिस्तारै नेता तथा कार्यकर्तामात्र होइन नयाँ पुस्तामा पनि भ्रष्ट र अनैतिक प्रवृत्ति देखापर्न थालेको छ ।
जहिलेसम्म देशका सबै राजनीतिक दल, प्रशासन र कर्मचारी निकायमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनमा पक्का हुँदैन, दलको सिद्धान्त र विचारलाई व्यवहारमा लागु हुँदैन तहिलेसम्म देशको राजनीतिक छवि राम्रो हुँदैन । यसले राजनीतिको बदनाम हुन्छ । राजनीतिमा क्षयीकरण हुँदै गएको नैतिकता र इमानदारीलाई अगाडि नबढाइएसम्म देशको समस्या समाधान हुँदैन । यहाँ त सरकार बनाउन, सरकार जोगाउन हुन नहुने, गर्न नहुने सबै काम हुन्छ । सरकार जोगाउन सांसद र मन्त्रीलाई सरकारी खर्चमा विदेश भ्रमण गराइन्छ, रातो पासपोर्ट बिक्री हुन्छ, सांसद किनबेच हुन्छ र अन्य भ्रष्टाचार काण्डमा सरकारी नेताहरू मुछिएका हुन्छन् ।
समाजवादी देशमा चरित्र, नैतिकता, अनुशासन र इमानदारिताको ख्याल गरिएको हुन्छ । भ्रष्टाचारी, अपराधी, कमिसनखोरमाथि कडा कारबाही गरिएको हुन्छ । तर, पुँजीवादी देशका शासकहरू ती नै भ्रष्टाचारी, अपराधीहरूको वरिपरि घुमिरहेका हुन्छन् । आफूलाई कम्युनिस्ट भनिने सत्तासीन दलहरू वामपन्थी पनि बनेनन् । कहिले उनीहरू अवसरवादी बने त कहिले दक्षिणपन्थी बने । एमसीसी सम्झौताबारे ती दलहरू सत्तामा हुँदा एउटा कुरा र बाहिर बस्दा अर्काे कुरो भयो । अनि उनीहरू कसरी कम्युनिस्ट हुन्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *