भर्खरै :

सरकारहरूले शैक्षिक माफियाको दबाबमा ख्वप विश्वविद्यालयको विधेयक पारित गरेनन्

सरकारहरूले शैक्षिक माफियाको दबाबमा ख्वप विश्वविद्यालयको विधेयक पारित गरेनन्

भक्तपुर, १९ मङ्सिर । देवी माविको ५४ औँ वार्षिक उत्सव कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले राणाहरूले नेपाली जनताका छोराछोरीलाई १०४ वर्षसम्म शिक्षाबाट वञ्चित गरेको चर्चा गर्दै पञ्चायतको ३० वर्ष र बहुदलको ३३ वर्ष बित्दा पनि जनताका छोराछोरीले राम्रो शिक्षा नपाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताका छोराछोरीलाई नपढाउने हो भने शिक्षा मन्त्रालयको काम छैन । नेपाल मजदुर किसान पार्टीले १२ कक्षासम्म निःशुल्क तथा अनिवार्य र विश्वविद्यालय शिक्षा निःशुल्क गराउन सडक र सदनमा सङ्घर्ष गर्दै आएको छ ।”
नेमकिपाले ०६३ सालदेखि भक्तपुर नगरपालिकाको ख्वप विश्वविद्यालय विधेयक पारित गरी शिक्षण अस्पताल र एमबीबीएस कक्षा सञ्चालनको आवाज उठाउँदै आएको छ । तर सरकारहरूले शैक्षिक माफियाको दबाबमा ख्वप विश्वविद्यालयको विधेयक पारित गरेनन्, उहाँले भन्नुभयो ।
सचिव सुवालले शिक्षक शिक्षिकाहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारी राखेर नयाँ पुँस्तालाई तयार गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रजग कोरियामा सुनखानी भएको पहाड उत्खनन् नगरी संरक्षण गरिएको छ । नेपालमा सरकारहरूले प्राकृतिक सम्पदा संरक्षण गरेनन् बरु विश्व सम्पदा सूचीको चाँगुनारायण मन्दिर वरिपरी बालुवा उत्खनन् र ढिस्को खोस्रेर प्लटिङ गराउन जथाभावी डोजर चलाउन दिएका छन् । चाँगुनारायण नगरपालिकाले चाँगुनारायण मन्दिर संरक्षण गर्न ढिस्कोमा डोजर चलाउने तत्काल रोक्नुपर्दछ र नगरपालिका आफैले आवश्यकताअनुसार उपयुक्त ठाउँमा आवास क्षेत्र विकास गर्नुपर्दछ । स्थानीय जनतालाई जग्गा बेचविखन नगर्न आग्रह गर्दछु ।”
राजनीति गुलाफको ओछ्यान नभएकोले देश र जनताको सेवा गर्न राजनैतिक कार्यकर्ताहरू तरवारको धारमा पनि हिँड्नु जरुरी रहेको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “सुगौली सन्धिअनुसार महाकाली नदी पुरै नेपालको हो । अहिले महाकाली नदीको धार नेपालतर्फ धकेलेर भारतले तटबन्ध बनाउँदै छ । त्यसलाई भत्काउनु जरुरी छ ।”
नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को नेपाल–भारत–बेलायतको गोर्खा भर्ती सम्झौता खारेज गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “नेपाललाई भारतले सन् १९५० को सन्धिमार्फत आफ्नो सुरक्षा छाताभित्र राख्न खोजेको हो । यसको हामीले विरोध गर्नु जरुरी छ । यस्ता विषयमा शिक्षक शिक्षिकाहरूले विद्यार्थीलाई सचेत गराउनु जरुरी छ ।”
सचिव सुवालले भन्नुभयो, “अमेरिकी साम्रज्यवाद र भारतीय एकाधिकार पुँजीको विरोध नगर्ने राजनीतिक पार्टीहरू देशभक्त हुन सक्दैनन् । एमसीसीमार्फत नेपालमा अमेरिकी सेना आए देशमा युक्रेनको अवस्था आउन सक्छ ।”
“शासक दलहरूले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाएको छ । मन्त्री भएकाहरूले नै मन्त्रीहरूलाई भ्रष्टाचारी बताउँदै छन् ¤”, उहाँले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रधानाध्यापक राजाराम छुकांले स्वागत मन्तव्यसहित विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संयुक्त परीक्षा समितिस्तरीय आधारभूत तह हाजिरी जवाफ प्रतियोगिता, चाँगुनारायण नगरपालिकास्तरीय मावि वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थी र शैक्षिक सत्र २०७५ देखि २०७८ सम्म एसईई परिक्षामा सहभागी विद्यार्थीहरूलाई पदक तथा पुरस्कार वितरण गरिएको थियो ।
शिक्षण सिकाई उपलब्धिको आधारमा शैक्षिक सत्र २०७८ मा चाँगुनारायण नपाभित्रको विद्यालयहरूमध्ये उत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत हुन सफल भएको अवसरमा विद्यालयलाई उपलब्धि हासिल गराउन भूमिका खेल्ने ४२ जना शिक्षक÷कर्मचारीहरूलाई कार्यक्रममा सम्मानपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा १० वर्ष र २० वर्षसम्म निरन्तर विद्यालयमा सेवा गर्नुभएका शिक्षक कर्मचारीहरूलाई १० वर्षे र २० वर्षे सेवा पदक तथा २५ वर्षसम्म निरन्तर सेवा गर्नुभएका शिक्षक कर्मचारीहरूलाई स्वर्ण पदकसहित दीर्घ सेवा पदकबाट सम्मानित पनि गरिएको थियो ।
उक्त कार्यक्रममा प्रेम वासुकलाले आफ्नो मन्तव्यसहित विभिन्न शीर्षकअनुसार छात्रवृत्ति कोषमा रकम थप गर्नुभयो भने नारायणभक्त थुयाजूले रू ५०,०६०। को छात्रवृत्ति कोष स्थापना गर्नुभयो ।
विद्यार्थीहरूद्वारा स्वागत गीत, नृत्य, कराते काटा प्रदर्शन गरिएको उक्त कार्यक्रममा चाँगुनारायण नपाका प्रमुख जीवन खत्री, चानपा ९ ताथलीका वडाअध्यक्ष गणेश त्यात, चानपाका कार्यपालिका सदस्य कमला गिरी, शिक्षा शाखा चाँगुका प्रमुख वीरबहादुर खड्का र संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष श्रीकृष्ण किसीले पनि मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा शिक्षक घनश्याम खड्काले पनि बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *